+
+

 गाउँका घाउका कुरा  

सञ्जीव कार्की सञ्जीव कार्की
२०८० कात्तिक १५ गते ११:३५

यो मेरो गाउँको कथा हो, व्यथा हो, यथार्थ हो । यस्तै कहानी नेपालका हर गाउँको होला शायद ?

दशकअघिसम्म गाउँका प्रत्येक घर घरमा आफूलाई पुग्ने लसुन, प्याज, खुर्सानी, सागसब्जीलगायतका भान्साका अत्यावश्यक मसला र तरकारीहरू करेसाबारीमा फल्थे । सिजनल फलफूल पनि बगैँचामा शोभायमान देखिन्थे ।

धान, मकै, कोदो, गहुँ, फापर, तोरी, तिलले बारी झकिझकाउ र हराभरा रहन्थे । खेताला जाने, मेलापात अर्मपर्मको बेग्लै स्वाद र मजा हुन्थ्यो ।

मेला पर्म, पूजा, जात्रा, विशेष गरी सत्यनारायणको पूजा र स्वस्थानी पूजाको रौनक उल्लेखनीय र रोमान्चकारी हुन्थ्यो, जुन आजभोलि छैन । भए पनि अपवादबाहेक रहन्न, हुन्न । प्राय टोलभरी नै हुने पूजा रमाइलो र जाग्राम आजकल गाउँभरि कतै सुनियो भने आश्चर्य मान्नुपर्ने स्थिति छ ।

महाभूकम्प २०७२ पछि गाउँघरको रूप पनि फेरिएको छ । गाउँमा पनि आरसीसी ढलान घरहरू बन्न थालेका छन् भने पुराना रातोमाटो र कमेरो पोतिएका घर भेट्टाउन मुश्किल छ ।

भूकम्प प्रतिरोधी घर बनाउन परेको कारण पुराना ढाँचाका घरहरू मासिएर गाउँ आधुनिक घर निर्माणको चरणमा पुगेको छ । गाउँलाई सहरले अतिक्रमण गर्न थालेको छ ।

पिंढी, दलान, बुइगल र बार्दलीयुक्त घरहरू एकदम थोरै मात्र छन् । गाउँ हुनुको अर्थ बोक्ने घरहरू लोपोन्मुख बन्दैछन् । गाउँको मौलिकता मासिएको छ । सभ्यता र संस्कृति आधुनिकीकरणको चपेटामा परेको छ । स्वत्व गुमाएको स्थितिमा छ गाउँ । अब गाउँ, गाउँ रहेन ।

गाउँमा बलिया बाङ्गा, बाहुबली मान्छे र तन्नेरीहरू छैनन् छन् त कमजोर वृद्ध-वृद्धा र महिला, केटाकेटी अशक्त मान्छेहरू मात्रै । गाउँमा मरौ परौ पर्यो भने शव काँधमा राखेर हिंड्ने मान्छेहरूको अभाव छ । मान्छे मर्दा समेत नजिक गएर सहानुभूति, सान्त्वना, सहयोग र समवेदना दिनेको अभाव छ । बरू मान्छे मरेको समाचार र समवेदना सार्वजनिक भित्तोमा बेस्सरी हेर्न पाइन्छ तर दु:खमा बसेका मान्छेको छेउमा बसेर सहानुभूति दिने मान्छेको रिक्तता छ ।

यान्त्रिक सहानुभूति र समवेदनाको ओइरो लागे पनि असहज अवस्थामा दु:खमा मलमपट्टी लाग्ने सहयोगको समवेदना कमै पाइन्छ । केही सीमित तन्नेरीहरूले मात्रै गाउँको जीवन जेनतेन धानिएको छ । गाउँ जीवित र चलायमान बनाउने थोरै मान्छेमात्र गाउँमा सकस खपेर बसेका छन् । गाउँ चलायमान बन्न कि दशैं तिहार जस्ता चाडपर्व आउनुपर्छ कि राजनीतिक पार्टीका कार्यक्रम, अधिवेशनहरू या चुनाव आउनुपर्छ । अन्य समय गाउँ सुनसान, रौनक हराएको, बेहुली अनमाएको घर र कार्यक्रम सकिएको रङ्गमञ्च जस्तो हुन्छ ।

दशैंमा पिङ् हाल्ने र रमाइलो गर्ने, नाचगान गर्ने चलन पनि उत्तिकै शिथिल देखिन्छ । तिहारको देउसी भैलो पनि थोरै जाँगर भएकाहरूको कर्मकाण्ड जस्तो मात्रै भएको छ । रमाइलो भनेको जाँड रक्सी खानु, झगडा गर्नु र जुवातास खेल्नुमा बदलिएको छ । गाउँबाट सिर्जनात्मकता हराएको छ । यद्दपि पहिले जति र पहिले जस्तो नभए पनि दशैं तिहारको रन्को र आत्मियता भने अरूबेला भन्दा भिन्न र अलि बढी मोहक देखिन्छ/भोगिन्छ गाउँमा ।

दशैं-तिहार जस्ता चाडबाडले माटो सम्झाउँछ । कर्तव्य सम्झाउँछ । सत्यको बाटोमा हिंड भन्छ । हाम्रा चाडपर्व मेला उत्सवले सांस्कृतिक, भौतिक, सामाजिक, आर्थिक, मनोवैज्ञानिक, अध्यात्मिक पक्ष देश जोड्नु पनि हो । त्यसैले नेपालीहरू जो जहाँ रहे पनि पर्व विशेषमा आफ्नो सालनाल गाडेको माटोमा फर्कन र रमाउन चाहन्छन् ।

गाउँमा भौतिक विकास र परिवर्तन भने भित्रिएको छ । बिजुली बत्ती बलेको छ । मोटर बाटो पुगेको छ । गाउँमा मोटरसाइकल चढ्ने मान्छे देखिन्छन् । भाडामा चल्ने ट्रयाक्टर,  ट्रक र अरू गाडीहरू पनि पुगेका छन् । गाउँले जीवन सहज भएको छ । पहिले पहिले यी सब थिएनन् तर पनि मान्छेहरू आफ्नो भविष्य र भाग्य यही हो भनेर गाउँमै बस्थे । आफ्ना पाखुरी बजार्थे दश नंग्रा खियाउँथे । श्रम र पसिनाले गाउँ हराभरा र मनोहर बनाउथे । गाउँमै रङ्गीन सपना देख्थे र गाउँमा रङ्ग भर्थे । गाउँ रमाइलो थियो । मेलापात, दाउरा घाँस जाँदा रनबन घन्काउँथे । गाउँ रमाइलो थियो तर आजकल त्यो गाउँले रौनक कता छुट्यो, कता हरायो, कता बिलायो ?

गाउँमा मोटरबाटो पुग्नु राम्रो हो तर मोटरबाटो जानुपर्ने ठाउँमा नपुगेर कतिपय नजानु पर्ने ठाउँमा पनि पुगेको छ । प्राविधिक ज्ञान र भौगोलिक बनावटको अध्ययन अनुसन्धान, वातारणीय प्रभावको विश्लेषण बिना निर्ममतापूर्वक डोजर चलाएर बाटो खनिएको छ । गाउँमा राजनीति गर्ने मान्छे र तिनको लहडमा वैज्ञानिक पद्दति र मापदण्ड मिच्दै जथाभावी बाटो बनाउदा मृत्युको धराप थापिएको छ भने बाढी पहिरो र भूक्षयको समस्या पनि बढ्दो छ, सुख्खा पहिरो जाने गरेको छ ।

जेहोस् गाउँमा मोटर पुग्यो तर मोटर पुगेपछि त्यसबाट फाइदा लिने र त्यसको वर्ष भरी नै उपभोग गर्ने मान्छेको कमी  छ । सहर पस्दा गाउँबाट आउने पोका पुन्तुरा कम देखिनुले गाउँको उत्पादन अवस्था झल्काउँछ । सहरमा गाउँबाट जति धेरै पोका झोला र कुम्लो आउँछ उति नै गाउँ आत्मनिर्भर भएको सन्देश पाइन्छ तर स्थिति त्यस्तो छैन । सहरको पोका धोक्रा र प्याकिङ आइटम गाउँ पुगेको छ ।

सूचना र संचारमा भने सहर जस्तै गाउँले पनि ठूलो फड्को मारेको छ । मोबाइल नभएको घर छैन । धेरै घरमा परिवारका वयस्क सबैको हातमा मोबाइल छ । कति घरमा त ८ कक्षा पढ्नेहरूको हातमा पनि सेल फोन छ । इमेल, इन्टरनेट, फेसबुक, टिकटक, टुइटर, इन्ष्ट्रागामलगायत अनेकन सामाजिक संजालको कारण गाउँका मान्छे पनि आफ्नो घर आँगनबाट संसार विचरण गर्न सक्ने भएका छन् । सूचना र संचारमा भने अपूर्व क्रान्तिकारी छलाङ्ग नै मारेको छ मेरो गाउँले, शायद तपाईंको गाउँले पनि ?

अहिले गाउँमा स्कुलहरू जताततै छन् । आवश्यक अनावश्यक धेरै ठाउँमा छन् । स्कुल खोल्नु आफैमा नराम्रो होइन तर गुणस्तरीय शिक्षा दिन नसक्ने स्कुल खोलेर विधार्थीको भविष्य बर्बाद गर्नु चाहिँ पाप र अधर्म नै हो । आवश्यकता र औचित्य पुष्टि नहुने ठाउँमा स्कुल खोल्न अनुमति दिने र खोलिएको स्कुलबारे अनुगमन नगर्ने निकाय पक्कै पनि शैक्षिक अवन्नतिका कारक अपराधी हुन् । त्यस्ता अपराधकर्म देशभर भएको गुनासो र उजुरी राज्यका निकायहरूमा परेका होलान् ।

विद्यार्थी संख्या  नभएका स्कुल भवनहरू हेर्दा राज्यको निकम्मापन र अदुरदर्शिता मज्जाले देखिन्छ । सरकारीस्तरबाट संचालित विद्यालयमा विधार्थी छैनन् तर शिक्षक शिक्षिका थुप्रै छन् ।  उनीहरू राजनीतिक पार्टीको जीवन भर्ने प्राण दाता हुन् । उनीहरू आफूले अध्यापन गराउने पाठ्यपुस्तकबारे कम र राजनीतिक पार्टीका कार्यक्रमबारे बढी चासो, सरोकार र जानकार हुन्छन् । सरकारी स्कुलमा पढाउनेका छोराछोरीहरू सरकारी स्कुलमा पढ्दैनन्/पढाइँदैनन् ।

सरकारी स्कुलमा पढेका विद्यार्थी अव्वल र योग्य हुन्छन् भन्ने विश्वास छैन । अन्यत्र निजी स्कुलमा पढेकासँग प्रतिस्पर्धा गर्न सक्तैनन् भन्ने धारणा र वास्तवकिता पनि छ । सरकारी स्कुलको गुणस्तर खस्कनुमा सोही स्कुलमा पढाउने शिक्षकहरूको पनि हात छ जसले आफूले पढाउने स्कुलमा आफ्ना छोराछोरीहरू र आफन्तलाई पढाउँदैनन् अनि सरकार जसले दुई थरी शिक्षा पाउने नागरिक उत्पादन गर्न प्राथमिकता दिन्छ ।

दही, मोहीको सट्टा बहुराष्ट्रिय कम्पनीका अनेक पेय पदार्थ गाउँ पुगेर रजाई गर्न थालेका छन् । सर्वत् खाने, दही मोही खाने र पाहुनालाई  खुवाउने चलनलाई चिसो पेय पदार्थले विस्थापित गरेको छ ।  बिहान आफ्नो गोठका गाईंभैंसीको दूध दुहेर बेच्न बजार आएको व्यक्ति घर फर्किंदा कोक फेन्टा लिएर जाने गरेको छ ।

अयोग्य कुनै शिक्षक शिक्षिका हटाउने बुता सम्बन्धित तालुकदार निकायको हुन्न । नियुक्ति दिनु भनेको सदैब जागिर खुवाउनु हो भन्ने मान्यता छ । दण्ड सजाय गर्ने अवस्था छैन जसको कारण आज देशभर शिक्षा डामाडोल भएको छ ।

पढेलेखेका सीमित मान्छे पढाइ र अन्य कामको शिलशिलामा संसारका कुना कुनामा पुगेका छन् भने साधारण पढेलेखेका मान्छे अवसर खोज्दै सहरी बस्तीमा, त्यहाँ नभए सदरमुकामतिर र काठमाडौँ छिरेका छन् । गाउँको बस्ती रित्तो छ मोटर पुगेर पनि उचित लाभ लिने जनशक्ति गाउँमा छैन । खेतीयोग्य भूमि निष्काम र बाँझा भएर झाडीमा परिणत भएका छन् । व्यवसायिक खेती परको कुरा भयो परम्परागत खेती गर्ने मान्छेको अभावमा गाउँ उजाड छ । मोटरबाटो पुगेका केही ठाउँका खेतीयोग्य जमिन प्लाटिंग गरेर घडेरीमा बिक्री भएको पाइन्छ ।

कृषि अपहेलित र अमर्यादित बनेको छ । हलो धुलोसँग गाउँका मान्छेको वितृष्णा छ । आलु, साग र लसुन उब्जाएर खान भन्दा किनेर खान सस्तो पर्ने र किन्दा गर्व गर्ने संस्कृति बनेको छ । कृषि कर्म गर्ने मजदुर, ज्यालादारी खेताला, अर्मपर्म गर्ने मान्छे नपाउने कारण खेतीपाती महँगो भयो । कृषिबाट प्रतिफल नगन्य मिल्ने तर लागत बढी र जोखिमयुक्त भयो । लगाएका बालीनाली पनि वन्यजन्तु बँदेल, मृग, खरायो र बाँदरले खाएर हैरान बनाएको आम मान्छेको गुनासो छ ।

बाँदरको आतंकले कृषि र जनजीवन आहत छ । कृषि कर्म नै गर्छु भन्नेको लागि अपेक्षित लाभ लिने वातावरण र सरकार सहजकर्ता बन्न सकेको छैन । ठूलो उत्साह लिएर कृषिमा लाग्ने पनि अनपेक्षित हानि र क्षयले पेशाबाट पलायन बनेको देखिन्छ । कृषि मान्छेको सभ्यताको प्रारम्भिक दिनको एक सभ्य र सम्मानित संस्कृति आज हेलाको विषय बनेको छ । संस्कृति भनेको नै कृषि भनेर बुझ्न बुझाउन अत्यावश्यक छ । अर्ग्यानिक बुद्दिजिवीले कृषिलाई सम्मानित पेशा बनाउन र मान्न विशेष वैचारिकी निर्माण गर्दै राज्यलाई दबाब दिन सकिएन भने कृषि अरू धरासायी बन्ने पक्का छ ।

पहिले पहिले गाउँका हरेक घरमा गाई या भैँसी दुहुना हुन्थे, खेतीपाती नगर्ने भएपछि मान्छेले गाई भैँसी गोरु पाल्न पनि छोडे । दूध, दही, मोही, घ्यू घर-घरमा हुन छोडे । बरु दूधको साटो हर्लिक्स र पाउडर दूधले स्थान लियो । दही, मोहीको सट्टा बहुराष्ट्रिय कम्पनीका अनेक पेय पदार्थ गाउँ पुगेर रजाई गर्न थालेका छन् । सर्वत् खाने, दही मोही खाने र पाहुनालाई  खुवाउने चलनलाई चिसो पेय पदार्थले विस्थापित गरेको छ ।  बिहान आफ्नो गोठका गाईंभैंसीको दूध दुहेर बेच्न बजार आएको व्यक्ति घर फर्किंदा कोक फेन्टा लिएर जाने गरेको छ ।

आफ्नो घरको घ्यू भन्दा सहरमा पाइने तेल घ्यूका विज्ञापनमा लोभिँदै घरमा मगाउन थालेका छन् । गाउँको अर्ग्यानिक र मौलिक वस्तु र खाद्यान्न खाजा पनि विस्थापनको चपेटामा प्लास्टिकका प्याकेटका, हानिकारक केमिकल प्रयोग गरिएका अखाद्य तत्व मिश्रित वस्तु प्रिय खान्की बन्दै गएको छ ।

अबको ५ वर्ष भित्र धर्मवस्त्रधारी, धुर्त व्यापारीले हाम्रो बजारमा एकछत्र राज गर्नेछ । बजार अतिक्रमण युद्दस्तरमा सुरू भएको छ । हाम्रा घरेलु, कुटिर, साना, मध्यम तथा मझौला अनि केही ठूला उद्योगधन्दा धराशायी हुनेछन्, हामी परनिर्भरताको दुष्चक्रमा फस्ने छौं । अरू चिज र बस्तुको कुरा नगरौ हाम्रो गाई भैंसीको शुद्ध दूध, दही, मही, घ्यु, पनिर, बटर र छुर्पी समेतले घरेलु बजारमा प्रतिस्पर्धा गर्न सक्ने छैनन् । आत्मनिर्भर र आत्मनिर्णयको अधिकार अरूको हातमा अझ कसरी जान्छ भन्ने उदाहरण हेर्न धेरै पर्खनु पर्दैन । हामी अल्छी छौं, उद्दमी हुन सकेनौँ, कृषि हेय बन्यो तब कृषिजन्य वस्तुमा हाम्रो परनिर्भरता दिन दुगुणा रात चौगुना वृद्धि भैरहेको छ ।

हामी गफमा स्वाभिमानी र स्वावलम्बी तर व्यवहारमा निर्मम तवरले परनिर्भरताको चङ्गुलमा  फसेका छौं । आज हामी हाम्रो मौलिक उत्पादन गुन्द्रुक समेतमा परनिर्भर छौं भने जनै समेत चाइनाले उत्पादन गराएर पठाएको समाचार सुनिन्छ । लवाइखवाइ शैली र जीवन पद्दति समेत अतिक्रमण र पर निर्भरताको जन्जिरमा फँसेको छ । फलाएर खानुमा गर्व गर्न छोडेर किनेर खाँदा गर्व गर्ने हाम्रो प्रवृतिलाई मलजल गर्ने सरकारी नीति बनेको छ । कृषिको शिर उठाउने सरकारी नीति नबनेसम्म हाम्रो परनिर्भरता अरू बढने छ ।

यद्यपि गाउँको गुमेको साख र रौनक फिर्ता ल्याउन अझै सकिन्छ । गाउँ हराभरा र भरिलो रसिलो बनाउने, जागरुक गतिशील र शक्तिशाली बनाउने सपना र उपाय जीवित नै छन् । आत्मनिर्भर अर्थतन्त्र र आत्मनिर्भर स्वाभिमान निर्माण गर्न स्थानीय सरकारदेखि प्रदेश हुँदै केन्द्र सरकारले विदेशिएका ८० लाख कर्मशील हात पाखुरालाई देशमा तान्ने र उता बेचेको श्रम र सिपले यही धनी बन्ने युवा लक्षित नीति र देश फर्काएर यहीँ राख्ने कार्यक्रम तय गर्नुपर्छ ।

हाम्रो अर्थतन्त्रको मेरुदण्ड कृषिलाई सम्मानको पेशा र आत्मनिर्भर अर्थतन्त्रको जग बनाउने उद्देश्य सहित ग्राह्यता दिने बैंकिङ लोन र झन्झट विहीन सरकारी प्रक्रियालाई पहिलो सर्त बनाउनु पर्छ । कृषिलाई व्यावसायिक, आधुनिक यान्त्रीकरण बजारीकरण, विविधीकरण र औधोगीकरण गरी सर्वसुलभ बिउ, बिजन, प्रविधि र व्यावसायिक लोन, सिंचाइ, सफ्ट लोन र कृषकका उत्पादन स्थानीय स्तरमा भाउ तोकेर नै किनिदिने सरकारी संयन्त्र निर्माण गरेर आकर्षण गर्ने हो भने कृषि आफैँमा गतिशील बन्ने पेशा हो ।

कृषि सम्मानको पेशा र मनग्य आय आर्जन गने व्यवसायको रूपमा विकास गरिनुपर्छ । मान्छेको प्राण बचाउने संसारको उत्कृष्ट पेशा कृषि भनेर गर्व गर्ने वातावरण सिर्जना गर्नुपर्छ । कृषिमा आकर्षण गर्ने पहिलो र अन्तिम शर्त हो कृषकका उत्पादन उचित मूल्यमा सरकारले खरिद गर्ने  ।

कृषिका अलावा हाम्रो देशको जल, जमिन, जडीबुटी, जंगल र पर्यटन हिमाली पर्यटन र धार्मिक पर्यटन, प्राकृतिक सम्पदा सबै विदेशी मुद्रा आर्जन गर्ने आधार र सम्भावना प्रचुर भएका क्षेत्र हुन् । यसर्थ यिनको विकास र सम्भावनालाई मध्ये नजर गरी अल्पकालीन मध्यकालीन र दीर्घकालीन लक्ष्य र उद्देश्य निर्धारण गरी देश विकासको नवीन खाका कोर्नुपर्छ । गाउँ उज्यालो हुन्छ गाउँ उज्यालो हुनु भनेको देश उज्यालो हुनु हो । गाउँको विकास र परिवर्तन कुनै अलौकिक कुरा हैन जुन हाम्रै खेतबारी र प्रयासबाट सम्भव छ मात्रै सरकारले होस्टेमा हैंसे थपिदिए पुग्छ । यसर्थ गाउँ बनाउने भिजन भएका मान्छेलाई गाउँलेले प्रोत्साहन गर्नु जरूरी छ ।

लेखकको बारेमा
सञ्जीव कार्की

समसामयिक विषयमा कलम चलाउने कार्की विशेषगरी सीमान्तकृत समुदाय र दलितका सवालमा कलम चलाउँछन् । उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एमफिल-पीएचडी अनुसन्धाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?