+
+

७१ प्रधानाध्यापक र ११ स्रोत शिक्षकका लागि काठमाडौं महानगरले माग्यो दरखास्त

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते ९:५६

१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानाध्यापक र स्रोत शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ । महानगरले विभिन्न तह गरी ७१ जना प्रधानाध्यापक र ११ स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नुपर्ने भएकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको हो ।

महानगरले आधारभूत तह (१–५) का लागि ६ जना, आधारभूत तह (१–८) का लागि २२ जना र माध्यमिक तहका लागि ४३ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको छ । विद्यालय समायोजन वा थपघट भएमा संख्या थपघट हुनसक्ने उल्लेख गरेको छ ।

मंसिर १ गतेसम्म इच्छुक उम्मेद्वारले दरखास्त दिन सक्नेछन् । दरखास्त दिनका लागि सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि भएको हुनुपर्नेछ ।

माध्यामिक तहका लागि दुई हजार, आधारभूत (१–८) तहको लागि एक हजार ५०० र आधारभूत तह (१–५) का लागि एक हजार परीक्षा शुल्क र महानगरपालिकामा राजश्व बुझाएको भौचर संलग्न हुनुपर्ने जनाएको छ ।

महानगरले विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुतीकरणको आधारमा प्रधानाध्यापक छनोट गर्ने जनाएको छ ।

११ स्रोत शिक्षकका लागि पनि दरखास्त आह्वान

काठमाडौं महानगरपालिकाले स्रोत शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । महानगरपालिकाले महानगरपालिकाको शैक्षिक नीति, योजना र कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरी विद्यार्थीको सिकाई उपलब्धि अभिवृद्धि र गुणस्तर सुधारका लागि विद्यालयलाई प्राविधि सहयोग गर्न स्रोत शिक्षकको आवश्यकता भएको भन्दै ११ जना स्रोत शिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।

महानगरपालिकाले अंग्रेजी विषयका लागि २ जना, नेपाली विषयका लागि २ जना, गणित विषयका लागि ३ जना, सामाजिक विषयका लागि २ जना र विज्ञान विषयका लागि २ जना स्रोत शिक्षकको लागि दरखास्त आह्वान गरेको छ ।

स्रोत शिक्षकका लागि १ मंसिरसम्म इच्छुक उम्मेदवारले दरखास्त दिनसक्नेछन् । स्रोत शिक्षकका लागि लिखित, प्रयोगात्मक र अन्तर्वार्ता हुनेछ भने परीक्षा शुल्क २ हजार लाग्नेछ । १८ मंसिरमा परीक्षा सञ्चालन गर्ने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?