+
+

जाजरकोटमा घाइतेहरुको उद्धार र उपचारमा चुनौती छ : सहायक सीडीओ शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १०:३९

१८ कात्तिक, जाजरकोट । भूकम्पमा परी जाजरकोटको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ भने अधिकांश घरहरु भत्किएका छन् ।

गएराति ११ बजे जाजरकोटको बारेकोट १ रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड, बारेकोट लगायतका क्षेत्रमा क्षति पुगेको छ । साथै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि मानवीय र भौतिक क्षति भएका विवरणहरु आइरहेका छन् ।

घाइतेहरुले अस्पताल भरिभराउ छन् । गम्भीर घाइतेहरुलाई नेपालगञ्ज, सुर्खेततर्फ रिफर गरिएको छ । मानिसहरु रातिदेखि नै खुला ठाउँमा बसिरहेका छन् । उनीहरुलाई राहत वितरणको प्रयास भइरहेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले जानकारी दिए ।

भूकम्पबाट प्रभावित जाजरकोटको अवस्था र तत्कालको चुनौतिबारे शर्मासँग अनलाइनखबरकर्मी यज्ञ खत्रीले गरेको कुराकानी-

उद्धारको कार्य कसरी चलिरहेको छ ?

रातिदेखि नै चार वटै सुरक्षा निकायको टिम परिचालित भएको छ । खलंगा सदरमुकाममा रातिदेखि नै परिचालन भएको छ । अन्यत्र सम्भावित घटनास्थलमा नजिक प्रहरी युनिटहरुलाई उद्धारका लागि पैदल गाडी जे उपलब्ध छ, त्यसैबाट जान निर्देशन गरेका छौं ।

सदरमुकामबाट अन्य दुर्गम ठाउँमा सशस्त्र प्रहरी नेपाल प्रहरीको टिम परिचालन भएको छ । सम्पूर्ण सरकारी निकाय, गैरसरकारी निकाय र प्राइभेट सवारी प्रयोग गरेर घाइतेहरुको उद्धार गर्ने र थप उपचार गर्नुपर्नेलाई नेपालगञ्ज, सुर्खेत पठाउने काम भइरहेको छ । अलि दुर्गम ठाउँहरु, जहाँ पहिरोका कारण यातायात अवरुद्ध भएको छ । अलि मास क्याजल्टी भएको ठाउँमा नेपाल आर्मीको हेलिकप्टर परिचालन गरेर उद्धार चलिरहेको छ ।

अहिलेसम्म प्राप्त विवरणअनुसार सबभन्दा बढी क्षति कहाँ भएको देखिन्छ ?

प्ररम्भिक जानकारीअनुसार सदरमुकाम रहेको भेरी नगरपालिका, त्यसैगरी नलगाढ नगरपालिकामा मानवीय क्षति भएको डेटा आएको छ ।

भूकम्प मापन केन्द्रले केन्द्रबिन्दु भनेको बारेकोट गाउँपालिकामा पनि क्षति भएको अनुमान छ । तर हामीले रातभर प्रयास गर्दा स्थानीय व्यक्ति जनप्रतिनिधि, कर्मचारी कसैसँग सम्पर्क हुन सकेको छैन । हामीले प्रहरी युनिट पनि खटाएका छौं । तर सञ्चारको समस्याका कारण सन्देश लिन सकेका छैनौं ।

कुुशे गाउँपालिका वडा नम्बर ७ मा ७ जनाको मृत्यु भएको, घाइतेहरु भएको जानकारी आएको छ । उद्धारका लागि प्रयास भइरहेको छ, तर कपिय ठाउँमा पहिरोले बाटो ब्लक भएका कारण यातायातका साधन, एम्बुलेन्स पठाउन सकिएको छैन । उताबाट आएका साधनहरु पनि बीचमा रोकिएका छन् । पहिरो खुलाउन स्थानीय उपकरण परिचालन गर्ने प्रयास भइरहेको छ । रिम्ना पुलमा भूकम्पले क्षति पुगेको छ ।

प्रारम्भिक विवरणअनुसार क्षति के छ ?

आधिकरिक रुपमा ९२ जनाको मृत्यु भएको पुष्टि भएको छ । अनौपचारिक रुपमा आएका सूचना र स्थानीयले गरेको खबर हेर्दा मृतकको संख्या बढ्न सक्ने देखिन्छ ।

सम्पर्क नभएका दुर्गम ठाउँको भौगोलिक संरचना, घरहरु आदिका कारण थप क्षति छ कि भन्ने अनुमान गरिएको छ । सदरमुकाम खलंगा लगायतका स्थानमा धेरै पुराना मोडेलका घरहरु भएका र ती घरहरु भत्किएका चर्किएका र कतिपय पुरिएका व्यक्तिहरुको खोजतलास भइरहेको अवस्थाले गर्दा मृतकको संख्या बढ्न सक्ने अनुमान हामीले गरेका छौं ।
अहिलेसम्म हामीले रातिमा तुरुन्तै एक्सेस पुग्ने भनेको भेरी नगरपालिकाको एरियाहरु थियो । त्यहाँ सरकारी सवारी साधन, प्राइभेट सवारी साधन र गैरसरकारी सवारी साधनहरु, स्थानीय तहका सवारी साधनहरु, एम्बुलेन्सहरु सबैलाई अधिकतम उपयोग गरेर उद्धार गरेका छौं ।

जनशक्तिहरुको परिचालन कसरी गर्नु भएको छ ?

जिल्ला अस्पताल खलंगामा रहेको जनशक्तिलाई परिचालन गरेर रातिदेखि नै उपचार भइरहेको छ । यहाँ उपचार गर्न नसक्नेलाई प्राथमिक उपचार गरेर प्रादेशिक अस्पताल सुर्खेतमा रेफर गर्ने, नेपालगञ्ज पठाउने, हेलिकोप्टरबाट रेस्क्यु गरेकालाई पनि सुविधायुक्त अस्पताल पठाउने काम भइरहेको छ ।

उद्धारका लागि चाहिने थप जनशक्ति र अन्य चिकित्सकीय टोली पनि अरु छिमेकी जिल्लाबाट आउने गरी समन्वय भइरहेको छ । कतिपय गैरसरकारी संस्थाहरुले पनि औषधि र डाक्टरको टिमसमेत हामी पठाउँछौं भनेर प्रस्ताव राख्नुभाछ जिल्ला विपद व्यवस्थापन समितिले उहाँहरुको सहयोगलाई पनि समन्वय गरेर परिचालन गर्ने प्रयासमा छौं ।

सरकारीसँगै अन्य संघ संस्थाहरुको सहयोग, समन्वय कसरी भइरहेको छ ?

अहिलेसम्म ५५ जना गम्भीर प्रकृतिका घाइते भएको तथ्यांक मलाई आएको थियो । तीमध्ये आठ जनालाई हामीले सुर्खेत पठाएका थियौं । त्यसपछि यहाँ अस्पतालमा ५५ जना रहेको भन्ने छ । घाइतेहरुको संख्या एकिन हुन सकिरहेको छैन । उपचार गर्ने आउने जाने, पठाउने काम जारी छ । उद्धार गरिएकाहरुलाई जे सवारी साधन पाइन्छ, त्यसमा पठाउने काम भइरहेको छ ।

स्थानीय जनप्रतिनिधिहरु, गैरसरकारी संस्थाहरुको पहलमा घाइतेहरुलाई उपचार गर्न पठाउने काम भइरहेको छ । किनभने यहाँको क्षमताले मात्रै भ्याउने अवस्था नभएकाले अन्त पठाइएको छ ।

उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था, पत्रकार, अन्य कार्यालयहरु सबैसँग समन्वय गरेर परिचालित हुनलाई हामीले आह्वान गरेका छौं र हाम्रो समन्वयमा परिचालित पनि हुनु भएको छ ।

यद्यपि मध्यरातिमा हताहती भएको कारणले तत्काल फोन सम्पर्क हुन नसके पनि अहिले सबै सम्पर्कमा हुनुहुन्छ । उहाँहरु व्यक्तिगत रुपमा स्वेच्छिक रुपमा परिचालित हुनुहुन्छ र हाम्रो समन्वयमा पनि परिचालित हुनुहुन्छ । जिल्ला विपद व्यवस्थापन समितिको अन्डरमा रहेर सबै टिम परिचालन भएको अवस्था छ ।

अहिले सबैभन्दा बढी फेस गरिरहेको च्यालेन्ज के हो ?

तत्काल भनेको उद्धार नै हो । घटनास्थलका केन्द्रविन्दुहरु कहाँ-कहाँ छ, त्यहाँबाट रेस्क्यु गर्ने मुख्य च्यालेन्ज हो । कतिपय एकदमै दुर्गम ठाउँहरु भएको र सञ्चार नभएको कारणले गर्दाखेरि रेस्क्यु टिम पनि पैदल जानुपर्ने अवस्था र कहाँ छ -क्षति) भन्ने सम्पर्क पनि नभएको, कुन ठाउँमा छ भन्ने जानकारीसम्म पनि पाउन नसक्ने अवस्था भएकाले भौगोलिक कठिनाइ मुख्य चुनौती छ । बाटो बन्द भएकाले रेस्क्यु गरेर भए पनि कता लैजाने भन्ने समस्या देखिएको छ ।

केन्द्र सरकारसँग तत्काल तपाईंहरुले के माग गर्नुभएको छ ?

केन्द्र सरकारसँग रातिदेखि नै हाम्रो सम्पर्क र समन्वय भइरहेको छ । जिल्लाका माननीय ऊर्जामन्त्री ज्यु हुनुहुन्छ, उहाँसँग पनि समन्वय भइरहेको छ । गृह मन्त्रालयमार्फत् प्रधानमन्त्रीज्यूसँग, केन्द्र सरकारसँग समन्वय छ । प्रदेश सरकारसँग पनि समन्वय छ । र, राहतका लागि केन्द्रबाट पनि टोली, सामग्री सबै परिचालन सुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?