+
+
जाजरकोट भूकम्पबारे प्रचण्ड :

३ दिनभित्र राहत, भौगोलिक अध्ययन गरेर बस्ती निर्माण

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १३:१७

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भुकम्पपछिको उद्धारको काम सकिएको बताएका छन् । अब राहत र पुनर्स्थापनाको काम गर्न समय तालिका बनाएर काम गर्ने सोच रहेको उल्लेख गरेका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको छ भने धेरै घरहरु पनि भत्केका छन् ।

आइतबार जाजरकोट भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३ औं बैठकमा प्रधानमन्त्री प्रचण्डले विपदपछिको उद्दार, राहत र पुनर्निर्माणका लागि समय तालिका बनाएर काम गर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डका अनुसार अबको तीन दिन राहतका निम्ति अधिकतम राम्रो गर्न पहल गरिनेछ । राहतको काम प्रभावकारी बनाएपछि पुनर्स्थापना प्रभावकारी बनाउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि आवश्यक कानुन बनाउने र संरचना सुधार गर्ने बताएका छन् ।

‘भइरहेको ऐन, विधि र संरचनाले पुनर्निर्मिाणको काम प्रभावकारी देखिएको छैन’, बैठकमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘समयतालिका अनुसार विगतको अनुभवको पनि हामीले राम्रो समीक्षा गरौं र आउने दिनमा थप प्रभावकारी बनाउने गरी हामीले काम गरौं ।’

२०७२ सालको भूकम्पको बेला गरेको कामबाट पाठ सिकेर अगाडि बढिने पनि प्रचण्डले बताए । पुनर्निर्माण सुरु गर्नु अगाडि भूगोलको अध्ययन गरेर एकीकृत बस्ती निर्माणको योजना बनाउने पनि उनको भनाइ छ ।

‘कुन भूगोल भूकम्पमा बढी क्षति हुने खालको छ, कुन कम क्षति हुने भूगोल छ, त्यसको अध्ययन गरेर अगाडि बढ्ने, त्यससम्बन्धी विज्ञता र जनचेतना पनि चाहिन्छ ।’ प्रधानमन्त्रीले भनेका छन्, ‘यसपटक सबैतिर भौगोलिक अध्ययन गर्ने र त्यसका आधारमा बस्ती बसाल्नेतिर सोच्नुपर्छ ।’

प्रधानमन्त्रीले राहत र पुनर्स्थापनाको काम एकद्वार प्रणालीबाट गर्ने पनि बताएका छन् । ‘जसलाई जे मन लाग्छ, त्यो गर्न दिँइँदैन । राहतमा हुने दुरुपयोग रोक्छौं । केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत मात्र राहत दिने स्थिति बनाउँछौं’, उनले भने ।

त्यस्तै ७७ वटै जिल्लामा विपदको पूर्वतयारी गर्ने गरी अगाडि बढ्ने पनि प्रचण्डले बताए । ‘विपदका लागि चाहिने आवश्यक सामग्रीहरु ७७ जिल्लामै राख्ने गरी काम गरौं । अहिलेदेखि नै ती सामग्री स्टोर गरेर राखौं’, प्रधानमन्त्री प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?