+
+

भूकम्पले रुकुम पश्चिममा २ हजार १३६ घर पूर्ण क्षति

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १६:२५

२० कात्तिक, रुकुम पश्चिम । शुक्रबार राति गएको भूकम्पले रुकुम पश्चिममा २ हजार १३६ घर पूर्ण क्षति भएका छन् । २ हजार ६४२ आंशिक र ४ हजार ६७० सामान्य क्षति भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार प्रारम्भिक रुपमा संकलित विवरण अनुसार भूकम्पले रुकुम पश्चिममा २ अर्ब ४५ करोड ५ लाख रुपैयाँको क्षति भएको छ । क्षतिको विवरण संकलन भएकाले अझै बढ्न सक्ने उनको भनाइ छ ।

भूकम्पको कारण जिल्लामा ५२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते  भएका छन् । घाइतेमध्ये २७ जनालाई थप उपचारको लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौं पठाइएको छ भने १७४ जना डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न अस्पतालहरुमा अहिले २६ को उपचार भइरहेको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले रुकुमपश्चिम आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र बाफीकोट गाउँपालिकामा भौतिक संरचना मात्र क्षति भएको छ । आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा मानवीय क्षति भएको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले खोज तथा उद्धारपछि भूकम्प प्रभावित र पीडितहरुलाई राहत वितरण सुरु भएको बताए । उनले जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीमार्फत राहत वितरणको काम गरिरहेको जानकारी दिए ।

विपद् व्यवस्थापन राहत सामग्रीहरु स्थानीय तह र वडाहरुमा हस्तान्तरण गरेर वितरण गर्ने प्रबन्ध मिलाइएको प्रजिअ पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?