
२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठकको मिति पुन: सार्ने भएको छ । मंसिर २९ देखि पुस २ सम्म गर्ने गरि तोकिएको महासमिति बैठक पुस १५ पछि गर्न लागिएको छ ।
कात्तिक ५ गते बसेको कार्यसम्पादन समितिको बैठकले भूकम्प र हलका कारणले बैठक सारेको थियो । त्यस अघि केन्द्रीय समिति बैठकले मंसिर १३ देखि १५ सम्मको मिति तोकेको थियो ।
कार्यसम्पादन समितिका एक सदस्यका अनुसार महासमिति प्रतिनिधि छनोट गर्न थप समय लागेको र केन्द्रीय समिति बैठक बस्नुपर्ने भएकाले केही दिन बैठकको मिति सार्न लागिएको हो । ‘केही स्थानमा महासमिति प्रतिनिधि छनोट गर्न समय अभाव रह्यो ।
बैठकमा पेश गर्ने प्रतिवेदन केन्द्रीय समितिले पारित गरेपछि प्रिन्टका लागि केही समय आवश्यक देखियो,’ कार्यसम्पादन समितिका एक सदस्यले भने,‘केन्द्रीय समिति बैठक पछि केही दिन समयको ग्याप राखेर महासमिति बैठक बस्ने तयारी छ ।’
निर्वाचन समितिका अनुसार १४३ निर्वाचन क्षेत्रका महासमिति प्रतिनिधि छनोट भइसकेका छन् । संघीय निर्वाचन क्षेत्रबाट ११ जना महासमिति सदस्य हुने व्यवस्था छ ।
संघीय निर्वाचन क्षेत्रका प्रतिनिधि, केन्द्रीय सदस्य, अघिल्लो कार्यसमितिका केन्द्रीय सदस्य, भ्रातृ र शुभेच्छुक संस्था, सभापतिबाट मनोनित, जनसम्पर्क समिति लगायतबाट २५ हारहारी कांग्रेसका महासमिति प्रतिनिधि हुनेछन् ।
महासमिति बैठक ललितपुर स्थित गोदावरी सनराइज सम्मेलनमा गर्न लागिएको छ ।
प्रतिक्रिया 4