+
+

पाटनका चिकित्सकलाई प्रहरीको अपिल – अनुसन्धान भइरहेको छ, सेवा बन्द नगर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते २०:४०

२१ कात्तिक, काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, चिकित्सक र सरोकारवालालाई अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न अपिल गरेको छ ।

मंगलबार साँझ परिसरका प्रवक्ता एसपी नवराज कार्कीले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य विवरण संकलन गरी थप अनुसन्धानको काम भइरहेको जनाएका छन् ।

शनिबार पाटन अस्पतालमा जेष्ठ नागरिक वार्डमा उपचाररत ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी र ओखलढुंगाकी ९० वर्षीय जनमाया राईको सुई दिएको पाँच मिनेटमा मृत्यु भएको थियो ।

मृतकका आफन्तले उपचारमा लापरवाही भएको भन्दै चिकित्सकमाथि हातपात गरेका थिए । त्यसपछि चिकित्सकले सुरक्षा प्रत्याभूति नभएको भन्दै प्रचलित कानून बमोजिम आक्रमण गर्नेहरुलाई तत्काल कारबाही गर्न माग राखेका छन् । मंगलबारदेखि  चिकित्सकले अस्पतालमा आकस्मिक बाहेक सेवा ठप्प पारेका छन् ।

निमोनियाका बिरामीलाई एन्टिबायोटिक औषधि सुईमार्फत दिएको पाँच मिनेटभित्रै दुबैको मृत्यु भएको भन्ने आफन्तको आरोप छ ।

उनीहरु दुवै जेष्ठ नागरिक वार्डमा भर्ना भएका थिए । नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

अस्पतालका मेडिसिन विभागका प्रमुख डा. युवराज शर्माका अनुसार राईलाई निमोनिया भएको थियो । अक्सिजन दिएर उपचार गरिएको थियो । त्यस्तै, नगरकोटीमा भने निमोनियासँगै कलेजोको समस्या देखिएको थियो । तर, नगरकोटीमा उपचारपछि स्वास्थ्य अवस्था राम्रो हुँदै आएको थियो । डिस्चार्ज गर्ने चिकित्सकको योजना थियो ।

डा. शर्माका अनुसार राई र नगरकोटीलाई सेफ्ट्रियाक्सोन र रगत पातलो गर्ने औषधि (हेपारिन) चलाइएको थियो ।

चिकित्सकले भने बिरामीको मृत्यु हुनुमा इन्जेक्सन नै मुख्य कारण नहुने भन्दै संयोग हुनसक्ने बताएका छन् ।

यसबारे आइतबार जिल्ला प्रहरी परिसर ललितपुरको रोहबरमा मृतकका आफन्त र अस्पताल प्रशासनबीच घटनाको सत्यतथ्य पत्ता लगाउन लगाउनका लागि पोस्टमार्टम र औषधिको परीक्षण गर्ने निर्णय भएको थियो ।

त्यस अनुसार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भइरहेको छ भने औषधि व्यवस्था विभागले औषधिको गुणस्तरको परीक्षण गरिरहेको छ ।

उक्त घटनाबारे सोमबार पाटन अस्पतालले पत्राचार गरेपछि प्रमाण संकलन गरी अनुसन्धान अघि बढाएको एसपी कार्कीले जानकारी दिएका छन् । प्रमाण संकलनको कार्य भइरहेकोमा अस्पतालको सेवा बन्द गरी धर्ना दिई सेवा प्रवाहमा अवरोध उत्पन्न भएकाले अतिआवश्यकीय स्वास्थ्य सेवामा प्रभावित भइ जटिल परिस्थिति देखा पर्ने उनले बताए ।

‘यस परिसरबाट कानुन बमोजिम अनुसन्धान भइरहेको विषयमा अनुसन्धानमा सहयोग गर्दै जिम्मेवारीका साथ अत्यावश्यक सेवा सुचारू गर्न अस्पताल प्रशासन, चिकित्सकहरू र सम्बन्धित सरोकारवाला सबैमा जिल्ला प्रहरी परिसर ललितपुर हार्दिक अपिल गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?