+
+

इजरायल हमास युद्धमा के चाहन्छ चीन ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १४:२२

इजरायल र हमासबीचको द्वन्द्व चर्किंदै जाँदा एउटा अस्वभाविक परिस्थितिको विकास भएको छ, त्यो हो चीनले शान्ति स्थापकको हिस्सा निर्वाह गर्नु । तर, उसले प्राप्त गर्नसक्ने उपलब्धिका पनि विभिन्न सीमाहरु छन् ।

ठुलोस्तरको क्षेत्रीय युद्धको खतरा बढ्दै जाँदा चिनियाँ विदेशमन्त्री वाङ यीले यो सप्ताहन्त वाशिङटनमा अमेरिकी अधिकारीहरुसँग छलफल गरे । अमेरिकाले पनि समस्याको समाधान निकाल्ने प्रयासमा चीनसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

मध्यपूर्वका लागि चिनियाँ विशेष दूत झाई जुन अरब नेताहरुसँग भेट गर्नका लागि मध्यपूर्व उडेसँगै वाङले आफ्ना इजरायली र प्यालेस्टाइनी समकक्षीहरुसँग कुराकानी गरेका छन् । संयुक्त राष्ट्रसघंका बैठकहरुमा इजरायल र हमासबीच युद्धविरामको कुरालाई चीनले सबैभन्दा मुखर रुपमा उठाउने गरेको छ ।

अवस्थालाई थप बिग्रिन नदिनका लागि चीनले इरानसँगको आफ्नो निकट सम्बन्धलाई उपयोग गर्नसक्ने आशा छ । इरानले गाजामा क्रियाशील हमास र लेबनानको हेजबुल्लालाई सहयोग गरिरहेको छ । अमेरिकी अधिकारीहरुले इरानलाई शान्त हुनका लागि आग्रह गर्न वाङलाई दबाब दिएका छन् ।

चीन इरानको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो र यो वर्षको सुरुवातमा चीनले इरान र साउदी अरब बीच दुर्लभ सम्झौताम गराउनमा मध्यस्तता गरेको थियो । उता तेहरानले पनि गाजाको अवस्थाको समाधान खोज्नका लागि बेइजिङसँग संवादलाई बलियो बनाउन आफू तयार रहेको जनाएको छ ।

द्वन्द्वका सबै पक्षहरुसँग चीनको तुलनात्मक रुपमा सन्तुलित सम्बन्ध रहेकोले पनि पछिल्लो द्वन्द्वको समाधानमा चीन एउटा इमान्दार मध्यस्थकर्ताको रुपमा रहन सक्ने अमेरिकी रक्षा मन्त्रालय अन्तरगतको राष्ट्रिय युद्ध कलेजमा चिनियाँ विदेश नीतिका शोधार्थी रहेका सहप्राध्यापक डन मर्फी बताउँछिन् ।

उनी भन्छिन्, ‘प्यालेस्टाइन, अरब, टर्की तथा इरानसँग चीनको सकारात्मक सम्बन्ध छ । त्यसैले इजरायलसँग असल सम्बन्ध रहेको अमेरिकासँग मिलेर उनीहरुले सबै पक्षलाई टेबलमा ल्याउन सक्दछन्।

तर कतिपयको दृष्टिकोणमा भने चीन मध्यपूर्वमा सानो खेलाडि मात्रै हो ।

मध्यपूर्व-चीन सम्बन्धमा विज्ञ तथा एटलान्टिक काउन्सिलका गैरआवासीय वरिष्ठ फेलो जोनाथन फुल्टन भन्छन्, ‘चीन यो मामिलामा गम्भीर पक्ष होइन् । यो क्षेत्रका सबै मानिसहरु सँग कुरा गर्दा उनीहरु कसैलाई प्नि यो समस्याको समाधानमा चीनले योगदान गर्नसक्छ भन्ने आशा कसैलाई पनि छैन ।’

इजरायल हमासबीचको युद्धका विषयमा चीनले जारी गरेको पहिलो वक्तव्यले इजरायललाई आक्रोसित गराएको थियो । हमासप्रति खेद व्यक्ति नगरिएको तथा इजरायलको आत्मसुरक्षाको अधिकारको पनि उल्लेख नगरिएको चिनियाँ वक्तव्यप्रति इजरायलले गहिरो असन्तुष्टि व्यक्त गरेको थियो ।

त्यसको जवाफमा चिनियाँ विदेशमन्त्रीले सबै मुलुकहरुलाई आत्म प्रतिरक्षाको अधिकार रहेको तर इजरायलको कार्य आत्मरक्षाको दायराभन्दा बाहिर गएको बताएका थिए ।

लामो समयदेखि खुल्ला रुपमै प्यालेस्टाइनप्रति सहानुभूति राख्दै आएकाले पनि चीनले सन्तुलित रुपमा आफूलाई प्रदर्शन गर्न कठिन देखिन्छ ।

प्यालेस्टाइनप्रति चिनियाँ सद्भावको इतिहास चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङ सँग जोडिन्छ । माओले विश्वव्यापी राष्ट्रिय मुक्ति आन्दोलन अन्तरगत प्यालेस्टाइनीहरुका लागि हतियार प्रदान गरेका थिए ।

पछिल्ला दशकहरुमा चीनले इजरायलसँगको सम्बन्धलाई सामान्यीकरण गर्‍यो र आर्थिक सम्बन्ध पनि खुल्ला गर्‍यो । अहिले इजरायलसँग वार्षिक अर्बौं डलरको व्यापारिक सम्बन्ध रहेको छ ।

तर, उसले प्यालेस्टाइनलाई आफ्नो समर्थन जारी रहने प्रष्ट पारिसकेको छ । पछिल्लो द्वन्द्वका सम्बन्धमा चिनियाँ अधिकार तथा राष्ट्रपति सि जिनपिङ समेतले स्वतन्त्र प्यालेस्टाइन राज्यको आवश्यकतामा जोड दिएका छन् ।

यसको एउटा साइड इफेक्ट भनेको राष्ट्रवादी ब्लगरद्वारा अनलाइनमा यहुदी विरोधी भावनामा वृद्धि गर्नु रहेको छ । कतिपय चिनियाँ सोसल मिडियाहरुले इजरायलको पछिल्लो कदमलाई नाजीवाद सँग तुलना गर्दै प्यालेस्टाइनीहरुको आमहत्या गरिरहेको आरोप लगाएका छन् । जसको बेइजिङस्थित जर्मन दूतावासले समेत प्रतिरोध गर्नुपरेको छ । बेइजिङस्थित इजरायली राजदूतावासका एकजना कर्मचारीका परिवारका सदस्यमाथि छुरी प्रहार भएपछि झनै असहजता पैदा भएको छ ।

द्वन्द्व समाधानमा इजरायली सरकारसँग छलफल गर्ने प्रयासमा रहेको चीनका लागि यो राम्रो घटना होइन ।

आखिर यस्ता अनिश्चितताका बाबजुत पनि किन चीन सहभागी भैरहेको छ ?

एउटा कारणचाहिं मध्यपूर्वमा उसको आर्थिक स्वार्थ हो । यदि अहिलेको द्वन्द्व फैलिंदै गयो भने त्यो संकटमा पर्न सक्दछ ।

खासगरी पेट्रोलियम पदार्थको हकमा चीन उल्लेख्य रुपमा आयातमा निर्भर छ र उसको आयातको आधाजसो खाडीक्षेत्रबाटै आउँछ । चीनको विदेश तथा आर्थिक नीतिको कोशेढुंगाको रुपमा रहेको बेल्ट एण्ड रोड इनिसिएटिभमा समेत मध्यपूर्वका मुलुकहरु महत्वपूर्ण खेलाडिको बन्दै गएका छन् ।

त्यस्तै अर्को महत्वपूर्ण कारण भनेको यो द्वन्द्वले चीनलाई आफ्नो शाख बढाउने सुनौलो अवसर प्रदान गरेको छ ।

डाक्टर मर्फी भन्छिन्, ‘प्यालेस्टाइनीको पक्षमा उभिनु भनेको अरब मुलुकहरु, मुस्लिम बाहुल्य मुलुकहरु तथा दक्षिण विश्वको अधिकांस हिस्सासँग मतैक्य हुनु हो ।’

अहिलेको युद्ध यस्तो अवस्थामा उत्पन्न भएको छ जतिबेला चीनले विश्वका लागि अमेरिकाभन्दा आफू सुहाउँदो पात्र भएको रुपमा प्रस्तुत गरिरहेको छ ।

चीनले यो वर्षको सुरुवातदेखि चीन नेतृत्वको विश्व व्यवस्थाको अवधारणालाई प्रवर्द्धन गरिरहेको छ र अमेरिकी ढोंगी नेतृत्वको असफलताको आलोचना गरिएको छ ।

इजरायललाई समर्थन गर्ने अमेरिकी कदमप्रति चीनले आधिकारिक रुपमा अमेरिकाको विरोध गरेको छैन । तर चिनियाँ सरकारी सञ्चार माध्यमहरुले भने राष्ट्रवादी प्रतिक्रियाहरु व्यक्त गरिरहेका छन् मध्यपूर्वमा भइरहेका घटनालाई इजरायलप्रति अमेरिकाकाको समर्थनको परिणामको रुपमा व्याख्या गर्ने गरेका छन् ।

रुस युक्रेन युद्धमा रुसलाई उक्साएको भनेर चीनले अमेरिकालाई आरोप लगाउने गरेको जस्तै चिनियाँ सेनाको मुखपत्र पिएलए दैनिकले अमेरिकालाई आगोमा घिउ थपेको आरोप लगाएको छ । चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले एउटा कार्टुन प्रकाशित गरेको छ जसमा अंकल सामको हात रगतले लतपतिएको देखाइएको छ ।

एकाथरी विश्लेषकहरुका अनुसार बेइजिङले आफ्नो प्रतिस्पर्धी अमेरिकाको विश्वव्यापी हैसियतलाई घटाइदिनका अमेरिकाको भन्दा विपरीत धारणा राख्ने गरेको छ । तर हमासलाई प्रष्ट रुपमा भ्रत्र्सना नगर्दा उसको आफ्नै मतप्रति नजरअन्दाज हुने जोखिम छ ।

चीनको दीर्घकालीन महत्वाकांक्षामा उसले व्यहोर्नुपर्ने विभिन्न चुनौतीहरु छन् ।

पहिलो भनेको उसले आफ्नै ट्रयाक रेकर्ड बमोजिम कूटनीतिक पोजिसनको तादात्म्य कसरी मिलाउन सक्छ भन्ने हो । चीन एकातर्फ मुस्लिम बाहुल्य मुलुकहरुप्रति ऐकेबद्धता प्रकट गर्दै प्यालेस्टानइनी भूमिमा इजरायलले गरिरहेको कब्जाको विपक्षमा रहँदै आएको छ भने अर्कोतर्फ उसमाथि उइघुर मुस्लिम अल्पसंख्यकको अधिकार हनन गरेको तथा जातीय हत्या गरेको र तिब्तलाई बलपूर्वक आफुमा विलय गराएको आरोप लाग्ने गरेको छ ।

तर चीनमा उइघुर मुस्लिमको विषय अरब विश्वका लागि सम्भवतः कुनै चासोको विषय नबन्न सक्दछ, किनकि चीनसँग उनीहरुको बलियो सम्बन्ध छ ।

चीनका लागि समस्यामा पार्नसक्ने विषय भनेको आफ्नो स्वार्थलाई अघि बढाउनका लागि इजरायल हमासबीचको द्वन्द्वलाई उपयोग गरेको आरोप उसमाथि लाग्नसक्ने जोखिम हो ।

चिनियाँ विदेश मन्त्री वाङ यी का अनुसार मध्यपूर्वमा चीनले केवल शान्ति चाहन्छ र प्यालेस्टाइनको प्रश्नमा उसको कुनै स्वार्थ छैन ।

तर चीनको सामुन्ने रहेको चुनौती भनेकै यो विषयमा विश्वलाई विश्वास दिलाउनु रहेको छ ।

-बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?