+
+

लालझाडीका युवक मृत्यु रहस्यमै, हत्या भएको परिवारको दाबी

जनक विष्ट जनक विष्ट
२०८० कात्तिक २२ गते १९:१९

२२ कात्तिक, धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार राना २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिए । धनगढीमा काम गर्छु भन्दै गत वर्षको फागुनमा घरबाट निस्किएका राना त्यसपछि कहिलेकाहीँ मात्र घर आएका थिए ।

१८ असोजमा श्रीमती सुशीला रानालाई फोन गरेर अत्तरियामा श्रृंगारका सामान बिक्रीको काम गरिरहेको बताएका उनी दशैं मनाउन घर फर्किने कुरा थियो । तर उनी घर त आएनन् नै १० दिनपछि २८ असोजमा कृष्णपुर नगरपालिकामा पर्ने बालुवाफाँटाको जंगलमा मृत भेटिएको खबर परिवारले पायो ।

‘असोज २० गते आफैंले बुहारीलाई फोन गरेको रहेछ, तर केही पनि बोलेन । त्यसपछि बुहारीले यताबाट गरेको फोन उठाएन’, मृतकका दाजु राधेश्यामले भने ।

राजकुमारको परिवारले सडेको अवस्थामा शव बुझेर अन्त्येष्टि गरिसकेको छ तर उनको मृत्युको कारण खुलेको छैन । घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए ।

‘शव परीक्षण रिपोर्टबाट पनि खासै केही कुरा खुलेको छैन । तर हामी घटनाको अनुसन्धान गरिरहेका छौ‌ं’, बुढाऐरले अनलाइनखबरसँग भने । प्रहरीका अनुसार राजकुमार ठगी तथा लागुऔषधसम्बन्धी मुद्दामा मुछिएका व्यक्ति हुन् । राजकुमारका नाममा काठमाडौं र सिराहमा ठगी तथा कैलाली र कञ्चपुरमा लागुऔषध सम्बन्धी मुद्दा रहेको प्रहरीको भनाइ छ ।

राजकुमारको मृत्युका कारण ६ वर्षअघि उनीसँग प्रेम विवाह गरेकी सुशीला राना र ३ वर्षका छोराको बिचल्ली भएको छ । ‘उहाँ के–कसरी बित्नुभयो अहिलेसम्म प्रहरी प्रशासनले हामीलाई केही पनि बताएको छैन’, सुशीलाले भनिन्, ‘उहाँ बितेर जानुभयो । मेरो काखमा ३ वर्षको बच्चा छ अब यसलाई कसरी हुर्काउने मैले ?’

उनी आफ्नो श्रीमानको हत्या भएको दाबी गर्छिन् । दुई वटा कुराले श्रीमानको हत्या भएको सुशीलाको आशंका छ । पहिलो–शवको प्रकृति र दोस्रो–राजकुमारलाई लिएर परिवारले खेप्नुपरेको धम्की । ‘घोप्टो अवस्थामा उहाँको शव भेटिएको छ । सर्टको एउटै बाहुलाभित्र दुबै हात हालिएको छ । त्यो आफंै कसरी सम्भव हुन्छ ?,’ सुशीलाले भनिन्, ‘उहाँसँग भएको मोबाइल, सिक्री केही पनि भेटिएको छैन ।’

उनले भनेको अर्को कारण चाहिँ घरपरिवारले पाएको धम्की हो । राजकुमारका आमाबुवा, श्रीमती र दाजुहरुले बताएअनुसार उनले आफूले गर्ने कामबारे घरमा बताएका थिएनन् । उनी नभएका बेला बेलौरी नगरपालिका–८ का वडाध्यक्ष विषराम राना एउटा समूह लिएर दुई÷तीन पटक घरमा आएका थिए ।

बेलौरीकै नन्दकली रानाको खाताबाट राजकुमारले तीन लाख रुपैयाँ झिकेको भन्दै त्यो रकम फिर्ता माग्दै उनीहरु घरसम्म पुगेका थिए । वडाध्यक्ष विषरामले राजकुमारको परिवारलाई पैसा फिर्ता नदिए ज्यान मार्नेसम्मको धम्की दिएका थिए ।

‘वडाध्यक्ष विषराम राना १०÷१२ जना ल्याएर धेरै पटक हाम्रो घर घेरेर हामीलाई तीन लाख रुपैयाँ नदिए ज्यान लिन्छौं, उखुबारी र ट्रयाक्टरमा आगो लगाउँछौँ भनेर धम्की दिनुहुन्थ्यो’, राजकुमारका माइलो दाजु प्रेमले भने, ‘मलाई र बुवालाई धम्क्याउन थालेपछि हामीले डेढ लाख रुपैयाँ दियौं । त्यसपछि आउन छाडे ।’

वडाध्यक्ष विषराम रानाले भने सहमतिमै लेनदेनको विवाद मिलाएको बताए । उनका अनुसार नन्दकली रानाको खातामा जम्मा भएको ३ लाख रुपैयाँ झिकिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

नन्दकलीले आफ्नो बयानमा राजकुमारले धनगढी लगेर आफ्नो खाता खोलिदिएको, एटीएम र चेक बुक आफैंले राखेको बताएकी थिइन् । यो थाहा पाएपछि वडाध्यक्ष विषराम राना राजकुमारको घर पुगेका थिए ।

‘धाकधम्की दिएको भन्ने कुरा होइन । बैंकमा खाता खोल्न लगाएर उसले (राजकुमारले) हाम्रो गाउँकी केटीलाई फसाएको रहेछ । खाता खोल्न लगाएर एटीएम, चेक सबै आफैंसँग राखेको रहेछ’, रानाले भने, ‘उसको खातामा तीन लाख जति कहाँबाट हाल्न लगाएको रहेछ, झिकेपछि उसलाई प्रहरीले समातेर लग्यो ।’

अदालतले नन्दकलीलाई तीन लाख रुपैयाँ धरौटी माग गरेपछि समाजका सबै मानिसहरु राजकुमारको घरमा बसेर छलफल गरिएको वडाध्यक्ष विषराम बताउँछन् । सो क्रममा राजकुमारको बाबुलाई कि छोरालाई ल्याउनुस्, कि तपाई जिम्मा लिनुस् वा तीन लाख रुपैयाँ दिनुस् भनेर आग्रह गरिएको रानाको भनाइ छ । छलफलपछि राजकुमारको परिवार डेढ लाख तिर्न तयार भएपछि सहमतिमै नन्दकलीलाई छुटाउन पैसा लिएको वडाध्यक्ष रानाले बताए ।

यो घटनाबारे बुझ्न खोज्दा नन्दकलीसँग भने सम्पर्क हुन सकेन । स्थानीयका अनुसार राजकुमारले गाउँका अरु व्यक्तिको नाममा पनि बैंकमा खाता खोलेका थिए ।

‘प्रहरीको घुमुवाले लखेटिरहेको देखेको थिए’

२० असोजदेखि परिवारसँग सम्पर्क नभएपछि राजकुमारको परिवारले नातागोतासँग उनीबारे सोधीखोजी गरे । कृष्णपुर नगरपालिका–३ को देखतभूली बस्ने राजकुमारकी दिदी रजनी रानाले दाजु नाता पर्ने राजेश रानाबाट राजकुमार प्रहरीको थुनामा रहेको सूचना पाएकी थिइन् । राजेशले कृष्णपुर नगरपालिकाकै चेतराज भण्डारीले भनेको भन्दै रजनीलाई राजकुमार पक्राउ परेको बताएका थिए ।

‘राजेश दाजुलाई चेतराज भण्डारीले राजकुमारलाई सीआईडीले लग्यो भनेका रहेछन्’, दिदी रजनीले भनिन्, ‘त्यसपछि मैले सोध्दा पनि भण्डारीबाटै पुलिसले लगेको भन्ने कुरा गर्नुभएको थियो ।’

राजेशसँग मोवाइल नम्बर मागेर राजकुमारका दाजु मदनसिंहले चेतराजसँग आफ्नो भाइबारे सोधीखोजी गर्छन् । सो क्रममा भण्डारीले राजकुमारलाई नेपाल प्रहरीको घुमुवा (सादा पोशाकका प्रहरी) ले गुलरियाको जंगलमा रहेको नर्सरीमा लखेटिरहेको अवस्थामा देखेको बताएका छन् । अनलाइनखबरलाई प्राप्त अडियोमा भण्डारी भनिएका व्यक्तिले भोलि बिहान कृष्णपुर आउन आग्रह गर्दै भेटेरै कुरा गर्ने भनेको सुनिन्छ । तर मदनसिंहसँगको कुराकानीपछि चेतराजको फोन अफ भएका कारण सम्पर्क नभएको राजकुमारकी श्रीमती सुशीला बताउँछिन् ।

‘भण्डारीले सीआईडी पुलिसले लखेटिरहेको देखेको थिएँ । उनैसँग कुरा गराइदिउँला भोलि आउनुहोला भनेका थियो’, सुशीलाले भनिन्, ‘जेठाजुले भोलिपल्ट फोन गर्दा स्वीच अफ थियो । त्यो दिनदेखि भण्डारीको फोन स्वीच अफ छ ।’

भण्डारीले प्रहरीले लखेटिरहेको देखेको भनेको क्षेत्र आसपासमै २८ गते राजकुमारको शव भेटिएको हो ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?