+
+
गुलियो चिनीको तितो कथा :

२ किलो चिनी किन्न धादिङबाट कालीमाटी आएका ८२ वर्षीय गणेश

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० कात्तिक २२ गते २०:४२

२२ कात्तिक, काठमाडौं । कालीमाटीको साल्ट ट्रेडिङ कर्पोरेसन मुख्यालयको ढोकैमा काखमा एउटा झोला च्यापेर गणेशकुमार श्रेष्ठ कुरिरहेका छन् । ८२ वर्षका श्रेष्ठको घर धादिङ सदरमुकाम धादिङबेशीबाट एक दिनको पैदल दूरीमा पर्ने कटुञ्जे हो ।

‘गाउँमा चिनी नै नपाइने र पाइहाले पनि किलोकै २०० रुपैयाँ पर्ने । काठमाडौंमा बाँडेका छन् भनेर आएको’, श्रेष्ठले भने, ‘गाउँमा आउने पाउनालाई केही नदिएपनि चिया त ख्वाएर पठाउनुपर्‍यो । अझ तिहार आउँदैछ, चिनी त चाहियो ।’

बुधबार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय कालीमाटीमा करिब आधा घण्टा लाइन बसेर श्रेष्ठले २ किलो चिनी किने । साल्ट ट्रेडिङले सहुलियतमा ९७ रुपैयाँ किलोमा चिनी दिएको छ, तर एक जनालाई दुई किलो मात्र ।

धादिङबाट काठमाडौं आउँदा पनि दुई किलो मात्र चिनी पाएपछि श्रेष्ठले आक्रोश पोखे, ‘मल लिन पनि लाइनमा, बीउ लिन पनि लाइनमा, तिहार आयो चिनी लिन पनि लाइनमा । यस्तै लाइनमा हामीले भोट दिएका ठूला बडा पनि बसेका छन् ?’

उनले आफैं उत्तर दिए, ‘छैनन् नि ! तिनलाई सबकुरा पुग्दो छ ।’

भोट हालेर पठाएका नेताले जनताको समस्या नदेख्दा नपाउनु दुःख पाएको उनले सुनाए । ‘हाम्रो भोटले भाले भए, हामीलाई नै दुःख दिए’ नेताले जनताको कुरा सुन्लान् भन्ने लागेको, तर उल्टै दुःख दिएको भन्दै श्रेष्ठले चित्त बुझाए, ‘कसलाई दोष दिनु ?’

श्रेष्ठसँगै भेटिइन् धादिङ खत्री गाउँकी पम्फा अधिकारी । बुढ्यौलीले आधा दाँत झरेकी उनी धादिङ जीवनपुरको खत्री गाउँबाट चिनी लिन कालीमाटी आइपुगेकी हुन् । लाइन लागेर २ किलो चिनी लिएकी उनको आक्रोश पनि उस्तै छ, ‘खै के भनुँ ! जनताको दुःख देखेका छैनन् । आफूलाई हाइसुख्खै छ, भुँडी भ¥यो बस्यो ।’

कीर्तिपुरबाट आएका शैलेन्द्र शुक्लले पनि २ किलो पाए लिए । चिनी हातमा झुण्ड्याएर घर जान लागेका उनले सरकारको अकर्मण्यताका कारण दुःख पाएको बताए ।

‘दैनिक उपभोग्य वस्तुको आयात, खपत र उत्पादनको अवस्थाबारे सरकारले ध्यान नदिँदा जनताले दुःख पाएका छन्’, उनी भन्छन् ‘सरकारका संयन्त्र यसैका लागि सेवा सुविधा लिएर बसेका छन्, तर जनताले किन दुःख पाए ?’

धादिङ जीवनपुरकै बलराम कार्की साल्ट ट्रेडिङको प्रधान कार्यालयमा लाइन बसेको आधा घण्टा भयो । अझै कति समय लाइनमा बस्नुपर्ने हो ? तिहार चलाउनका लागि चिनी लिन आएको भन्दै उनले भने, ‘साह्रै दुःख पाइयो ।’       

कपाल र दाह्री सर्लक्कै फुलेको कार्कीले लामो समय ट्रक चलाउने काम गरे, त्यसक्रममा कयौं पटक उनले वीरगञ्जबाट काठमाडौंमा चिनी ल्याए । २ वर्षअघि पेशा छोडेको बताउने उनी चिनीको अभाव नियोजित रुपमा सिर्जना गरिएको दाबी गर्छन् ।

भन्छन्, ‘चिनी कतै लगेर थुपारिएको छ । कसले किन थुपार्‍यो ?’

तर सर्वसाधारण मात्र होइन, खुद्रा व्यापारीहरु पनि चिनी लिन दुःख पाएको बताउँछन् । पछिल्लो ३ महिनादेखि चिनी अभाव झेलेका खुद्रा व्यापारी साल्ट ट्रेडिङले ५ देखि १५ बोरोसम्म चिनी दिने भनेपछि बुधबार बिहानै पुगेका थिए । तर बिहान ९ बजेदेखि लाइनमा बस्दा पनि चिनी नपाएको कपन ज्योतिनगरका गोपाल सिंहले बताए ।

‘बिहान ९ बजेदेखि लाइनमा छौं, अझै स्वीकृति पाइएको छैन’, उनले आक्रोश पोखे, ‘जनतालाई चिनी नबेच भनेजसरी सरकार प्रस्तुत भएको छ ।’ एक घण्टामा २/३ जनाको मात्र काम भएको भन्दै उनले भने, ‘बिहानैदेखि गाडी होल्ड हुँदा पनि चिनी लैजान पाइएको छैन ।’

थानकोट चेकपोस्टमा किराना पसल चलाउने जगन्नाथ ढकाल पनि चिनी लिन ५ घन्टादेखि त्यही थिए । प्रक्रियागत झञ्झटका कारण दुःख पाएको उनले सुनाए ।

त्यसमाथि सरकारले ११२ रुपैयाँ ५० पैसामा बिक्री गरेको चिनी ११५ मा बेच्न भनेको उनको आरोप छ । ‘चिनी लिनका लागि ५ वटा प्रक्रिया झेल्नुपर्छ । एक पछि अर्को झ्याल चहार्दैमा हैरानी भइयो’, ढकाल भन्छन्, ‘सरकार आफैंले मूल्य बढायो । अहिले साना व्यापारी र उपभोक्तालाई दुःख दियो ।’

साल्ट ट्रेडिङले भने भएको स्रोत साधनको प्रयोग गरेर चिनी वितरण गरिरहेको बताएको छ । चिनी ल्याउन बेलैमा नसकिएपनि अहिले एभरेष्ट सुगर मिलबाट प्राप्त भएको चिनी वितरण गरिरहेको सहायक व्यवस्थापक प्रज्वलमान प्रधानले बताए । उनका अनुसार चिनी मिलबाट ल्याइएको ३ हजार मेट्रिकटन चिनी किराना पसललाई ११२ रुपैयाँ ५० पैसा तथा मिठाइ, होटल, क्याटरिङ लगायतलाई ११५ रुपैयाँ किलोमा चिनी बिक्री गरिएको छ ।

त्यसअघिको चिनी सहुलियतमा ९७ रुपैयाँमा खुद्रामा बिक्री गरिएको साल्ट ट्रेडिङले जनाएको छ ।

काठमाडौं बाहेक नारायणगढ, पोखरा लगायतका ठाउँमा पनि चिनी वितरण गरिएको उनको भनाइ छ । सरकारले सहुलियतमा ल्याउन खोजिएको भन्दै उनले २० हजार मेट्रिकटन चिनी छठ अघिसम्म आउने दाबी समेत गरेका छन् ।

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?