+
+

टीकापुर घटनाका ३ कैदीको रिहाइविरुद्ध सर्वोच्च अदालतमा अर्को रिट, आज सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते ११:२१

२३ कात्तिक, काठमाडौं । टीकापुर घटनामा संलग्नहरुलाई गैरकानूनी रुपमा कैद मिनाहा गरी रिहा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

घटनामा मारिएकाका आफन्तहरुले टिकापुर घटनामा संलग्न भएको आरोपमा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदिप चौधरीको कैद मिनाहा गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय उल्ट्याउनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

गत मंगलबार दर्ता भएको रिट निवेदनमाथि विहीबार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा प्रारम्भिक सुनुवाइ हुँदैछ । रिट निवेदनमा शारदा कठायत र मन्धरा देवी विष्टले कानूनविपरीत भएको कैद छुट बदर हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले केही दिनअघि रिगल ढकालको मुद्दामा भएको आदेशलाई समेत आधार मानेर आफ्नो रिट निवेदन सुनुवाइ हुनुपर्ने माग गरेका छन् ।

गत ३ असोजमा संविधान दिवसका अवसरमा टीकापुर घटनामा दोषी भई कसुरदार ठहरिएका तीन जनाको कैद मिनाहा भएको थियो ।

७ भदौं २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।

जिल्ला अदालत कैलालीले २२ फागुन २०७५ मा रेशम चौधरी सहित १० जनालाई जन्मकैदको फैसला सुनाएको थियो । घटनामा संलग्न भएको आरोप लागेका एक नाबालकलाई आधा अर्थात २० वर्षमात्रै कैद सजाय भएको थियो ।

उच्च अदालत दिपायलले ८ जनालाई जन्मकैदको सजाय गरेको थियो । जिल्ला अदालतबाट तीन वर्षमात्रै कैद सजाय पाएका लक्ष्मण थारुसमेत जन्मकैदको सजायमा परेका थिए ।

सर्वोच्च अदालतले सीताराम चौधरी र गंगाराम चौधरीलाई आरोपबाट सफाइ दिएको हो । लक्ष्मण चौधरीमाथि तीन वर्ष कैद फैसला भएको थियो ।

सर्वोच्च अदालतको फैसलालगत्तै सरकारले माफीमिनाहाको प्रक्रियाबाट १५ जेठमा गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीको कैद मिनाहा गरेको थियो । थप तीन जना आरोपित संविधान दिवसमा छुटेका थिए । रेशमको माफी मिनाहाविरुद्ध परेको रिटनिवेदन सर्वोच्च अदालतमा विचाराधिन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?