
२३ कात्तिक, काठमाडौं । २६ कात्तिकका दिन परेको लक्ष्मीपूजालाई लक्षित गरी बजारभरी झिलिमिली लाइटिङको बिक्री भइरहेको छ । घरहरु सजावट हुन थालेका छन् ।
केही वर्ष अगाडिसम्म यस दिनलाई लक्षित गरी निकै तनावमा रहने नेपाल विद्युत् प्राधिकरण केही वर्षयता भने निकै सहज महसुस गर्छ ।
प्राधिकरणका निर्देशक सुरेशबहादुर भट्टराई अहिले तिहारमा सबैभन्दा कम लोड लक्ष्मी पूजाका दिन हुने बताउँछन् ।
‘उद्योगधन्दा बन्द हुन्छन्, व्यापारिक भवन बन्द हुन्छन्, सोहीकारण लाइटिङको मात्र लोड तुलनात्मक रुपमा धेरै नहुँदा तिहारमा सो दिन आजकल कम मात्र लोड हुन्छ,’ उनले भने ।
केही समय पहिला सकेसम्म कम बिजुली खपत गर्न आह्वान गर्ने प्राधिकरणले अहिले भने विद्युत् खपत बढाउन आह्वान गर्दै आइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणको तथ्यांक अनुसार २०७९ सालको लक्ष्मी पूजाका दिन विद्युतको उच्चतम माग १३०५ मेगावाट पुगेको थियो ।
जुन नेपालको कुल जडित क्षमताको आधा मात्र हो । २०७८ सालको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १२७० मेगावाट रहेको थियो ।
गत वर्ष साँझ ६ बजेर १० मिनेटमा पिक डिमाण्ड रहेको थियो । पछिल्लो समय जलाशययुक्त कुलेखानी केन्द्र सञ्चालन नगरी समेत लोड व्यवस्थापन गर्न सक्षम भइरहेको छ ।
साथमा लक्ष्मी पूजा र तिहारको पिक आवरकै समयमा समेत नेपालबाट भारतमा विद्युत् निर्यात समेत भइरहेको छ ।
विद्युत् विकास विभागको तथ्यांक अनुसार आव २०७९/८० सम्म देशभर १४१ वटा ठूला आयोजनाले व्यावसायिक रुपमा जलविद्युत् उत्पादन गरिरहेका छन् । यी आयोजनाको कलु जडित क्षमता २ हजार ५५१ मेगावाट हो ।
सौर्य, सहउत्पादन, १ मेगावाट भन्दा कम क्षमता, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र डिजेल प्लान्टबाट समेत जोड्दा कुल विद्युत् उत्पादन क्षमता २ हजार ७८४ मेगावाट पुगेको छ ।
आव २०८०/८१ मा झण्डै ९ सय मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4