+
+

नयाँ नेतृत्वमा इतिहास रच्ने महिला क्रिकेट टिमको लक्ष्य

नमिता दाहाल नमिता दाहाल
२०८० कात्तिक २४ गते १७:०९

२४ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिममा कप्तान फेरिएको छ । ११ वर्षदेखि नेपाली टिमको नेतृत्व गर्दै आएकी रुबिना क्षेत्रीको स्थानमा इन्दु बर्माले नयाँ जिम्मेवारी पाएकी छिन् ।

यो जिम्मेवारीबाट हौसला बढेको बर्मा बताउँछिन् । नेपाल क्रिकेट संघ क्यानले हङकङमा हुने चार देशीय शृंखलाका लागि नयाँ कप्तान र उपकप्तान सहित बिहीबार टिम घोषणा गरेको थियो । यो शृंखलामा नेपाल र हङकङसहित तान्जानिया र जापान छन् ।

नयाँ जिम्मेवारी पाएपछि पहिलो पल्ट पत्रकारसामु उपस्थित भएकी बर्माले भनिन्, ‘एकदमै खुसी छु । पहिलो पटक नेतृत्व गर्ने जिम्मेवारी पाएको छु । यसबाट उर्जावान भइ निरन्तर राम्रो गर्ने छु ।’

नेपाली पुरुष टिममा नयाँ कप्तानका रुपमा रोहितकुमार पौडेलले नेतृत्व लिएपछि पाएको सफलता दोहोर्‍याउने इच्छा उनमा देखियो । ‘नयाँ टिम र नयाँ जिम्मेवारीसहित एउटा राम्रो इतिहास बनाउने मौका पाएको छु । त्यो अवश्य पूरा हुनेछ’, उनले भनिन् ।

पुरुष टिमले पाएको सफलताले नेपाली महिला क्रिकेट टिममा पनि जितको भोक जागेको इन्दुले बताइन् । ‘पुरुष टिमले जितेको देखेर हामीमा पनि जितको भोक जागेको छ । आशा छ अझै राम्रो हुँदै जानेछ ।’

टिममा यस पटक ५ जना नयाँ खेलाडी छन् । सोमु विष्ट, कञ्चन श्रेष्ठ र सोनी पाख्रिन नयाँ अनुहार हुन् भने रोमा थापा र संगिता राईले पुनरागमन गरेका छन् ।

नयाँ टिमसँगै सबै फेरिएकाले महिला टिमको नयाँ अध्याय सुरु भएको बर्माले बताइन् । ‘नयाँ सुरुवात, नयाँ कोच, नयाँ व्यवस्थापन महिला क्रिकेटको नयाँ सुरुवात भएको भनेर भन्न मिल्छ’, इन्दुले भनिन् ।

अचानक आएको जिम्मेवारी

पूर्व कप्तान रुबिना क्षेत्री र सीता राना मगर हङकङमा डीएलए पाइपर वुमन्स अल स्टार्स टी–२० सिरिज खेल्न गएका छन् ।

एक हप्ताअघि क्यानले प्रारम्भिक टोलीको नाम सार्वजनिक गर्दा कप्तान तोकिएको थिएन । बिहीबार अन्तिम नामावली सार्वजनिक गर्दा टिममा नयाँ कप्तान र उपकप्तान घोषणा सहित टोलीको नाम सार्वजनिक गरियो ।

यो घोषणा स्वयम कप्तान इन्दुको लागि अचानक आएको अवसर थियो । यसअघि टिममा केही पनि कुरा नभइ पाएको जिम्मेवारीले उनी आफैं पनि अचम्मित भइन् । ‘हिजो अचानक नै थाहा पाएको थिएँ । जिम्मेवारी पाएँ भन्दा खुसीसँगै नर्भस पनि भएँ,’ उनले भनिन्, ‘तर ठिकै छ । जिम्मेवारी पाएपछि निभाउनु पर्छ भन्ने छ ।’

घरेलु प्रतियोगितामा सर्वाधिक सफल महिला टिम एपीएफकी सदस्य उनले एक पटक आफ्नै नेतृत्वमा टिमलाई उपाधि दिलाएकी थिइन् ।

सोही टिममा रहेर सीता राना मगरको कप्तानीमा उनले खेलिरहेकी छिन् । उनले टिममा रहेका दुई सिनियर खेलाडीबाट सिक्दै टिमलाई अघि बढाउने बताइन् । ‘रुबिना दिदी, सीता दिदी भएपछि मलाई गाह्रो हुँदैन । उहाँहरुले मलाई सिकाउँदै अघि बढाउनु हुन्छ भन्ने आशा छ,’ उनी विश्वस्त सुनिइन्, ‘पक्कै पनि सिकाउनु हुन्छ ।’

पूर्व कप्तान रुबिनाबाट अफ द फिल्ड र अन फिल्डमा पनि सिक्दै कप्तानी निर्वाह गर्ने २६ वर्षीय इन्दु बताउँछिन् । ‘टिम एकता, अन द फिल्ड, अफ द फिल्ड दिदीले कसरी सम्हाल्नु हुन्थ्यो सबैकुरा सिक्दै जानेछु मेरो सिक्ने समय हो । म सिक्दै जानेछु ।’

एक्सपोजर र स्थायी प्रशिक्षकको आवश्यकता

नेपाली महिला टिमको मुख्य आवश्यकताबारे इन्दु भन्छिन्, ‘हामीलाई अहिले चाहिएको भनेको एउटा स्थायी र राम्रो प्रशिक्षक अनि घरेलु मैदानमा कम्तीमा पनि २/४ वटा सिरिज चाहिएको छ ।’

नेपाली महिला क्रिकेट टिमको हालको जिम्मेवारी पुलिस टिमका प्रशिक्षक मनोज कटुवाले पाएका छन् । पूर्व खेलाडी समेत रहेका कटुवाल पनि महिला टिममा प्रशिक्षक अस्थायी हुँदा टिमलाई बुझ्न गाह्रो हुने बताउँछन् ।

‘कुनै पनि प्रशिक्षकलाई टिममा रहेर नतिजा ल्याउन कम्तीमा पनि एक वर्ष समय दिनुपर्छ जस्तो लाग्छ’, हङकङमा हुने चार देशीय सिरिजको लागि मात्रै महिला टिमको जिम्मेवारी पाएका उनले भने ।

यसअघिका दुई वटा सिरिजमा राखेप प्रशिक्षक सामसन जंग थापाले महिला टिमको प्रशिक्षण सम्हालेका थिए । त्यसअघि लामो समय सम्म महिला टिमको जिम्मेवारी प्रशिक्षक जगत जमटाको हातमा थियो ।

‘छोटो समयमा प्रतियोगिता भएकाले मलाई यो चुनौती र अवसर दुवैको रुपमा हेरेको छु । कप्तान पनि नयाँ छ, केही खेलाडीहरु पनि नयाँ छन्’, कटुवालले भने ।

विश्वकप क्वालिफार्यसको लागि इन्दुलाई नयाँ कप्तानको खोजीको रुपमा ल्याइएको हो । ‘रुबिनाले खेलमा मात्रै ध्यान दिओस् भन्ने हिसाबले बोर्डले निर्णय गरेको हो’, प्रशिक्षक कटुवालले भने ।

घरेलु क्रिकेटमा निकै सफल खेलाडी तथा पुलिस टिमको प्रशिक्षकको रुपमा समेत रहेका कटुवालले पहिलो पटक महिला क्रिकेट टिमलाई प्रशिक्षण गर्ने मौका पाएका हुन् ।

‘यसअघि महिला क्रिकेटमा त्यति खेलाडी खासै चिन्दिनथें । धेरै नयाँ खेलाडी पनि आएका छन् । तर महिला क्रिकेट खेलाडीसँग धेरै क्षमता छ ।’

महिला क्रिकेटमा यसअघि ब्याटिङ प्रशिक्षकको रुपमा नेपाल आएकी देविका पाल्शिकरले महिला टिमलाई हेर्न र नतिजा सुर्धान केही लामो समय चाहिने बताएकी थिइन् ।

प्रशिक्षक कटुवाल भन्छन्, ‘मैले समय पाएको खण्डमा पुरुष क्रिकेट जस्तै महिला क्रिकेटलाई पनि क्रेजमा ल्याउन सक्छु जस्तो लाग्छ ।’

निवर्तमान कप्तान रुबिनासँग छनोटकर्ताहरुले कुराकानी गरेर नै नेतृत्व परिवर्तन गरेको कटुवालले बताए । ‘रुबिना लामो समयबाट खेल्दै आएकी अनुभवी खेलाडी हुन्,’ उनले भने, ‘उनीसँग सेलेक्टरहरुले यस विषयमा कुरा गरिसकेका थिए । ऊ अहिले पनि टिममा निकै सकरात्मक छ ।’

व्यावसायिक क्रिकेटमा कप्तान परिवर्तनको कुरा ठूलो रुपमा लिन नहुने कटुवालले बताए । ‘व्यावसायिक क्रिकेटमा कप्तान परिवर्तन भनेको सामान्य कुरा हो । यो कुरालाई ठूलो कुराको रुपमा लिनु हुँदैन ।’

युवा टिमसँग प्रतियोगिताको लक्ष्य

नेपालले यसपटक युवा प्रतिभाको साथमा अन्तर्राष्ट्रिय सिरिज खेल्न जाँदैछ । जसमा १६ वर्षीय बलिङ अलराउन्डर सोनी पाख्रिनले पनि मौका पाएकी छिन् । सोनी भन्छिन्, ‘राष्ट्रिय टिममा खेल्ने सबैको सपना हुन्छ । अहिले निकै कृतज्ञ महसुस भइरहेको छ ।’

यसअघि बन्द प्रशिक्षण परेकी तर अन्तिम छनोटमा बाहिरिने सोनीले घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन देखाउँछिन् । विशेषतः तिव्र गतिको बलिङ गर्ने उनले मिडल अर्डरमा ब्याटिङमा पनि राम्रो गरेकी छिन् ।

‘बलिङमा मिडल ओभर राम्रो निकाल्ने र ब्याटिङमा सिंगल डबल गर्दै इनिङ्स बढाउने मेरो टिममा जिम्मेवारी हो आशा छ, राम्रो गर्नेछु’, उनले भनिन् ।

नयाँ खेलाडीमा क्षमता भएको भन्दै प्रशिक्षक कटुवाल मुख्य लक्ष्य प्रतियोगिता जित्ने र नेपाली महिला क्रिकेटको वरीयता सुधार्ने रहेको बताउँछन् । ‘हाम्रो यो प्रतियोगिताको मुख्य लक्ष्य प्रतियोगिता जित्ने र महिला क्रिकेटको वरीयता सुधार गर्ने हो ।’

सन् २०१० तिर पुरुष टिमले भन्दा महिला टिमले पहिला विश्वकप खेल्ने आकलन गरिएको थियो । तर त्यो सबै अनुमान फेल खायो । अहिले महिला टिम वरीयता सुधार्न खेल्नु पर्ने अवस्था आएको छ ।

‘सबैले एक समय पुरुष टिमले भन्दा अगाडिठ महिला टिमले विश्वकप खेल्छ भन्नुहुन्थ्यो,’ कप्तान इन्दुले भनिन्, ‘तलमाथि हुँदा केही मिलेन । सानो सानो कुरा मिलेन । नतिजा निस्किएन । अब चाँही जसरी हुन्छ एकजुट भएर राष्ट्रलाई माथि लाने कोशिस गर्नेछौं ।’

यो प्रतियोगितामा नेपालका लागि तान्जानिया र जापान नेपालका लागि नयाँ प्रतिद्वन्द्वी हुन् । तान्जानिया वरीयतामा नेपालभन्दा २ स्थान माथि छ । नेपाल २१ औं स्थानमा छ भने, तान्जानिया १९ औं स्थानमा छ । त्यस्तै, हङकङ २२ र जापान ५१ औं वरीयतामा छन् ।

नेपालले कात्तिक २९ गते पहिलो खेल तान्जानिया सँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै ३० गते हङकङसँग र मंसिर २ गते जापानसँग खेल्नेछ ।

तस्वीर तथा भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?