+
+

बीआरआईलाई थप गतिका साथ अघि बढाउँछौं : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १९:२६

२४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बीआरआईलाई थप गतिका साथ अघि बढाउने  विश्‍वास व्‍यक्त गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन पुगेका अध्यक्ष नेपालले ‘सेयरिङ द अचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रमलाई खुनमिङमा सम्बोधन गर्दै यस्तो विश्वास व्‍यक्त गरेका हुन् ।

सम्बोधनमा उनले भनेका छन्, ‘ कनेक्टिभिटी (आवागमन), खुला विश्व अर्थतन्त्रलाई सहयोग, व्यवसायिक सहायता योजना, हरित विकास, विज्ञान प्रविधिको नवप्रवर्तन, जनता-जनताबीच आदान प्रदान, एकीकृत सहयोग परियोजना, बेल्ट र रोडका लागि संस्थागत विकासलाई सुदृढ गर्ने विषय सह्रानीय र दूरगामी महत्त्वको छ । थप गतिका साथ अघि बढाउछौं।’

चिनियाँ राष्ट्रपति सी चिनफिङले अशान्तिको सामना गरिरहेको विश्वमा विश्वशान्ति, बहुपक्षीयता र सहयोगलाई जोड दिँदै  उनले बीआरआईमार्फत विश्वलाई उच्च गुणस्तरको सार्वजनिक वस्तु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त हुनु सिंगो विश्वको लागि खुसीको विषय भएको पनि दाबी गरे ।

उनले भनेका छन्, ‘भविष्यको लागि सहयोग सुनिश्चित गर्न मार्गदर्शक सिद्धान्त, प्लेटफर्म र मूल्यांकन प्रणाली प्रस्तुत गरिएबाट बीआरआईले आगामी दिनमा थप गति प्राप्त गर्ने हाम्रो अपेक्षा छ ।

एक लाख ट्रेनिङ अवसर, विज्ञान र प्रविधिको अन्वेषणका लागि आगामी ५ वर्षमा १०० वटा प्रयोगशाला निर्माण, नमुना परियोजना, सानो तर स्मार्ट जीविकोपार्जन कार्यक्रम, बैंकद्वारा अर्बौं रकमको सहयोग परियोजना स्थापनाजस्ता कार्यक्रमबाट आगामी दिनमा सिंगो विश्व लाभान्वित हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । एक हजारवटा साना जीविकोपार्जन सहायता परियोजना कार्यान्वयन गर्ने चीनको प्रतिबद्धताले बीआरआईमार्फत चीनले मानव कल्याणका लागि गर्ने कामको नमुना प्रस्तुत गर्दछ ।’

‘सेयरिङ द अचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रममा अध्यक्ष नेपालसहित एसियाका १ सय १९ वटा पार्टीका प्रतिनिधि खुनमिङ पुगेका छन् । एकीकृत समाजवादीबाहेक नेपालबाट कांग्रेस र राप्रपासहितका दलका प्रतिनिधि पनि सम्मेलनमा सहभागी छन् ।

भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटघाटसमेत भइसकेको छ । बिहीबार खुनमिङमा ‘राजनीति दल र कृषि कोअपरेसन’ भन्ने विषयमा चिनियाँ कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।

उक्त सम्मेलनलाई पनि पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सम्बोधन गरेका थिए ।  तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीएफआर) मा नेपालबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको प्रतिनिधिमण्डल सहभागी भएको थियो । उक्त सम्मेलनको समीक्षा गर्न चिनियाँ कम्युनिस्ट पार्टीले खुनमिङमा कार्यक्रम गरेको हो ।

नेपालको टोली आगामी २८ कात्तिकमा काठमाडौं फर्किनेछ । यसअघि नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चीन भ्रमणमा गएका थिए ।

साथै चीनको युनान प्रान्तले भूकम्प पीडितका लागि ५० हजार अमेरिकी डलरको आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अध्यक्ष नेपालसहितको टोलीसँग भएको छलफलमा उक्त घोषणा भएको हो । साथै, चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले दश लाख आरएमबी बराबरको आर्थिक सहयोग गर्ने घोषणा पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?