+
+

लयमा अष्ट्रेलिया, बंगलादेशमाथि ८ विकेटको जित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २५ गते १९:२८
अष्ट्रेलियाका ब्याटर मिचेल मार्स ।

२५ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नुअघि अष्ट्रेलियाको लक्ष्य पछ्याउँदा हुने डर हराएको छ । मिचेल मार्सको अविजित १७७ रनको मद्दतमा वंगलादेशलाई ८ विकेटले हराएको छ ।

भारतको पुनेमा बंगलादेशले दिएको ३०६ रनको लक्ष्य अष्ट्रेलियाले ४४.४ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

पहिलो विकेट भने सुरुमै गुमाएको थियो । ट्राभिस हेड मात्र १० रनमा आउट भए, जतिबेला टिमको स्कोर १२ रन थियो । तर तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मार्सले उत्कृष्ट पारी खेले ।

उनले दोस्रो विकेटका लागि डेभिड वार्नरसँग १२० रनको साझेदारी गरे । वार्नर ५३ रनमा आउट भए । त्यसपछि मार्स र स्टिभ स्मिथले तेस्रो विकेटका लागि अविजित १७५ रनको साझेदारी गरे ।

१७७ मार्सको एकदिवसीय क्रिकेटकै सबभन्दा ठूलो स्कोर हो भने फर्स्ट डाउनमा पहिलो शतक । १३६ बलको सामना गरेका मार्सले १७ चौका र ९ छक्का हानेका थिए ।

अष्ट्रेलियाले पछिल्लो चार वर्षमा जम्मा एक पटक ३०० भन्दा ठूलो लक्ष्य भेट्टाएको थियो । तर बदलिएको ब्याटिङ लाइनअपमा स्मिथले अविजित ६३ रन बनाए, अनि १७५ रनको साझेदारी गर्दै विश्वकपमा टिमलाई लगातार सातौं जित दिलाए ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले तौहद हृदयको ७४ रनको मद्दतमा ५० ओभरमा ८ विकेट गुमाएर ३०६ रन बनाएको थियो । बंगलादेशका ६ ब्याट्सम्यानले २० रन कटाएका थिए, तर ४५ को स्कोर पार गर्न सकेनन् ।

एडम जाम्पाले मिडल ओभरमा उत्कृष्ट बलिङ गर्दै विश्वकपमा आफ्नो विकेट संख्या २२ पु¥याए । यो विश्वकपकै इतिहासमा कुनै पनि स्पिनरको दोस्रो सर्वाधिक विकेट हो । मार्नस लाबुसनले दुई शानदार रनआउट गर्दै टिममा आफ्नो उपस्थिति सावित गरे ।

लिग चरणको आफ्नो अन्तिम खेलमा जितसँगै अष्ट्रेलियाको १४ अंक भएको छ । तर रन रेटका आधारमा समान अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमै रह्यो । भारत १६ अंकका साथ शीर्ष स्थानमा छ र उसले एक खेल खेल्न बाँकी नै छ ।

हारका बाबजुद बंगलादेशलाई सन्तोष कहाँ छ भने नेदरल्याण्ड्सलाई भारतले हराएको अवस्थामा बाहेक शीर्ष ८ मा रहेर २०२५ को च्याम्पियन्स ट्रफी खेल्न पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?