+
+
रिपोर्ट :

द्वन्द्वका घाउ भुल्न खोज्दैथे, भूकम्पले झन् दुखायो

सशस्त्र द्वन्द्वको चर्काे मार खेपेका रुकुम र जाजरकोटका गाउँ, जहाँका बासिन्दाले आफ्नो आफन्त र नातेदार गुमाएका छन् । अहिले उनीहरुमाथि अर्को विपत्ति आइपरेको छ, कात्तिक १७ गतेको भूकम्प ।

आभास बुढाथोकी आर्यन धिमाल आभास बुढाथोकी, आर्यन धिमाल
२०८० कात्तिक २६ गते १९:०६

२६ कात्तिक, रुकुमपश्चिम । श्रीमान् मारिंदा नन्दी चन्दसँग तीन सन्तान सहित अर्को एउटा काखे बच्चा थियो, वर्ष दिन पुग्दै गरेको ।

रुकुमपश्चिम सानीभेरी गाउँपालिका–४ गोलचौरकी ५० वर्षीया नन्दीलाई राम्रोसँग याद छ, २०५९ वैशाख २० गतेको दिन ।

बिहान सबेरै श्रीमान् मनबहादुर चन्द पसल गर्न जाजरकोटको रिम्ना बजार गएका थिए । त्यो दिन उनी पसलसम्म पुग्न पाएनन् । जाँदाजाँदै बाटोमै उनका श्रीमान्लाई प्रहरीले माओवादीको आरोपमा अनाहक होली हानी हत्या गरे । घटनाको १० घण्टापछि मनबहादुरको शव गाडेको अवस्थामा फेला पर्‍यो ।

श्रीमान् मारिएपछि नन्दीका दुःख सुरु भए । उनले भनिन्, ‘युद्धकालमा सहारा खोसिएपछि साना बच्चा च्यापेर बसें । मेरा दिन र रातहरू रोएरै बिते ।’

यी २१ वर्षहरूमा नन्दीले एक्लै घरव्यवहार सम्हालेर बसिन् । अनेक अभाव झेलेर सन्तान हुर्काइन् । त्यो घटनाको २१ वर्षपछि उनको जीवनमाथि फेरि अर्काे ब्रजपात पर्‍यो ।

१७ कात्तिक, शुक्रबार राति गएको विनाशकारी भूकम्पले उनको घर भत्कियो । र, त्यही घरभित्र पुरिएर उनका ८ वर्षका नातिले प्राण गुमाए ।

‘श्रीमान् मारिएपछि मैले मन सम्हालेकी थिएँ’ उनले भनिन्, ‘नाति पनि मरेपछि मेरो त संसार नै रित्तियो ।’

शनिबार मात्रै उनले भूकम्पले लगेको नातिलाई भेरी नदीमा सेलाइन् । युद्धकालको खाटामा भूकम्पले अरू घाउ लगाइदियो । ‘दुःख जति मैले नै पाउनु लेखेको रहेछ’ आँखाभरिको आँसु हत्केलाले पुछ्दै नन्दीले भनिन्, ‘अब केही गरी मनमा शान्ति फर्किंदैन ।’

भूकम्पले घरगोठ जति सबै भत्काइदिएपछि उनीसँग बाँकी केही छैन । ‘द्वन्द्वमा श्रीमान् मारिए, भूकम्पले नाति लग्यो’ उनले भनिन्, ‘बस्नलाई घर थियो, त्यो पनि भत्कियो । अब मसँग गुमाउन बाँकी नै के रह्यो र ?’

****

जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाकी ८० वर्षकी पद्‍मा खड्काले द्वन्द्वकै क्रममा दुई सन्तान गुमाइन् । २०५३ सालमा उनका कान्छा छोरा लक्ष्मण खड्कालाई प्रहरीले माओवादीको आरोपमा लखेट्दै मार्‍यो ।

कान्छो छोरालाई मारेको दुई वर्ष नपुग्दै उनका जेठा छोरा कुन्तबहादुर खड्का र बुहारी मनमाया खड्का पनि राज्यपक्षका सुरक्षाकर्मीबाट मारिए । उनले त द्वन्द्वमा मारिएका आफ्ना दुई छोरा र बुहारीको शव समेत देख्न पाइनन् । ‘संकटकालमा लास पनि हेर्न पाइँदैनथ्यो’ उनले भनिन्, ‘मैले मेरा छोरा–बुहारीको लास पनि देख्न पाइनँ ।’

सन्तान वियोगमा उनका आँसुका बलिन्द्रधारा बगिरहे । भन्छिन्, ‘मैले जति त कसले रुनु पर्‍यो होला र ?’

यत्रो दुःख व्यहोरेपछि उनलाई लागेको थियो, अब त रुने दिनहरू सकिए । तर द्वन्द्वकालको संकट टरे पनि, जीवनमा आइलाग्ने विपत्तिहरू टरेन । १७ कात्तिकमा आएको विनाशकारी भूकम्पले उनी बसेको घर क्षणभरमै तहसनहस भयो । सिंगो घर ढल्दा उनका छोरी र नाति नातिनाहरू जोगिए ।

द्वन्द्वका बेला जब सन्तान खोसिए, तब उनीसँग घर थियो । जति नै विपत् परे पनि ओत लाग्ने छानो थियो । ‘दुई छोरा, बुहारी मारिंदा पनि मसँग रुनलाई घर थियो’ उनले भनिन्, ‘अब त त्यो पनि छैन, कहाँ गएर रुने ?’

भूकम्पको डर सकिएको छैन । अहिले उनी चिसो रातमा जीवन कटाइरहेकी छन् ।

****

१० वर्ष चलेको सशस्त्र द्वन्द्वमा रोल्पा, रुकुम र जाजरकोटले सबैभन्दा बढी मार खेपे । राज्य पक्ष र विद्रोही दुवैको चपटेमा परे । द्वन्द्वमा त्यहाँका मानिसले त्रासदीपूर्ण दिनहरू बिताए । आफ्ना परिवार र आफन्त गुमाए ।

द्वन्द्वको त्रासदीपूर्ण जीवन बिताएका रुकुम, जाजरकोटका मानिसहरूमाथि पुनः प्राकृतिक विपत्ति आइलागेको छ । १७ कात्तिक राति गएको भूकम्पले यही क्षेत्रका द्वन्द्वपीडितलाई करिब–करिब पहिलेकै अवस्थामा पु¥याइदिएको छ । उनीहरू भन्छन्, ‘हामीले यत्रो दुःख भोगेपछि, अब त शान्ति होला भन्ने सोच्यौं । तर भूकम्पले उल्टै हाम्रो सबैथोक लगिदियो ।’

द्वन्द्वकै झल्को

रुकुम पश्चिमका सानीभेरी–४ गोलचौरका शेमल चन्दको घर भूकम्पले बाँकी राखेन । घरले पुरिएको अवस्थामा ३ घण्टापछि उद्धार भएर बाँचे उनी । उनको घर छेउका प्रायःजसो सबै घर भत्किए । रुकुमपश्चिमकै सबैभन्दा क्षतिग्रस्त उनको गाउँमा मात्रै २५ हाराहारीमा घरहरू भत्किएका छन् । बाँकी बचेका घरहरू पनि भत्कने अवस्थामा छन् ।

‘गाउँमा नभत्केका, न चर्केको कुनै घर छैन’ उनले भने, ‘सबैका घर गए । खाने, लगाउने कुरा घरभित्रै पुरिएर बिचल्ली छ ।’ घरहरू भत्केपछि सिंगो गाउँ नै पालमुनि रात कटाइरहेका छन् । भूकम्पछिका कष्टसाध्य दिनलाई उनी द्वन्द्वकालीन समयको रूपमा सम्झिरहेका छन् ।

द्वन्द्वका क्रममा त्यो बेला रुकुम अशान्त थियो । विद्रोही पक्षको आधार इलाका भएकाले राज्य पक्षको नजर त्यहाँका जनतामाथि पर्‍यो । ‘संकटकालका बेला त्रासपूर्ण स्थिति थियो, माओवादी खान र बास माग्दै आइपुग्थे । उनीहरूलाई खान र बास दिए सेना, प्रहरी घरमै आइहाल्थे’ उनले भने, ‘दुवैको चपेटामा हामी गाउँले पर्‍यौं ।’

त्यसमा पनि राज्य पक्षका सुरक्षाकर्मीले अनेक दुःख दिन्थे । ‘अनाहक घरबाट मान्छे लगेर बेपत्ता पार्ने र मार्ने गर्थे’ उनले ती दिनहरू सम्झँदै भने, ‘नभए घरमै आएर कुट्ने, पिट्ने गरिरहन्थे । यहाँ यातना नपाएको कुनै मान्छे छैन ।’

उनले पनि द्वन्द्वका क्रममा प्रहरीबाट थुप्रै यातना भोगे । ‘प्रहरीका मान्छेले थानामा लगेर धेरै पटक यातना दिए’ उनले भने, ‘त्यो बेला पाएको यातनाले अहिले पनि शरीरैभरि घाउचोट छ ।’

द्वन्द्वकालमा अनेक दुःख–कष्ट झेलेपछि मुलुकमा शान्ति स्थापनापछि यहाँ मानिसहरूले शान्तिको अनुभूति गरे । ‘युद्धविराम भएपछि शान्त मनले बाँच्न पाइएला भन्ठानेका थियौं’ उनले भने, ‘भूकम्पले फेरि हामीलाई त्यही हालतमा पुर्‍याइदियो ।’

गोलचौरकी ६८ वर्षीया ओमकुमारी चन्दले पनि द्वन्द्वको क्रममा त्रासदीपूर्ण दिनहरू बिताइन् । ‘पुलिसहरू आएर बन्दुकको नाल ठड्याउँथे, तेरो पोइ, छोरा निकाल् भन्थे’ उनले भनिन्, ‘घरमा हामी डराउँदै, रुँदै बस्थ्यौं ।’

माओवादीको आधार क्षेत्र भएकाले प्रहरी र सेनाले माओवादीको आरोपमा सताउँथे । राज्य पक्षका सुरक्षाकर्मीको जगजगी यति भयो कि गाउँलेहरू घरमा बस्न सक्ने स्थिति भएन । ‘प्रहरी, सेनाले जति बेला आएर पनि मार्न सक्छन् भन्ने डर हुन्थ्यो’ उनले भनिन्, ‘रात–दिन सताउन थालेपछि हामी महिनौं जंगलमै लुकेर बस्यौं ।’

त्यस्ता संकटकालीन दिनबाट पनि उनले आफ्नो घरपरिवार जोगाइन् । तर कात्तिक १७ गतेको भूकम्पले बाँकी बचेको त्यही घर पनि भत्कियो । ‘अनेक दुःखकष्टमा जोगाएको घर एकै झट्कामा ढल्यो’ उनले भनिन्, ‘घरले च्यापेको दुई घण्टापछि गाउँले आएर मलाई बचाए ।’ घर नै तहसनहस भएपछि अहिले उनीसँग ओढ्ने, ओछ्याउने बाहेक केही छैन । ‘शान्ति आयो भन्थे फेरि यस्तो भयो’ उनले भनिन्, ‘अहिले त सबै खत्तम भयो, केही बचेन ।’

द्वन्द्वको बेला रुकुम र जाजरकोट माओवादीको आधार क्षेत्र मानिन्थ्यो । हाल भूकम्पले सबैभन्दा क्षति पु¥याएको रुकुमपश्चिमको सानीभेरी गाउँपालिका र जाजरकोटको वडा नं. १ द्वन्द्वको बेलाभन्दा धेरै प्रभावित भए । राज्य र विद्रोही पक्षको चपेटामा परेको क्षेत्रमा ठूलो र चर्चित घटनाहरु भए । सर्वसाधारणको सामूहिक हत्यादेखि विद्रोहीको एम्बुसमा परेर सुरक्षाकर्मीले ज्यान गुमाए ।

द्वन्द्वको बेला अति प्रभावित जाजरकोटको भेरी नगरपालिका १ को क्षेत्रमा मात्र ६७ जनाले ज्यान गुमाए ।

२०५७ साल कात्तिकमा विद्रोही पक्षले थापेको एम्बुसमा परेर ९ जना सुरक्षाकर्मीले ज्यान गुमाएका थिए । त्यस्तै २०५५ मा पनि प्रहरीले तीन जनालाई सामूहिक हत्या गरेको थियो । २०५५ कै चैतमा जाजरकोटको बडालेख र उबज्यालेकमा सुरक्षाकर्मीले ६४ वटा घरमा आगो लगाइदिए ।

त्यहीबेला रुकुमपश्चिमको सानीभेरी गाउँपालिका क्षेत्रबाट मात्रै यस्तै नियति भोगे ।

२०५५ कात्तिक २ गते हुस खोलामा प्रहरीले पाँच जना सर्वसाधारणको सामूहिक हत्या गरे । २०५६ को २७ फागुनमा बराइलीको खारामा दुई जना माओवादी र एक जना सर्वसाधारण सहित ३ जनाको सामूहिक हत्या भयो । यसरी द्वन्द्वकालका बेला विभिन्न भिडन्तमा परेर सानीभेरी गाउँपालिकामा मात्रै ४८ जनाले ज्यान गुमाए ।

जाजरकोटलाई केन्द्रविन्दु बनाएर कात्तिक १७ गते राति गएको ६.४ रेक्टरको भूकम्पले रुकुमपश्चिम र जाजरकोटका धेरैजसो घरहरू भत्किएका छन् । यी दुई जिल्लामा गरी भूकम्पमा १५४ जनाको मृत्यु भएको छ । सयौं घरहरू भत्किएका छन् । हजारौं घर चर्केर बस्न नमिल्ने अवस्थाका छन् ।

द्वन्द्वकालमा चर्काे मार खेपेका रुकुमका जनतामाथि भूकम्पले अर्काे बज्रपात थपेको सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुुर विष्ट बताउँछन् । उनले द्वन्द्वकालमा आफन्त गुमाएका पीडितहरूले भूकम्पमा फेरि घर र आफन्त गुमाउनु परेको बताए ।

‘शान्ति स्थापनापछि यहाँका जनताले द्वन्द्वका घाउहरू बिर्सन लागेको अवस्था थियो’ उनले भने, ‘तर भूकम्पले फेरि त्यही कुरा सम्झाइदियो ।’ उनी भूकम्पले द्वन्द्वकाल भन्दा झन् बिजोग बनाइदिएको बताउँछन् । ‘त्यो बेला कम्तीमा बस्नलाई घर त थियो’ उनले भने, ‘अहिले त न खानलाई गाँस न बस्नलाई बास नै छ !’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?