+
+
किड्स फेसन :

अभिभावकको रुचिभन्दा बच्चाले नै रोजेका लुगा लगाइदिऊँ

रेशा वली रेशा वली
२०८० कात्तिक २७ गते १२:४५

चाडबाडको बेलामा सबै जना विशेष र सुन्दर देखिन चाहन्छन् । यस्तो बेला अभिभावक आफ्ना सन्तानलाई कस्तो पहिरन लगाइदिने, कसरी अरू भन्दा राम्रो र फरक बनाउने भन्ने कुरा सोच्छन् ।

आमाबुबाले आफ्नो इच्छाअनुसारको लुगा बच्चालाई लगाइदिन्छन् । बच्चालाई त्यो लगाउन मन छ कि छैन भन्ने कुरामा खासै ध्यान दिंदैनन् । उनीहरूलाई फेसननेबल बनाउनको लागि कहिलेकाहीं त उनीहरूलाई सम्हाल्नै गाह्रो हुने खाने कपडा पनि लगाइदिन्छन् । अभिभावकले बच्चालाई जे लगाइदिन्छन्, त्यो बालबालिकालाई मन पर्छ कि पर्दैन भनेर सोध्ने गरिंदैन ।

कतिपय अभिभावकले त यो पनि सोच्छन् कि बढ्ने उमेरका केटाकेटीलाई अलिकति ठूलै कपडा किनिदिए राम्रो हुन्छ । त्यसैले बच्चालाई ठूलो लुगा किनिदिन्छन् । तर यो सोचाइ गलत हो । शरीरमा ठूलो हुने कपडाले बच्चालाई हरपल असहज पैदा गरिदिन्छ । यताउति लत्रिने र फुस्किरहने ठूला कपडा सम्हाल्नु केटाकेटीका लागि तनावको विषय भइदिन्छ ।

अभिभावकले फेसनको नाममा बालबालिकालाई जे लगाइदिइरहेका छन् त्यो साँच्चै फेसन हो त ?

फेसन त्यही हो, जुन लगाउँदा सहज महसुस हुन्छ । हिंड्न, बस्न, काम गर्न सहज हुने पहिरन नै फेसन हो । यस्तो पहिरनले आत्मविश्वास बढाउँछ । अर्थात् पहिरनका कारण कुनै किसिमको झन्झट व्यहोर्नु पर्दैन ।

रेशा वली

आफ्नो शरीर र कामअनुसार सहज हुने किसिमको पहिरन लगाउनुभयो भने अतिरिक्त झन्झट व्यहोर्नु पर्दैन । आफूले लगाएको पहिरन सहज लाग्छ । यसले गर्दा आत्मविश्वास पनि बढ्छ । वास्तवमा हामीले लगाएको पहिरनले हाम्रो आत्मविश्वास बढाउने काम पनि गर्नुपर्छ । असहज पहिरनमा जतिसुकै चमक दमक देखिए पनि त्यसले आत्ममनोबल कमजोर बनाइरहेको हुन्छ ।

त्यस्तै, बालबालिकालाई सहज हुने कपडा लगाइदिनु नै ‘किड्स फेसन’ हो । यदि बच्चालाई उसको तौल र उचाइअनुसारको पहिरन लगाइदियो भने उनीहरूलाई सहज महसुस हुन्छ ।

फेसन भन्नासाथ हामी बजारमा चलेको ट्रेन्डलाई बुझ्ने गर्छौं । वा अरू मान्छे खास गरी सेलिब्रिटीले अपनाएको पहिरन शैलीलाई बुझ्ने गर्छौं । अरूलाई चिटिक्क र सुहाउँदो देखिएको पहिरन देखेपछि हामी लोभिन्छौं । तर अरूलाई सुहाएको लुगा आफूलाई नसुहाउन पनि सक्छ ।

त्यसैले अरूको देखेर होइन, आफैंलाई हेरेर पहिरन शैली अपनाउनुपर्छ । आफ्नो शारीरिक बनोट, वर्ण, उचाइ, रुपरंग अनुसार सही किसिमको पहिरन छनोट गर्न सक्नुपर्छ ।

बच्चाको फेसनमा पनि यही कुरा लागू हुन्छ । बजारमा चलेको, अरू बच्चाले लगाएको कपडा वा अभिभावकको लुगासँग मिल्ने भन्दा पनि बच्चाको शारीरिक बनावट, उसको रुचि र उसलाई सुहाउने हुनुपर्छ ।

बच्चालाई आफ्नो पहिरनसँग मिल्ने उस्तै लुगा लगाइदिने चलन

चाडपर्वमा होस् वा विवाहमा अभिभावकको लुगासँग मिल्ने लुगा बच्चालाई लगाइदिने चलन छ । यसरी बच्चालाई अभिभावकको लुगासँग मिल्ने लुगा लगाइदिनुलाई ‘ट्विनिङ’ भनिन्छ । यसमा आमाबुबा तथा बच्चाको पहिरनको कलर र डिजाइन एकै किसिमको बनाएर लगाइन्छ ।

यदि छोरी हो भने आमाको लुगासँग मिल्दो लुगा लगाइदिने र छोरा हो भने बुबाको लुगासँग मिल्दो लुगा लगाइदिने चलन आजभोलि नयाँ फेसनको रूपमा छ ।

बच्चालाई नै लुगा छनोट गर्न दिनुपर्छ

बच्चाको लुगा अभिभावकले छान्दिने भन्दा पनि उनीहरूलाई नै छान्न दिनुपर्छ । बालबालिकाको लुगाको छनोटले उनीहरूको विचार र रंगबारे रुचि पत्ता लगाउन सकिन्छ ।

जब बच्चाहरूले आफैं लुगा छान्छन्, आफूमा कुन रङ राम्रो देखिन्छ वा कुन स्टाइलको कपडाले आफ्नो व्यक्तित्व झल्काउँछ भन्ने बुझ्छन् । यस्तो अवस्थामा उनीहरू आफैं बढी सचेत हुन्छन् ।

(फेसन डिजाइनर वलीसँग सुमित्रा लुईटेलले गरेको कुराकानीमा आधारित) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?