+
+

दिवालीले पुनः बढायो दिल्लीको प्रदूषण, कृत्रिम वर्षाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २७ गते १७:५३
तस्वीर : प्रेस ट्रस्ट अफ इन्डिया

२७ कात्तिक, नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित पुट खुर्द, पीजीडीएभी कलेज, अमेरिकन दूतावासलगायत क्षेत्रमा वायुको गुणस्तर सूचक एअर क्वालिटी इन्डेक्स ५०० हाराहारी पुगेको छ । यसलाई मानव स्वास्थ्यका दृष्टिले ‘खतरनाक’ (हाजार्डस) मानिन्छ । त्यहाँ २.५ माइक्रोन (पार्टिकुलेट म्याटर) भन्दा मसिना प्रदूषक कण (पीएम २.५) हरूको स्तर पनि ४०० भन्दा निकै माथि पुगेको छ ।

दिल्लीमा विगत केही सातादेखि प्रदूषणको मात्रा बढ्दै गए पनि गत साताको अन्तिममा सामान्य वर्षा भएपछि यो केही नियन्त्रणमा आएको थियो । तर, दिवालीका दिन शहरभरि अत्यधिक मात्रामा पटाका पड्काइएका कारण त्यसको धुवाँ फैलिएर पुनः अचानक प्रदूषणको मात्रा खतराको स्तरमा पुगेको हो ।

यो स्तरको वायुप्रदूषणले मानिसहरुको ज्यान नै लिनसक्ने सम्भावना हुने वैज्ञानिकहरू बताउँछन् । दिल्लीमा सन् २०२१ यता पीएम २.५ का कारण मृत्यु हुनेको संख्या २५ हजारभन्दा बढी भएको ग्रीपपिस नामक संस्थाले जनाएको छ । यो वर्ष मात्रै प्रदूषणका कारण दिल्लीको अर्थतन्त्र ३ अर्ब ७० करोड अमेरिकी डलरबराबरको क्षति भइसकेको पनि उसले जनाएको छ ।

प्रदूषणका कारण दिल्ली एनसीआरमा विद्यालयहरु बन्द गरिएका छन् । सकेसम्म घरबाहिर ननिस्कन सरकारले एडभाइजरी जारी गरेको छ ।

दिल्ली सरकारले प्रदूषणको मात्रा घटाउन कृत्रिम वर्षा गराउनेसमेतको तयारी गरेको छ । इन्डियन इन्स्टच्युट अफ टेक्नोलोजी (आईआईटी कानपुर) सँगको सहकार्यमा दिल्लीमा २१ नोभेम्बरका दिन कृत्रिम वर्षा गराउने तयारी गरिएको छ । यसका लागि सरकारले आईआईटीसँग प्रस्ताव मागिसकको छ भने आईआईटीले पनि प्रस्ताव पेश गरिसकेको छ ।

आईआईटीले गत जुलाईमा वर्षाको बेलामा भारतमा कृत्रिम वर्षा गराउने सफल परीक्षण गरेको थियो । त्यसो हुँदा सरकारले सो विश्वविद्यालयलाई हिउँदका बेलामा पनि कृत्रिम वर्षा गराएर प्रदूषण कम गराउन अनुरोध गरेको छ । यसका लागि सरकार र विश्वविद्यालयबीच समझदारी भइसकेपनि सर्वोच्च अदालतको अनुमति आउन भने बाँकी छ ।

कसरी हुन्छ कृत्रिम वर्षा ?

कृत्रिम वर्षा गराउन पनि प्राकृतिक बादल नै चाहिन्छ । तर सबै बादलले वर्षा गराउँदैनन् । अर्कातिर हामीले चाहेको बेला वर्षा पनि हुँदैन । त्यसो हुँदा प्राकृतिक रुपमा नै बादल लागेको बखतमा त्यस्तो बादलमा सिल्भर आयोडाइड, सुख्खा आइस र नुनजस्ता रासायनिक तत्वहरू मिसाएर कृत्रिम वर्षा गराइन्छ । यसलाई क्लाउड सिडिङ भनिन्छ। यस प्रक्रियाका लागि प्राकृतिक बादल हुनु सबैभन्दा आवश्यक हुन्छ ।

बादलमा विमानका माध्यमबाट बादलमा सिल्भर आयोडाइडलगायतको घोल छरिन्छ । यसरी त्यो घोल छर्दा विमानलाई हावा चलिरहेभन्दा उल्टो दिशातर्फ उडाइन्छ । रकेट लञ्चरका माध्यबाट पनि क्लाउड सिडिङ गर्न सकिन्छ ।

यसरी क्लाउड सिडिङ गर्दा बादलमा भएका पानीका कण जिरो डिग्री सेल्सियससम्म पुगेर जम्ने गर्छन् । त्यसरी पानीका कारणहरू जमेर बरफ बनेपछि वर्षा हुने गर्छ ।

तर, यसरी कृत्रिम वर्षा गराउनका लागि बादलको चयन सही हुनु जरुरी हुन्छ ।

वैज्ञानिकहरूका अनुसार यसका लागि चयन गरिने बादलमा पर्याप्त मात्रामा तरल पदार्थ हुनु जरुरी हुन्छ । तर, हिउँदमा लाग्ने बादलमा पर्याप्त मात्रामा पानी नहुने हुनाले कृत्रिम वर्षा गराउन पनि कठीन हुन्छ । विश्वका विभिन्न देशले कृत्रिम वर्षाको सफल परीक्षण गरिसकेका छन् ।

हिउँदमा कृत्रिम वर्षा हुनेमै आशंका

कृत्रिम वर्षा परीक्षणकै अवस्थामा रहेको र यसले हिउँदको समयमा पानी पार्न सक्ने कुनै प्रमाण भेट्न नसकिएको भन्दै विश्लेषकहरूले यो प्रभावकारी हुनेमै शंका व्यक्त गरेका छन् । कृत्रिम वर्षा गराउने प्रयास सन् १९४० देखि हुँदै आए पनि चाहेको स्थानमा पर्याप्त वर्षा गराउन सकिन्छ कि सकिँदैन भन्ने चाहिँ अझैसम्म अस्पष्ट नै छ ।

भारतमै महाराष्ट्रको सोलापुरमा सन् २०१८ र २०१९ मा दुईपटक मनसुनका बेला यसको परीक्षण गरिएको थियो । यसको प्रयोगले सामान्य अवस्थामा भन्दा १८ प्रतिशत बढी अर्थात् ८ दशमलव ६७ मिलिलिटर थप पानी परेको तथ्य अमेरिकन मेटेयोरोलिकल सोसाइटीको बुलेटिनमा प्रमाशित अध्ययनको निष्कर्षमा उल्लेख छ । सोलापुर (वृष्टिछाया)मा पर्ने अर्थात कम पानी पर्ने स्थान भएकाले त्यहाँ अध्ययन गरिएको थियो ।

सो प्रयोगका प्रमुख वैज्ञानिक थारा प्रभाकरणन भन्छन् बादलको आकार र त्यसमा हुने पानीको मात्राले कृत्रिम वर्षाको प्रभावकारिता कति हुने भन्ने निर्क्योल गर्ने बताउँछन् ।

यसअघि कानपुरमा केही परीक्षणहरू भएका थिए । साना विमानबाट गरिएको सो परीक्षणका क्रममा केही क्षेत्रमा पानी परेको थियो भने कतिपयमा हल्का मात्रै वर्षा भएको थियो । त्यसअघि सन् २०१९ मा पनि दिल्लीमा प्रदूषण कम गर्नकै लागि कृत्रिम वर्षाको तयारी गरिएको थियो । तर त्यस समयमा बादल नलागेपिछ परीक्षण सफल हुन सकेन ।

त्यस्तै कृत्रिम वर्षाले प्रदूषणलाई कति कम गर्छ भन्ने धेरै प्रमाण पनि अहिलेसम्म भेटिएका छैनन् । पानी पर्दा हावा भएका धुवाँ धुलो लगायतका मसिना कणहरू हावाबाट पखालिने कारणले वायु प्रदूषण कम हुने विश्वास गरिन्छ । तर, वर्षापछि पनि हावाको गति उही रह्यो र धुवाँ उडाएर बाहिर लगेन भने दिल्लीको प्रदूषण उही रहने वैज्ञानिकहरू बताउँछन् ।

कृत्रिम वर्षा गराउन प्रति वर्गकिलोमिटर १ लाख भारतीय रुपैयाँ लाग्ने आईआईटीका प्राध्यापक महेन्द्र अग्रवाललाई उदृत गर्दै इन्डिया टुडेले उल्ल्ख गरेको छ । दिल्लीमा दुई चरणमा वर्षा गराउने योजना भएको र त्यसका लागि १३ करोड खर्च हुने पीटीआईले उल्ल्ख गरेको छ ।

के हो दिल्ली प्रदूषणको प्रमुख कारण ?

दिल्लीमा यो समय मुलतः दुई कारणले अत्यधिक वायुप्रदूषण हुने गरेको गरेको छ । पहिलो दिल्लीका छिमेकी राज्यहरू पञ्जाव, हरियाणा, पञ्जाब, उत्तर प्रदेशलगायतमा धान भित्र्याइसकेपछि परालमा खेतमै आगो लगाउने चलन छ । त्यसको धुवाँ दिल्लीको आकाशमा फैलन्छ । यो समय हावाको गति सुस्त हुने कारणले धुवाँ बाहिर जान पाउँदैन । त्यसले अत्यधिक जनसंख्या भएको दिल्लीलाई हरेक वर्षको हिउँदमा प्रदूषणले सताउने गरेको छ ।

भारतको सर्वोच्च अदालतले हालै पराल जलाउन बन्द गर्न ती राज्यहरूलाई आदेश दिएको थियो । त्यस्तै प्रदूषण नियन्त्रणका यन्त्रउपकरणसमेत प्रयोग गर्न पनि सर्वोच्चको आदेश छ ।

यसका साथै दिवालीमा हुने अत्यधिक पटाका विस्फोट पनि दिल्लीको प्रदूषणको प्रमुख कारण हो । यो वर्ष पटाका पड्काउनेलाई फौजगारी अभियोगमा पक्रने भनेर प्रहरीले सूचना जारी गरेको थियो । त्यही भएर आइतवार रहेको दिवालीका अघिल्ला दिनहरूमा दिल्लीमा पटाका पड्किएनन् । तर सरकारको आदेशलाई दिवालीका दिनमा जनताले अवज्ञा गरे र अत्यधिक मात्रामा पटाका पड्काए । जसले सोमबारबाट पुनः दिल्लीको आकाश धुवाँमय भएको छ । र पुनः दिल्लीमा प्रदूषणस्तर पुरानै तहमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?