+
+
फिफा विश्वकप छनोट :

३९ वर्षपछि युएईसँग भिड्दै नेपाल, प्रशिक्षक भन्छन्- डराएका छैनौं

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २९ गते १७:५०

२९ कात्तिक, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले बिहीबार सयुंक्त अरब इमिरेट्स (युएई) को सामना गर्दैछन् ।

समूह एचमा रहेका नेपाल र युएईबीचको खेल दुबईस्थित अल माक्तोउम स्टेडियममा बिहीबार राति स्थानीय समय अनुसार पौने ८ बजे सुरु हुनेछ ।

नेपालले दोस्रो पटक युएईको सामना गर्न लागेको हो । यसअघि सन् १९८४ मा एसिया कप छनोटमा नेपालले युएईसँग खेलेको थियो । जहाँ नेपाल ११-० को फराकिलो अन्तरले पराजित भएको थियो ।

यस पटक नेपाली टोली इटालियन प्रशिक्षक भिन्चेन्जो अल्बर्टो एनेसको नेतृत्वमा युएईसँग खेल्न दुबई पुगिसकेको छ । नेपाली टिममा अहिले युवा खेलाडीहरुको बाहुल्य रहेकाले बलियो टोली युएई विरुद्ध कस्तो प्रदर्शन गर्ला भन्ने धेरैको चासो छ ।

कप्तान किरणकुमार लिम्बु डिफेण्डर रोहित चन्द र फरवार्ड अञ्जन विष्ट मात्र नेपाली टोलीमा अनुभवी खेलाडी छन् । किरण, रोहित र अञ्जनबाहेक बाँकी खेलाडी सन् २०२१ यता मात्र टिमका परेका खेलाडीहरु छन् । यसपटक नेपाली टोलीमा योगेश गुरुङ, निशान हमाल र राजेश परियार तीन नयाँ खेलाडी छन् । योगेश डिफेण्डर, निशान मिडफिल्डर र राजेश फरवार्ड हुन् ।

युएई जानुअघि प्रशिक्षकका क्रममा घाइते भएपछि डिफेण्डर अनन्त तामाङ यस पटक टिममा छैनन् ।

 युएईसँग डराउँदैनौँ : प्रशिक्षक एनेस

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले खेलअघि बुधबार भएको प्रि म्याच कन्फ्रेन्समा युएईसँगको खेलका लागि राम्रो तयारी गरेको बताउँदै बलियो टोली युएईको सामना गर्न आफूहरु नडराएको बताए ।

‘यूएई हाम्रो समूहको एउटा बलियो टोली हो । तर हामीले पनि राम्रो तयारी गरेका छौं । हाम्रो टोलीमा युवा खेलाडीहरुको बाहुल्य छ । त्यसैले यो टोलीमा जोश छ’, उनले भनेका छन्, ‘प्रशिक्षकको रुपमा हामीले धेरै बलिया टोलीहरुसँग खेलेको  अनुभव छ । त्यसैले बलिया टोलीहरुको स्तरबारे जानकार छौं । यूएई पनि राम्रो टोली हो तर डराएका छैनौ। म यसलाई हरेक पटक आउने नयाँ चुनौतीको रुपमा लिन्छु ।’

साथै, उनले यूएईको नाम चलेका पोर्चुगाली प्रशिक्षक (पाउलो बेन्टो) रहेकाले पनि आफू उत्सहित भएको र मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘यूएईको नाम चलेका पोर्चुगिज प्रशिक्षकसँग मैदानमा आमने सामने हुँदैछु भनेर उत्साहित पनि छु । भोलि हामी आफ्नो खेलमा गम्भीर हुनेछौं र उत्कृष्ट प्रदर्शन गर्नेछौं’, उनले भने ।

यस्तै नेपाली टोलीका कप्तान किरण कुमार लिम्बुले यसअघि पनि अनुभवी टिमहरुसँग खेलेको अनुभव आफूसँग रहेको भन्दै टिमको रक्षा गर्न तयार रहेको बताए । ‘मैले आफ्नो करियरमा धेरै राम्रा खेलाडीहरुसँग खेल्ने मौका पाएको छु । पछिल्लो विश्वकप छनोटमा पनि अस्ट्रेलियन टिमसँग खेलेको अनुभव छ, जहाँ मैले धेरै राम्रा खेलाडीहरुसँग खेल्ने मौका पाए’, गोलकिपर किरणले भने, ‘म आफ्नो टिमको रक्षा गर्न तत्पर छु । विगत १६-१७ वर्ष देखि नेपाली राष्ट्रिय टोलीबाट खेल्दै आएको छु ।’

३ अंकका लागि खेल्छौँ : युएईका प्रशिक्षक बेन्टो

युएईका प्रशिक्षक पाउलो बेन्टोले आफ्नो टिमको तयारी राम्रो भएको तर कुनै पनि टिमलाई कमजोर नलिने बताए । ‘फिफा वरीयतामा हामी भन्दा पछाडि भएपनि नेपाललाई हामी सजिलो टोलीका रुपमा कदापि लिदैनौ । कुनै पनि प्रतिद्वन्द्वीलाई कम आक्नु पनि हुँदैन’, उनले भने, ‘हामी आफ्नो स्तरअनुसार नै प्रदर्शन गर्नेछौ ।  हामीले लामो तयारी गरेका छौं । हामीले नेपालविरुद्ध स्पष्ट ३ अंक जोड़नलाई खेल्नेछौँ । हामी समूहमा उत्कृष्ट हुने प्रयासमा छौँ ।’

विश्वकप र एसिया कपको दोस्रो चरणको छनोटमा नेपालले समूह चरणमा युएईसहित बहराइन र यमनसँग होम एण्ड अवेका आधारमा खेल्नेछ । युएईसँग अवे लेगको खेल खेलेपछि नेपालले यमनसँग घरेलु मैदानमा मंसिर ५ गते खेल्नेछ ।

नेपाली टोली:

गोलकिपर : किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल

डिफेण्डर : सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट,  छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डर : लकेन लिम्बू, उत्सव राई, क्रितिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदेम्बे, निशान हमाल ।

फरवार्ड : अञ्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?