+
+

पर्यटकको रोजाइमा रुप्से झरना   

रासस रासस
२०८० मंसिर १ गते ११:५२

१ मंसिर, म्याग्दी । साथीहरुसँग मुस्ताङ घुम्न निस्किएका बेनीका गोपाल पौडेलको दस जनाको समूह बिहीबार दिउँसो करिब एक घण्टा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना र अन्धगल्छी क्षेत्रमै भुल्यो ।

बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से झरनाको सुन्दरताले मुस्ताङ हिँडेकी बेनीकी कमलकुमारी पुर्जालाई पनि लोभ्यायो । ‘अग्लो पहाडबाट खस्ने झरनालाई पृष्ठभूमि बनाएर तस्वीर, भिडियो नखिची मुस्ताङ छिर्नै मन लागेन्,’ उनले भनिन्, ‘तह तह को पहाडबाट खसेको झरनाको सुन्दरताले मोहनी लगायो ।’

पौडेल र पुर्जामात्र होइन, मुस्ताङ भ्रमणमा आउने सबै पर्यटकले रुप्से झरनामा घण्टौं समय बिताउँछन् । रुप्से झरनामा बिहानदेखि साँझसम्म अवलोकन गर्ने, तस्वीर र भिडियो खिचाउने पर्यटकको भीड लाग्ने गरेको वडासदस्य लालबहादुर पुनले बताए ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार रुप्से झरनालाई समेटेको बेनी–जोमसोम सडक भएर औसत दैनिक तीन सय गाडी र मोटरसाइकल आवतजावत गर्दछन् । असोज, कात्तिक, चैत र वैशाख महिनामा यो सडक भएर आवतजावत गर्ने पर्यटकको सङ्ख्या दैनिक एक हजार जनाभन्दा बढी हुने गरेको छ ।

मोटरसाइकल, निजी तथा भाडाका जिप चढेर मुस्ताङ आउने–जाने पर्यटक यस झरनामा गाडी रोकेर पनि केहीबेर प्रकृतिमा रमाउँछन् पुग्छन् । झरनाको नजिकै संसारकै गहिरो अन्धगल्छी पनि छ । धौलागिरि र अन्नपूर्ण हिमालको बीच भएर बग्ने कालीगण्डकीले बनाएको अन्धगल्छीको खोँचलाई विश्वकै गहिरो मानिएको छ ।

तीन वर्षअघिको बाढी र पहिराले रुप्से झरना नजिकका पर्यटकीय पूर्वाधार बगाएको थियो । बाढीले क्षति गरेर झरना र अन्धगल्छी वरपरको सुन्दरतामा असर गरे पनि पर्यटक भने घटेका छैनन् । झरनाको नजिकै हालै बेलिब्रिज निर्माण गरिएको छ । पहिरो पन्छाएर सडक फराकिलो बनाएपछि जिप तथा मोटरसाइकल पार्किङ गर्न सहज भएको छ । ठूला गाडीमा आउने पर्यटकलाई अटाउन व्यवस्थित पार्किङको आवश्यकता छ ।

रुप्से झरना र अन्धगल्छी पर्यटकीय महत्वको भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन सकेका छैनन् । व्यवस्थित पार्किङ, सार्वजनिक शौचालय, चिया तथा खाजा पसल सञ्चालन गरेर त्यसबाट रोजगारी सिर्जना गर्न र स्थानीय तहको आयस्रोत वृद्धि गर्न सक्ने सम्भावना छ ।

झरना र गल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग, तस्वीर, भिडियो खिच्ने सुुरक्षित ठाउँ बनाउनुुपर्ने काठमाडौँबाट आएकी रविना थापाले बताइन् ।

१९७५ सालमा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिए पनि अहिले उक्त टिकट प्रचलनमा छैन । झरनामा कान्छा भूमेदेवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा स्थानीयवासीले बोका बलि चढाउने गर्छन् ।

झरनालाई धार्मिक गन्तव्य पनि बनाउन सकिने सम्भावना छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले संघीय सरकारबाट चालु आर्थिक वर्षका लागि प्राप्त रु ८० लाख अनुदानबाट रुप्से झरना र अन्धगल्छीलाई व्यवस्थित गर्न पूर्वाधार निर्माण गर्न लागिएको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?