+
+
विश्वकप २०२३ फाइनल प्रिभ्यु–१ :

भारतको अन्तिम तगारो अस्ट्रेलिया

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते ९:३४

३ मंसिर, अहमदावाद । एक अर्ब ४० करोड जनसंख्याको भारत आइतबार साँच्चै टक्क अडकिनेछ, जति बेला रोहित शर्मा र विराट कोहली सम्मिलित टिमले विश्वकप फाइनलमा पाँच पल्टको च्याम्पियन अस्ट्रेलियाको सामना गर्नेछ । फाइनल हुनेछ, नरेन्द्र मोदी स्टेडियममा । यसको दर्शक क्षमता नै रहेको छ, एक लाख ३० हजार । सन् २०१५ मा यसको निर्माण सुरु भएको थियो र त्यति बेला यसको उद्देश्य थियो, आठ वर्षपछि यही फाइनलको आयोजना गर्ने । यस्तोमा सबैभन्दा बढी दर्शकको कीर्तिमान पनि बन्ने छ ।

चेन्नाइबाट धर्मशाला अनि मुम्बईबाट कोलकाता, भारतले पछिल्ला छ साता राष्ट्रिय भावनामा डुबेका आफ्ना समर्थक अगाडि खेलेको छ । यसक्रममा भारतले लगातार १० खेल जितेको छ र यो नै पूरा प्रतियोगितामा अपराजित एक्लो टिम रहेको छ । ‘हामीलाई थाहा छ, फाइनलमा दर्शक पूरापूर भरिनेछ,’ अस्ट्रेलियाली कप्तान प्याट कमिन्स भन्छन्, ‘एक लाख ३० हजार दर्शक भारतको समर्थनमा हुनेछन् । त्यसैले फाइनल रोमाञ्चक हुनेछ ।’

अझ उनी अगाडि थप्छन्, ‘सबैलाई के पनि थाहा छ भने यो दर्शक पूर्णतः एकपक्षीय रहने छ । हामीलाई यिनै दर्शक झेल्नु बाहेक अर्को उपाय छैन । तर खेलकुदमा यस्ता दर्शकलाई चुपचाप पार्नुको मज्जा पनि छ । यसले खुबै सन्तोष पनि दिन्छ । हाम्रो उद्देश्य फाइनलमा त्यही हो, भारतीय समर्थकलाई स्तब्ध पार्ने ।’ सबैको नजर पर्ने एक खेलाडीमा विराट कोहली पनि रहने छन् । जुन स्वाभाविक पनि छ र उनकै प्रदर्शनले धेरै हदसम्म भारतको जित/हार तय गर्नेछ ।

कोहली त्यस्ता खेलाडी हुन्, जसले वान डे क्रिकेटमा ५० शतक बनाएका छन् । अनि यसपल्टको विश्वकपमा सात सय ११ रन बनाइसकेका छन्, १० इनिङ्समा । उनको औसत बनेको छ, १०१.५७ । उनको धेरै पछाडि रोहित र डेविड वार्नर छन् । रोहितले पाँच सय ५० रन बनाएका छन् भने वार्नरले पाँच सय २८ । तर भारतको यस विश्वकपमा सुमधुर यात्रा पछाडि त्यो भन्दा पनि ठूलो कारण छ र त्यो हो, बलिङ । त्यसको नेतृत्व गरिरहेका छन्, मोहम्मद सामीले ।

उनले छ खेलमा २३ विकेट लिएका छन् । खासमा सामी पहिलो रोजाइका खेलाडी पनि थिएनन्, हार्द्धिक पान्ड्या घाइते भएपछि उनको स्थान लिने । हार्द्धिकको स्थानमा शार्दुल ठाकुर अथवा रविचन्द्रन आश्विनले खेल्न सक्थे । तर मौका सामीले पाए र त्यसको भरपूर फाइदा उठाए । उनलाई जसप्रित बुमराहले बलियो साथ दिइरहेका छन्, १० खेलमा १८ विकेट लिएर । सँगै रविन्द्र जडेजा र कुलदीप यादवको स्पिन बलर जोडीले एकआपसमा ३१ विकेट लिइसके ।

भारतको बलिङ कति धेरै घातक भएको छ भने यस विश्वकपमा विपक्षी टिम दुई पल्ट सय रन भन्दा मुनि समेटिएको छ । यस्तै दुई पल्ट नै विपक्षी टिम दुई सय रनको स्कोर मुनि रोकिएको छ । यसरी भारतविरुद्ध सस्तोमा आउने हुनेमा अस्ट्रेलिया पनि पर्छ । लिग चरणमा अस्ट्रेलियाले एक सय ९९ रन मात्रै बनाउन सकेको थियो । ‘अहिलेको भारतीय टिमको विशेषता भनेकै बलिङ रहेको छ,’ ओपनर शुभमन गिल मान्छन्, ‘हाम्रा बलरले सजिलै विपक्षी टिमलाई सस्तोमा समेटिरहेको छ ।’

विश्वकपको इतिहासमा यी २ टिमले फाइनल बाहेक नकआउटमा दुई पटक एकअर्काको सामना गरेका छन् । समग्रमा भने १३ पटक भिडेका छन् । सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले भारतलाई सिड्नीमा हराएको थियो । सन् २०११ मा भने युवराज सिंहबाट प्रेरित भारतले अस्ट्रेलियालाई क्वाटरफाइनलमा रोकेको थियो । सन् २००३ को जोहानसबर्गमा भएको फाइनल भने यिनै दुई टिमबीच भएको थियो, त्यसमा रिकी पोन्टिङको अस्ट्रेलिया सजिलै एक सय २५ रनले विजयी रह्यो ।

अस्ट्रेलियाली फास्ट बलर मिचेल स्टार्क भन्छन्, ‘भारत यस प्रतियोगिताकै सबैभन्दा राम्रो टिम रहेको छ, यसमा कुनै दुविधा छैन । हामी पनि कम छैनौं, त्यसैले त फाइनल पुगेका छौं । अब अन्तिम खेल छ, निर्णायक खेल छ । उपाधि जितेर प्रतियोगिता जित्नु जत्तिको खुसी अरू केही हुने छैन ।’

भारतको काम अस्ट्रेलियाको यही योजनालाई तहसनहस पार्नु हो र फेरि एकपल्ट आफ्नै भूमिमा विश्वकप जित्नु हो । उत्कृष्ट भारतको अन्तिम तगारो अस्ट्रेलिया नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?