+
+

राहुल द्रविड : भारतको ‘ड्रिम रन’ पछाडिको नायक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते १३:५६

३ मंसिर, काठमाडौं । सन् २००३ मा राहुल द्रविड र उनको टिम विश्वकप क्रिकेटको फाइनलमा अपराजित अष्ट्रेलियाविरुद्ध जोहानेसवर्गस्थित न्यू वन्डरर्स स्टेडियममा उत्रेको थियो ।

दुई दशकपछि भारत फाइनल पुग्दा धेरै ठूलो अपेक्षा थियो । तर अष्ट्रेलियाले भारतलाई एकपक्षीय रुपमै पराजित गर्‍यो । सन् २००७ मा भारतलाई विश्वकपको अर्को एक मौका मिलेको थियो र यस समय द्रविडले कप्तानी गरेका थिए ।

तर त्यसपटक भारतको प्रदर्शन राम्रो हुन सकेन र विश्वकपको नकआउट चरणमा समेत पुग्न सकेन । करिब २० वर्षपछि स्टाइलिस ब्याटर द्रविड भारतको मुख्य प्रशिक्षक छन् । जुन टिमले आइतबार अहमदावादमा अष्ट्रेलियाविरुद्ध विश्वकप फाइनल खेल्दैछ ।

अब द्रविडले विश्वकपको प्रतिष्ठित ट्रफी उठाउँछन् कि उठाउँदैनन् हेर्न बाँकी छ  तर महान प्रशिक्षकको रुपमा भने द्रविडको नाम सूचीकृत हुने पक्का छ ।

तर एक लिजेण्ड्री ब्याटरले कसरी आफूलाई यस्तो प्रशिक्षकको रुपमा रुपान्तरण गरे जो पर्दा पछाडि बस्छन् र आफ्नो टिमको दमदार प्रदर्शनबाट उपस्थिति देखाउँछन्?

यसको जवाफ उनको शानदार खेल जीवनले दिन्छ ।

दी वाल’

द्रविड आफ्नो शानदार करियरमा कडा मिहिनेत गर्ने एक खेलाडीको रुपमा परिचित थिए । उनी आफ्नो विकेट बिरलै दिन्थे जसले गर्दा उनले ‘दी वाल’ र  ‘मिस्टर डिपेन्डेबल’ को उपनाम पाएका थिए ।

उनको कलात्मक ब्याटिङ प्रदर्शन त्यतिबेला देखियो जतिबेला सन् २००१ मा अष्ट्रेलियाविरुद्ध लगभग हार नजिक पुगेको टेष्ट म्याचमा उनले भीभीएस लक्ष्मणसँग ३७६ रनको यादगार पारी खेले ।

सन् २००४ मा पाकिस्तानविरुद्धको टेष्ट म्याचमा उनले १२ घण्टे पारी खेले जुन अहिले पनि एक महान उदाहरणको रुपमा लिइन्छ ।

सन् २०११ मा भारतले इंग्ल्याण्डको बिर्सनलायक भ्रमण गरेको थियो जहाँ द्रविड आफ्नो साथी खेलाडीको माझ दृढ रुपमा खडा भए । इंग्ल्याण्डसँग भारतले ४-० को शर्मनाक हार ब्यहोर्दा पनि द्रविडले ६०२ रन बनाएका थिए ।

अन्तिम समयसम्म मैदानमा डटेर रहने उनको शैली उनको कोचिङ स्टाइलमा समेत देखिएको छ ।

खेलाडी जीवनमा जस्तै द्रविडले मुख्य प्रशिक्षकको रुपमा पनि उति नै मिहिनेत गरेका छन् । उनले जहिल्यै आलोचनालाई वास्ता गरेका छैनन् र आफ्नो पहिचानको शैलीमा अडिग रहे ।

उथुलपुथलपछि पाएको जिम्मेवारी

उनको सफलता शून्यमा आएको छैन । उनले आधारबाटै सुरु गरे जुन भारतको अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्न तयार प्रतिभा आपूर्ति गर्ने ठाउँ थियो ।

उनी सन् २०१६ मा भारतको यू-१९ र ए  (जुनियर नेशनल टिम)  को मुख्य प्रशिक्षक बने । यो एक त्यस्तो जिम्मेवारी थियो जुन भारतको राष्ट्रिय स्तरको ग्ल्यामर र चमकधमक भन्दा टाढा थियो ।

तर यसमा उनले आफूलाई माझ्ने काम गरे र आफ्नो टिमलाई सन् २०१६ को यू-१९ विश्वकपको फाइनल पुर्‍याए ।

जुनियर लेभलमा तीन वर्ष प्रतिभा निखार्न काम गरेपछि उनी नेशनल क्रिकेट एकेडेमी (एनसीए) को निर्देशक नियुक्त भए ।

एनसीए एक प्रिमियर सेन्टर हो जहाँ खेलाडीहरुले आफ्नो फिटनेसमा सुधार गर्छन् र चोटबाट निको हुन मद्दत हुन्छ ।

द्रविड त्यहाँ हुँदा भारतीय क्रिकेट टिम धेरै उथलपुथलबाट गुज्रिएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को ट्रफीका लागि भारतले धेरै लामो समय प्रतीक्षा गरेको थियो । भारतले पछिल्लो पटक २०१३ मा आईसीसीको ट्रफी जितेको थियो ।

सन् २०१९ को विश्वकप सेमिफाइनलमा भारत न्यूजिल्याण्डसँग पराजित भयो जुन निकै दु:खदायी थियो ।

यही पृष्ठभूमिमा द्रविडलाई सन् २०२१ मा भारतको टिमको जिम्मेवारी दिइएको थियो ।

सिनियर टिममा रहेका धेरै खेलाडीलाई द्रविडले जुनियर लेभलमा प्रशिक्षण दिने वा मेन्टर गर्ने गरेका थिए ।

जसले गर्दा द्रविडका लागि काम सहज देखिएको थियो, तर त्यस्तो थिएन । टिममा लगातार परिवर्तन भइरहेको थियो र जब सन् २०२२ मा विराट कोहलीले कप्तानी छाडे तब समस्या झन् सतहमै आयो ।

खेलाडी छनोटको शैली

द्रविड आफ्नो चिरपरिचित मेथडमा फर्के । उनले हल्लालाई बन्द गरे र आफ्नो टिममेटलाई प्रक्रियामा भरोसा गर्न आग्रह गरे अनि हारबाट कुनै चिन्ता नलिन भने ।

उनको नजर २०२३ मा भारतमा हुने विश्वकपमा थियो । उनले फरक कम्बिनेसनको प्रयोग गरे । यद्यपि यसले त्यति काम गरेन ।

उनले आफ्नो खेलाडीलाई समर्थन गरे । टिममा केएल राहुललाई समावेश गर्दा आलोचकले प्रश्न उठाए तर उनले ब्याटरलाई समर्थन गरे ।

अहिले ब्याटिङ मात्र होइन विकेटकिपिङ क्षमताले पनि राहुल टिमको मेरुदण्ड नै बनेका छन् । द्रविडले पनि यसै गरेका थिए । सन् २००३ को विश्वकपमा उनले नि: स्वार्थ विकेटकिपिङ गरेका थिए जसले गर्दा उनको टिमले एक अतिरिक्त ब्याटर वा बलर खेलाउन सक्यो ।

राहुल फ्रन्टलाइन विकेटकिपर होइनन् । तर उनले प्रतियोगितामा अरु विकेटकिपरले गरेको जस्तै राम्रो प्रदर्शन गरेका छन् ।

धेरैले टिममा श्रेयस ऐयरको स्थानलाई लिएर पनि प्रश्न उठाएका थिए तर अहिले उनी भारतका लागि चौथो नम्बरमा खेल्ने उत्कृष्ट ब्याटर बनेका छन् ।

द्रविडले आफ्नो बलरमा पनि धेरै लगानी गरे । खासगरी पेस बलिङमा । जहाँ मोहम्मद सिराज, मोहम्मद सामी र जसप्रित बुमराह समावेश छन् ।

सही कम्बिनेसन र लय

उनको प्रक्रियामा यो सुनिश्चित थियो कि मुख्य प्रतियोगितामा जानुअघि टिममा सही कम्बिनेसन हुनुपर्छ र सही समयमा टिम लयमा आउनुपर्छ ।

उनले कप्तान रोहित शर्मासँग एक भरोसाको सम्बन्ध बनाएका थिए । जसले यस विश्वकपमा आफ्नो ट्याक्टिकल डिसिजन र नि:स्वार्थ ब्याटिङका कारण चर्चामा छन् ।

टिमलाई पर्फेक्ट बनाउनका लागि द्रविडको टाइमिङ यो भन्दा बढी हुन सक्दैन । भारतले विश्वकपअघि एसिया कप जित्दा पाकिस्तान र श्रीलंकालाई फराकिलो अन्तरले हराएको थियो । र अहिलेसम्म भारत यस विश्वकपमा अपराजित छ । अब यी लिजेण्डको त्यो महत्वाकांक्षा पूरा हुनबाट अन्तिम एक हर्डल बाँकी छ, जुन उनको खेलाडीको रुपमा एक कदम टाढा थियो ।

उनी त्यो ट्रफी उचाल्न एकदमै ब्याकुल हुन सक्छन् तर उनले खेलको अघि र आफ्नो त्यो इच्छा देखाउनेछैनन् र सम्भवत खेल सकिने बेला सम्म पनि ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?