+
+

‘दिमाग खराब’ले उठाएको मुद्दामा प्रदर्शक र निर्माता संस्थाले गठन गरे वार्ता टोली

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते १२:१९
चलचित्र निर्माता संघबाट वार्ता टोली संयोजक अशोक शर्मा र चलचित्र संघबाट संयोजक राजकुमार पोखरेल

काठमाडौं । फिल्म ‘दिमाग खराब’ले मागेको ५० प्रतिशत सेयरलगायत मुद्दामा चलचित्र संघ र चलचित्र निर्माता संघले भ्याएसम्म आजै वार्ता गर्ने भएका छन् । घरेलु फिल्ममा प्रदर्शक र निर्मातालाई प्रतिनिधित्व गर्ने यी दुई संस्थाले वार्ता समिति समेत गठन गरेका छन् ।

निर्माता संघले पूर्वमहासचिव तथा सल्लाहकार अशोक शर्माको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ । यो समितिमा उदयकुमार इङ्नाम, दीपकराज गिरी, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, रविन्द्रसिंह बानियाँ र कृषा चौलागाईं सदस्य छन् ।

चलचित्र संघले पूर्वअध्यक्ष राजकुमार पोखरेलको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । जसमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, सुरेन्द्र थापा, प्रज्वल राणा लगायत सदस्य छन् । ‘दिमाग खराब’को कारण अहिले वार्ता हुन लागेजस्तो देखिए पनि यी दुई संस्थाबीच लामो समयदेखि थाँती रहेका एजेण्डामा छलफल हुने जनाइएको छ ।

तर सेयर बाँडफाँट वार्ताको मुख्य एजेन्डा बनेको छ । ‘दिमाग खराब’ निर्माताले फिल्म चलुन्जेल ५० प्रतिशत सेयर पाउनुपर्ने माग राखेका छन् । मंगलबारसम्म यो माग पूरा नभए बुधबारदेखि फिल्म हलबाट उतार्ने उनीहरुको अडान छ । निर्माता संघका अध्यक्ष नवल खड्काले सकेसम्म फिल्म उतार्ने परिस्थिति आउन नदिने बताए ।

‘५० प्रतिशतको मुद्दामा सहमति नजुटे पछि फेरि ५५ प्रतिशतको माग लिएर आन्दोलनमा जानुपर्ने स्थिति आउन सक्छ,’ खड्काले भने । तर स्रोतका अनुसार फिल्म चलुन्जेल ५० प्रतिशत सेयर माग्ने निर्माताको मागप्रति कतिपय हल सञ्चालक असन्तुष्ट छन् । यो अडानबीच दुवै पक्ष वार्तामा बस्ने तयारीमा छन् ।

‘हामी सकेसम्म रातभर वार्तामा बसेर भए पनि दिमाग खराबको प्रदर्शनलाई निरन्तरता दिन चाहन्छौं,’ खड्काले भने ।

कात्तिक २९ गते निर्देशक निश्चल बस्नेत र निर्माता रौनकविक्रम कँडेलले विज्ञप्ति जारी गर्दै शो र सेयर बाँडफाँटको माग पूरा नभए हलबाट फिल्म उतार्ने घोषणा गरेका थिए । त्यसको भोलिपल्ट बसेको संघ र निर्माताबीचको छलफलमा शो बाँडफाँटबारे सहमति जुटेको थियो । तर सेयर बाँडफाँटमा सहमति नजुटेपछि पुनः मंगलबार बैठक बस्ने जनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?