+
+

दुर्गा प्रसाईंको प्रदर्शनमा उत्तेजक नारा, अनियन्त्रित भीड

लिलु डुम्रे लिलु डुम्रे
२०८० मंसिर ७ गते २१:००

७ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्नै अगुवाईमा भएको प्रदर्शनलाई सम्बोधन गर्न त्रिवि परीक्षा नियन्त्रण कार्यालयको प्रवेशद्वार अगाडि मूल सडकमा भाषण गरिरहेका थिए । प्रसाईंको भाषण चलिरहँदा प्रदर्शनकारीको ठूलो हिस्सा भने बल्खुको मुख्य चोकमा नाराबाजी गरिरहेको थियो ।

प्रसाईंले भाषण गरिरहेकै बेला राप्रपाका नेता ज्ञानेन्द्र शाही पनि बल्खु आइपुगे । राजतन्त्रको वकालत गरिरहेको राप्रपाभित्र प्रसाईंको प्रदर्शनलाई समर्थन गर्ने विषयमा एकमत नहुँदा नहुँदै पनि शाही बल्खु पुगेका थिए । उनी पुगेसँगै केही प्रदर्शनकारी नाराबाजी गर्दै उनीसँगै भ्यानमाथि बनाइएको मञ्चमा पुगे ।

मुख्य अगुवा प्रसाईं र उस्तै समर्थक शाहीले गणतन्त्रको विरोधमा र राजतन्त्रको पक्षमा भाषण गरिरहँदा केही प्रदर्शनकारीहरूलाई मतलब नहुनु रोचक दृश्य थियो । उनीहरू आफ्ना निजी समस्याबारे नाराबाजी र छलफल गरिरहेका थिए ।

सुरक्षा निकायको विश्लेषणअनुसार बल्खुमा भएको प्रदर्शन र विभिन्न कारणले कार्यक्रमस्थल पुग्न नसकेकाहरू गरी ८ देखि १० हजार आसापासमा प्रदर्शनकारीहरू काठमाडौँमा जम्मा भएका थिए ।

प्रसाईले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नाम दिएर गरेको यो प्रर्दशनमा उनका समर्थक जति उपस्थित थिए त्योभन्दा बढी राजधानीमा ठूलो प्रदर्शन हुँदैछ भनेर सुनेर आएकाहरू थिए ।

भाषणका क्रममा प्रसाईंले यसअघि विभिन्न अन्तर्वार्ता र कार्यक्रममा जस्तै अभिव्यक्ति दोहोर्‍याए । उनी आफैंले भाषणमा भने, ‘मैले भन्नु पर्ने नयाँ कुरा केही छैन । तपाईंहरूले मेरा अन्तर्वार्तामा सबै सुनिरहनुभएकै छ । हो, त्यसैका विरुद्ध यो जनविद्रोह सुरु भएको छ । अब यो रोकिँदैन ।’

उनले युवालाई विदेशबाट फर्काउने, विदेशको जेलमा रहेका ७ हजार युवालाई फिर्ता बोलाउने, २० लाखभन्दा मुनिको ऋण मिनाहा गराउने लगायतका अभिव्यक्ति दोहोर्‍याए । व्यवस्था विरुद्धको आन्दोलनमा निषेधाज्ञा तोड्नैपर्ने भन्दै उनले प्रदर्शनलाई जनविद्रोहको संज्ञा दिए ।

राप्रपा नेता ज्ञानेन्द्र शाहीले १२ बुँदे सहमति विदेशमा भएको भन्दै गणतन्त्रवादी नेताहरु भारतमुखी भएको आरोप लगाए ।

आफूलाई ‘सन्तोष राजावादी’ नामले चिनाउने एक वक्ताले आजैबाट गणतन्त्र सकिएको भन्दै चिच्याए ।

विजय कँडेल नामका अर्का वक्ताले आफू अष्ट्रेलियाबाट देशमा केही गर्छु भनी आएको भनेर परिचय दिए । उनले स्वदेशमै केही गर्न भनि फर्केपनि गर्न नपाएको भन्दै आक्रोश व्यक्त गरे । अर्की वक्ता लक्ष्मी खड्काले प्रसाईंको अगुवाइमा भएको प्रदर्शनमा सबैले साथ दिन आग्रह गरिन् ।

प्रसाईं र शाहीलगायत अन्य केही अगुवाहरूले भाषण गरिनसक्दै प्रदर्शनकारीहरूको एउटा समूहले बल्खुबाट कालिकामाटीतर्फ जानका लागि प्रयास गर्‍यो । गृहमन्त्रालयले प्रदर्शनका लागि तोकेको क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि सुरक्षाकर्मीले भीडलाई रोक्न खोज्यो । अनियन्त्रित भिडले रोकिन मानेन । जबर्जस्ती अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रु ग्याँस र पानीको फोहोरा प्रयोग गरेर तितरबितर बनायो ।

प्रदर्शनकारीहरू मध्यान्ह १२ बजे नै बल्खु पुगिसकेका थिए । त्यहीबेला एमालेको युवा संघले निकालेको मोटरसाइकल र्‍याली कालिमाटीबाट बल्खु हुँदै तीनकुनेतर्फ निस्किन खोज्दा ढुंगा हानाहानको अवस्था सिर्जना भएको थियो ।

पहिलोपटक युवासंघसँग र दोस्रोपटक सुरक्षाकर्मीसँग प्रदर्शनकारीको झडप भयो । प्रारम्भमा बल्खु चोकबाट पश्चिमतिर प्रर्दशनकारी केन्द्रित थिए । प्रसाईंको भाषण गर्ने कार्यक्रम सकिएपछि र प्रहरीसँग झडप भएपछि प्रदर्शनकारीहरू तितरबितर भएर सानेपातिर केन्द्रित भए ।

प्रर्दशनकारीले गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा उत्तेजक नाराबाजी गरे । केहीले सुरक्षा घेरा तोडेर सिंहदरबार कब्जा गर्न जानुपर्ने भनिरहेका थिए त केहीले ‘शान्तिपूर्ण आन्दोलन’ भएको भन्दै नियन्त्रित हुन आग्रह गरिरहेका थिए ।

मञ्च बनाइएको भ्यानमा चढेर बोल्न पनि तछाडमछाड चलिरहेको थियो । केहीले आफूलाई राजावादी भनिरहेका थिए भने केहीले बैंक, लघुवित्त र सहकारीबाट लिएको ऋणका पीडित भएको दावी गरिरहेका थिए । गेरुवस्त्रसमेत पहिरिएर आएका कतिपयले आफूलाई हिन्दुवादी भएको दावी गर्दै चर्का नारा समेत लगाए ।

उनीहरूलाई प्रहरीले कालीमाटीतर्फ अघि बढ्न नदिएपछि केही प्रदर्शनकारीहरू प्रहरीसँग मुकाबिला गर्न पूर्वतयारी नपुगेको बताइरहेका थिए । ‘घरको छत छतमा ढुंगा थुपार्नुपर्ने थियो, तयारी भएन’, सुरक्षाकर्मीको निषेधाज्ञा तोड्ने कोशिस गरिरहेका उनीहरू भनिरहेका थिए ।

राजावादी संगठन रोयल टाइगर फोर्स (आरटीएफ) र शाही युवा शक्ति नामका संगठन आफ्नो पहिचान देखिने ज्याकेट र टिसर्टमा उपस्थित थिए ।

आन्दोलनका कारण बल्खु आसपासका अधिकांश पसलहरू र चक्रपथमा गाडी दिनभरजसो बन्द रहे ।

तस्वीरहरु : चन्द्रबहादुर आले/आर्यन धिमाल ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?