+
+

‘किसानको पसिनाको न मूल्य छ न कदर’

धान फलाउन दुःख धेरै हुन्छ, आम्दानी कम छ । भनेको समयमा मल, बीउ, मेशिन र श्रमिक पाइँदैन । खाजा, मेशिनको खर्च महँगो भएको छ । यति दुःख गरेर फलाए पनि किसानले धानको मूल्य नै पाउँदैनन् ।

कमल चौधरी, (कृषक-ठाकुरबाबा नगरपालिका, बर्दिया) कमल चौधरी, (कृषक-ठाकुरबाबा नगरपालिका, बर्दिया)
२०८० मंसिर ८ गते ११:०१

बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ मा मेरो घर छ । म २० वर्षदेखि व्यावसायिक कृषि पेशामा आबद्ध छु । यो वर्ष मैले आफ्नो निजी र भाडाको जमिनमा गरेर ६ बिघा जग्गामा धान खेती गरेको थिएँ ।

साउनमा रोपेको धान काटेर अहिले भित्र्याएको छु । खेतबाट १८० क्वीन्टल धान उत्पादन भएको छ । गाउँमा अहिले व्यापारीहरूले ३ हजार रुपैयाँ क्वीन्टलमा धान बेच्न भनिरहेका छन् । जबकि सरकारले धानको न्यूनतम समर्थन मूल्य ३ हजार ३६२ रुपैयाँ तोकेको छ ।

व्यापारीहरूले अनेकन् प्रलोभन र धान बिक्री नहुने त्रास देखाएर किसानलाई धान बेच्न बाध्य पारेका छन् । गाउँभरिका धेरैजसो किसानले डरले धान बेचिरहेका छन् । म भने दोधारमा छु ।

सरकारी कम्पनीले किनिदिए मात्रै पनि केही थप पैसा पाइन्थ्यो । तर, सरकारी कम्पनीमा धान पुर्‍याउनै कठिन छ । उनीहरू पनि किसान भएको ठाउँमा आउँदैनन् ।

मैले प्रतिकट्ठा डेढ क्वीन्टल धान फलाएको छु । झट्ट हेर्दा यो धान फलाइ निकै राम्रो हो । तर, धान उत्पादनमा लागेको लागत हेर्दा यहाँ पसिना बगेको हुन्छ तर मूल्य कम छ । मल, बीउ, मेशिन र खेताला खर्च, कीटनाशक औषधि र धान भित्र्याउँदाको खर्च जोड्दा मलाई धानबाट प्रति क्वीन्टलमा ३०० रुपैयाँ हाराहारी मात्रै नाफा बस्ने आशा छ ।

यो भनेको प्रतिकट्ठा ४५० रुपैयाँ नाफा बस्यो भने मलाई एक बिघामा ९ हजार रुपैयाँ नाफा हुन्छ । धानका लागि गरेको मेरो लगानी हिसाब गर्दा एक बिघामा धान रोपेर भित्र्याउँदासम्म करिब ५५ हजार रुपैयाँ खर्च भइसकेको हुने रहेछ ।

अहिले त सरकार पनि तीन तहमा छन् । तर तीनै तहका सरकारले कृषकका दुःखमा साथ दिएका छैनन् । उनीहरूको साथ पाए अझै पनि कृषकले आफ्नो उत्पादन बढाएर नाफा कमाउन सक्ने थिए

५५ हजार खर्च गरेर मैले ९ हजार रुपैयाँ कमाउनुपर्छ । यो वर्ष ६ बिघा जमिनमा धान खेती गरेर मेरो करिब ३ लाख ३० हजार रुपैयाँ खर्च भएको छ । यत्रो खर्च गरेर झण्डै ४ महिनामा गरेको मिहिनेतबाट मैले कमाउने भनेको ५० देखि ५५ हजार रुपैयाँ मात्रै हो ।

धान भित्र्याएपछि लगाउने तरकारी र चैते हरियो मकैबाट मात्रै हो अलिअलि थप लाभ हुने । नत्र धानमा दुःख धेरै आम्दानी कम छ । भनेको समयमा मल, बीउ, मेशिन र श्रमिक पाइँदैन । श्रमिकको ज्याला पनि बढिरहेको छ । खाजा खर्च, मेशिनको खर्च सबै महँगो भएको छ ।

मैले सरकारसँग एक पटक पालिकामार्फत अनुदान पाएको छु । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम मार्फत एउटा चकलाबन्दीमा खेती गर्नु बाहेक मैले थप केही लिएको, पाएको छैन । हाम्रो गाउँ भारतीय सीमाबाट नजिकै छ ।

भारतीय उत्पादनको दबदबाका कारण नेपाली उत्पादनले बजार नै पाउँदैनन् । दुई वर्षअघि मैले यही जमिनमा चैते धान लगाएको थिएँ । सिंचाइका लागि निकै मिहिनेत गरेपछि चैते धान निकै राम्रो पनि फल्यो । बर्खे धान भन्दा उत्पादन पनि निकै राम्रो थियो तर सिंचाइ अभावमा यसलाई निरन्तरता दिन सकिएन ।

सिंचाइ राम्रो भएको भए धानबाट पनि केही लाभ हुनेथियो । अझै मल, बीउ र लागत सस्तो परेको खण्डमा धान खेती गर्न सकिन्छ तर राज्यबाट सुरक्षा छैन । असुरक्षित भएका कारण किसानहरू धान खेती तथा कृषिबाटै पलायन भइरहेका छन् ।

म त ४७ वर्षको भएँ । २० वर्षदेखि यही पेशामा छु । अब छोडेर जाने कहाँ ? लाजगालले पनि जमिन बाँझो नराखौं भनेर मात्रै कृषि गरिरहेको छु । मलाई कृषि प्रोत्साहन गर्न मेरो इच्छा बाहेक अरू केही छैन । सरकारबाट खासै केही पाएको छैन ।

अहिले त सरकार पनि तीन तहमा छन् । तर तीनै तहका सरकारले कृषकका दुःखमा साथ दिएका छैनन् । उनीहरूको साथ पाए अझै पनि कृषकले आफ्नो उत्पादन बढाएर नाफा कमाउन सक्ने थिए । उनीहरूलाई आफ्नो कामको कदर भयो भन्ने हुनेथियो । तर, त्यता कसैको ध्यान छैन ।

(ठाकुरबाबा नगरपालिका-९ बर्दियाका चौधरीसँग अनलाइनखबरका लागि नवीन ढुंगानाले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?