‘हेर्नुस्, मेरो सिद्धान्त भनेको ऋण जतिसुकै लागोस् तर दिन नलागोस् भन्ने हो। मलाई ऋणदेखि लाज र डर दुवै लाग्दैन। मान्छे ऋणले निदाउन दिंदैन भन्छन् आफूलाई त विना ऋण निद्रा नै आउँदैन’, दिलबहादुर हाकाहाकी भन्ने गर्थे।
झुट बोलेर, ललाई–फकाई गरेर, मागेर, बिन्ती बिसाएर, दिक्कै लगाएर, भगवानको कसम खाएर आदि इत्यादि नानाभाँती गरेर दिलबहादुरले गाउँभरिका प्राय: सबैजसोसँग ऋण लिइराखेका थिए। तर तिर्न भने उनी फिटिक्कै जाँगर देखाउँदैनथे।
पैसा माग्नेहरू आउँछन् भनेर दिलबहादुर दिनभर भागी–भागी हिंड्थे।
एकदिनको कुरा हो। ऋण दिने गाउँलेले राति आई उनको घरलाई चारैतिरबाट घेरा हाले। यो थाहा पाएर दिलबहादुर घरको धुरीबाटै हामफाले। चकमन्न अन्धकार रातमा उनी सिस्नोघारी र निगालोघारी हुँदै अन्धाधुन्ध बेपत्तासँगले भागे।
भोलिपल्ट दिलबहादुर एउटा खुट्टा खोच्याउँदै खल्च्याङ–खल्च्याङ गर्ने अवस्थामा चौतारीको चिया पसलमा झुल्किए। उनको कपडा पनि च्यातिएको थियो। अनुहारमा चोटपटक पनि थियो। ज्यादै दयालाग्दो देखिएका थिए उनी। चियापसलका ग्राहकहरूले जिस्काए।
‘अब के भन्नुहुन्छ त दिलबहादुर दाइ ? अझै ऋण लागोस् तर दिन नलागोस् नै भन्नुहुन्छ कि ?’
दिलबहादुर उस्तै आत्मविश्वासका साथ बोले, ‘हो नि भाइ हो ! ऋण लागोस्, दिन नलागोस्। तर भाग्ने बेला चैं जून लागोस्। कुरो बुझ्यौ ?’
चियापसले गलल्ल हाँस्यो। बाँकी सुन्नेहरू आजित भए।
प्रतिक्रिया 4