+
+

कीर्ते गरेर जग्गा बेच्न खोजेको आरोपमा मोरङमा ५ जना पक्राउ

हरि अधिकारी हरि अधिकारी
२०८० मंसिर १० गते १७:३०

१० मंसिर, विराटनगर । सरकारी सही छाप कीर्ते गरेको आरोपमा प्रहरीले मोरङको रतुवामाइ नगरपालिका–४ का पाँच वृद्धवृद्धालाई पक्राउ गरेको छ । संयुक्त नाममा रहेको जग्गा बिक्री गर्ने प्रयोजनका लागि वडा कार्यालयको सिफारिस कीर्ते बनाएको आरोपमा ६० वर्ष माथिका पाँच जना वृद्धवृद्धा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार रतुवामाई नगरपालिका–४ की ६२ वर्षीया झरियादेवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, पैखनलाल राजवंशी, ६४ वर्षीय कन्हरुलाल केवरत र ६५ वर्षीय चेतनलाल राजवंशी पक्राउ परेका हुन् । उनीहरु पाँचै जना जग्गाधनी हुन् ।

शनिबार पक्राउ परेका उनीहरुलाई कीर्ते अभियोगमा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

पक्राउ पर्नेहरुमाथि वडाबाट घरबाटो र जग्गा वर्गीकरणको सिफारिस पत्र बनाउँदा कीर्ते गरेको आरोप छ । रतुवामाई–३ का वडाध्यक्ष देवीलाल ताजपुरियाको हस्ताक्षर, वडा कार्यालयको छाप र लेटरप्याड कीर्ते गरेको, फर्जी चलानी नम्बर राखेर सिफारिस पत्र बनाएको पाइएको डीएसपी दाहालले बताए । वडाध्यक्ष ताजपुरियाले दिएको जाहेरीका आधारमा पाँच जना पक्राउ परेका हुन् । यही घटनामा अरु दुई जना फरार रहेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरुको नाममा चार बिघा सात कट्ठा जग्गा थियो । सो जग्गा इटहरीका एक व्यक्तिले खरिदको प्रक्रिया सुरु गरेका थिए । खरिद बिक्रीका लागि मालपोत कार्यालय रंगेलीमा पुगेको कागजात अध्ययन गर्ने क्रममा कार्यालयले वडा अध्यक्षलाई जानकारी गराएको थियो । वडा अध्यक्ष ताजपुरियाले आफूले सही छाप नै नगरेको बताएपछि यो विषय प्रहरीसम्म पुगेको थियो ।

रतुवामाई नगरपालिका– ४ का वडा अध्यक्ष महावीरप्रसाद गनगाईँका अनुसार अहिले विवाद देखिएको जग्गामा यसअघि पनि विवाद थियो । जग्गा किनबेचका लागि कसैले जग्गा धनी वृद्धवृद्धालाई फसाएको उनको भनाइ छ । ‘पक्राउ परेकाहरु कीर्ते गर्न सक्ने मान्छे होइनन्, यहाँ अरु नै गिरोह लागेको हुनसक्छ’, उनले भने, ‘प्रहरीले अनुसन्धान गरेर विषय बाहिर ल्याउनुपर्छ ।’

प्रहरी स्रोतका अनुसार जग्गाधनीहरु मध्येबाट नै केहीले पैसा नदिई जग्गा नामसारी गरेको भन्दै वडा कार्यालय र मालपोत कार्यालयमा जानकारी गराएपछि विषय बाहिर आएको हो । सोही जग्गा बिक्रीका लागि एक वर्षअघि पनि वडा कार्यालयबाट सिफारिस निकालिएको थियो । तर त्यसबेला जग्गा किनबेच भएको थिएन । जग्गा बिक्रीका लागि मूल्यांकन वर्गीकरण र घरबाटोका लागि वडा कार्यालयको सिफारिस चाहिन्छ । सिफारिस भएपछि मात्रै मालपोत कार्यालयमा किनबेच हुन्छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दाहाल प्रारम्भिक रुपमा जग्गाधनीको संलग्नता देखिएकाले उनीहरुलाई पक्राउ गरिएको बताउँछन् । ‘जाहेरीपछि प्रारम्भिक अनुसधानका क्रममा पाँच जना पक्राउ परेका छन्’, उनले भने, ‘को– को संलग्न छन्, विस्तारै खुल्दैजान्छ ।’

मालपोत कार्यालय रंगेलीले रतुवामाई–३ मा ७–८ जना किसानको संयुक्त नाममा रहेको जग्गालाई व्यक्तिगत नाममा ल्याएर बिक्री गर्नका लागि जग्गा धनीले घरबाटो र वर्गीकरणको सिफारिस कागज संकास्पद देखिएपछि घटना बाहिर आएको बताएको छ ।

गत कात्तिक २ गतेको मिति राखेर कीर्ते सिफारिस तयार पारिएको प्रहरीले बताएको छ । उनीहरुविरुद्ध प्रहरीले कात्तिक १६ गते अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?