+
+

सर्वोत्तम सिमेन्टको सेयरमा ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते ११:२०

११ मंसिर, काठमाडौं । संस्थागत लगानीकर्तालाई सर्वोत्तम सिमेन्टको प्राथमिक सेयरमा ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ कायम भएको छ ।

बुक बिल्डिङ विधिमार्फत पहिलो पटक खुलेको सर्वोत्तमको सेयर संस्थाहरुलाई बाँडफाँटका क्रममा कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएको हो ।

नेप्से स्रोतका अनुसार कम्पनीको मूल्यमा न्यूनतम ४०१ रुपैयाँदेखि अधिकतम ४०६ रुपैयाँसम्मको मूल्यमा सेयर माग गर्दै संस्थाहरुले आवेदन दिएका थिए । कुल ४१ वटा संस्थाले ३६ लाख बढी कित्ता सेयर माग गरेका थिए ।

संस्थाहरुलाई कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएसँगै सर्वसाधारणलाई कम्पनीको मूल्य प्रतिकित्ता ३६१ रुपैयाँ पर्ने भएको छ । बुकबिल्डिङ निर्देशिकाअनुसार संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भइसकेपछि सोको १० प्रतिशत मूल्य घटाएर मात्रै सर्वसाधारणलाई सेयर जारी हुनेछ ।

कम्पनीको सेयरका लागि संस्थाहरुलाई न्यूनतम मूल्य प्रतिकित्ता ४०१ रुपैयाँदेखि अधिकतम ६०१ रुपैयाँ ५० पैसाको रेञ्ज प्रदान गरिएको थियो । तर अधिकांश संस्थाहरुले न्यूनतम मूल्यमै बोलपत्रमार्फत प्रस्ताव गरेका छन् ।

सर्वोत्तमले जारी पुँजी चार अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर पहिले योग्य संस्थागत लगानीकर्तालाई प्रदान हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात ३६ लाख कित्ता सेयर सर्वसाधारणलाई पछि जारी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?