
काठमाडौं । नीरञ्जन पाण्डेको निर्देशनमा तयार भएको छोटो फिल्म ‘उडान’को टिजर सार्वजनिक भएको छ । फिल्ममा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन मोलास्ची, जोन हेर्जलर, युवराज थापा, ओमार कासाराज, राजु गिलानीको मुख्य भूमिका छ ।
क्रिसमसको अवसरमा यो छोटो फिल्मलाई दर्शकले युट्युबमा हेर्नसक्ने जनाइएको छ । फिल्ममा पाँच मिनेटको गीत समेत समावेश छ । जसमा प्रविशा अधिकारी र सनुप पौडेलको स्वर, सुरेश राईको शब्द तथा संगीत छ ।
म्युजिकल सर्ट फिल्ममा त्रिकोणात्मक प्रेम कथालाई उतारिएको निर्देशक पाण्डेले जानकारी दिए । यो फिल्मले अमेरिकामा रहँदै आएका नेपाली युवायुवती र अमेरिकी युवाको प्रेम कथालाई प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ ।
फिल्ममा बलराम बुढाथोकीको छायांकन र निर्देशक समेत रहेका पाण्डेको सम्पादन छ । दशकदेखि ४०० बढी म्युजिक भिडियो, वृत्तचित्र र सर्ट फिल्म खिच्दै आइरहेका बलरामले ‘उडान’लाई पनि खिचेका हुन् ।
यो फिल्मलाई अन्तर्राष्ट्रिय फिल्मी महोत्सवमा लैजाने तयारी समेत भइरहेको निर्देशक पाण्डेले जानकारी दिए । यस्तै उनले फिल्मलाई अमेजन प्राइम भिडियोबाट रिलिज गर्ने तयारी समेत भइरहेको बताए । यो फिल्मलाई अमेरिकन प्रोडक्सन हाउस मुभिज इन्फिनिटी क्रिएसनले निर्माण गरेको हो ।
प्रतिक्रिया 4