+
+

कहिले मुक्त होलान् विपिन जोशी ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते २०:३०

११ मंसिर काठमाडौं। इजराइल-हमासको अस्थायी युद्धविरामसँगै दुवैतर्फबाट बन्धक बनाएकाहरुलाई छोड्नेक्रम जारी छ । हमासले सोमवारसम्म इजराइलबाट बन्धक बनाइएका ५८ जनालाई मुक्त गरिसकेको छ । तर यतिन्जेलसम्म पनि नेपाली युवा विपिन जोशी मुक्त भइसकेका छैनन् ।

बीबीसीका अनुसार हमासले ४० जना महिला र बालबालिका मुक्त गरेको छ । इजिप्ट र हमाससँग भएको छुट्टै सहमतिअनुसार हमासले १७ थाई र एक फिलिपिनो नागरिक पनि बन्धकमुक्त गरेको छ ।

युद्धविराम भए पहिलो दिन शुक्रवार हमासले १३ इजरेली, १० थाई र एक फिलिपिनोसहित २४ र दोस्रो दिन हमासले थप १७ जनालाई मुक्त गरेको थियो । हमासले आइतवारमात्रै १७ जना रिहाई गरेको थियो । इजरेलले पनि प्यालेस्टिनी बन्धकहरुलाई रिहा गरेको छ ।

इजरेल र हमासले चार दिनका लागि युद्ध विराम गर्ने सहमती अनुसार भएको थियो । सहमतिमा दुवैतर्फबाट बन्धक बनाइएकाहरुको मुक्त गर्ने सहमति गरेका थिए ।

हमासले बन्धक बनाइएका भनिएका नेपाली नागरिक विपिन जोशी भने हालसम्म अज्ञात छन् । हमासले बन्धक बनाएकाहरुको आइतबारसम्म गरी तेस्रो पटकमा रिहाई गर्दा पनि विपिनको अवस्थाबारे भने हालसम्म कुनै पनि कुरा बाहिर आउन सकेको छैन ।

गाजास्थित अल-शिफा अस्पतालमा रहेको एउटा भिडियोमा नेपाली पनि रहेको सूचना सार्वजनिक भएको थियो । त्यसमा देखिएका व्यक्ति नेपाली नागरिक नै भएको इजरेली सेनाले दाबी गरेको थियो ।

हमासले बन्धक बनाइएकाहरुलाई मुक्ति गरिरहँदा आइतवार विपिन पनि बन्धकमुक्त हुन सक्ने अपेक्षा थियो । तर आइतवार पनि उनी रिहा भएनन् । परराष्ट्र मन्त्रालयले विपिनको रिहाईबारे अहिलेसम्म कुनै कुरा पनि बाहिर नआएको बताउँछ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हमासले बन्धक बनाएकाहरुलाई छोड्नेक्रम भइरहकाले जोशी पनि रिहा हुन सक्ने बताइन् । उनलाई छिटो भन्दा छिटो मुक्त गराउन इजराइलसँगै अन्य राष्ट्रहरुसँग पनि कूटनीतिक पहल जारी राखेको उनले बताइन् ।

‘हाम्रो नागरिक बन्धक बनाइएका छन्, यसमा हामी गम्भिर छौं’ उनी भन्छिन्, ‘उनलाई रिहा गर्न हरेक खालका कुटनीतिक पहल गरिरहेका छौं । त्यसमा हामीले कुनै कसुर बाँकी राखेका छैनौं ।’ यसअघि नेपालले जोशीको रिहाइका लागि कतारसँग पनि आग्रह गरेको थियो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए ।

गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।  कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का जोशी भने सम्पर्कविहीन भएका थिए ।

गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपालीसहित १ हजार २०० जनाको ज्यान गएको थियो भने एक सय २९ जना नागरिकलाई विदेशी नागरिकलाई बन्धक बनाएर राखेको थियो ।

गाजा क्षेत्रमा भएको आक्रमणमा इजराइलमा १,२०० जनाको ज्यान गएका थियो । इजरेलले गरेको हमलामा १४, ५०० जनाभन्दा बढी मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले विपिनको रिहाईका लागि दूतावासले उच्च तहसँगै प्रयास गरिरहेको बताइन् ।

‘हाम्रो प्राथमिकता उहाँको रिहाईकै लागि भइरहेको छ, छिटै सुरक्षित भेट हुनेमा आशावादी छौं,’ उनले भनिन् । इजरायलबाट आएका प्रतिक्रियाहरु सकारात्मक रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?