१२ मंसिर, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका कारण वीपी राजमार्गको खाल्टे–खुर्कोट खण्डमा केही क्षेत्र डुबानमा पर्ने भएको छ । यसरी डुबान हुने ४२५ मिटर सडक र अन्य संरचनासहित यो राजमार्गको कुल १०६२ मिटर सडक नयाँ बनाउनुपर्ने भएको आयोजनाले जनाएको छ । सिन्धुली र रामेछाप जिल्लामा बनिरहेको यो आयोजनाअन्तर्गत सुनकोशी नदीको पानी मरिण खोलामा फर्काइ बागमती सिंचाइ नहरको क्षमता बढाउने लक्ष्य रहेको छ ।
यसरी फर्काइएको पानीबाट ३१.०७ मेगावाट विद्युत् उत्पादनको समेत लक्ष्य रहेको छ । प्रस्तावित बहुउद्देश्यीय आयोजनाअन्तर्गत सुनकोसी गाउँपालिका-६ र ७, खाँडादेवी गाउँपालिका-४ र मन्थली नगरपालिका-६ मा ३१२ हेक्टर जमिनमा जलासय बन्दैछ । यसको बाँध तथा सेडिमेन्टेसन पोखरी सुनकोशी गाउँपाालिका–६ कानढुंग्रीमा रहनेछ ।
आयोजनाका अनुसार यस क्षेत्रमा वीपी राजमार्गको ४२५ मिटर क्षेत्र डुबानमा पर्नेछ । डुबान क्षेत्रबाहेक प्रवेशमार्ग, डिस्याण्डरसहितका संरचना व्यवस्थापन गर्न वीपी राजमार्गको थप ५७५ मिटर प्रयोगमा आउनेछ । यी लगायतका कार्यलाई वीपी राजमार्गको कुल १०६२ मिटर सडक नयाँ बनाउनुपर्ने भएको आयोजनाले जनाएको छ । सो प्रयोजनका लागि पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) तयार पारी स्वीकृतिका लागि आयोजनाले वन तथा वातावरण मन्त्रालयमा पठाएको छ । यसअघि स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा पहुँचमार्ग र वीपी राजमार्ग स्थान्तरणको आकलन गरिएको थिएन ।
वीपी राजमार्ग तुलनात्मक रुपमा व्यस्त मानिन्छ । सोहीकारण यहाँ यातायात व्यवस्थापनका लागि सुरुमा १ किलोमिटर पहँच सडक निर्माण गर्ने र वीपी राजमार्ग स्थानान्तरण गर्दा पहुँचमार्गलाई ट्राफिक व्यवस्थापनका रुपमा प्रयोग गर्ने योजना आयोजनाको छ । यस क्रममा कुल १२ वटा बिजुलीको पोल स्थानान्तरण गर्नुपर्ने छ । राजमार्ग स्थानान्तरण गर्दा ९४ करोड १६ लाख ७३ हजार रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।
पहुँच मार्ग समेत बनाउँदै
यस आयोजनाको हेडरेस निर्माण गर्न निर्माणस्थलसम्म पहुँचमार्ग बनाउनुपर्नेछ । सो सुनकोशी नदीको दाँया र बायाँ किनारमा पहुँच सडक निर्माण गरिने भएको हो ।
पहुँच सडक निर्माणले आयोजना निर्माणको क्रममा स्थानीय रुपमा सञ्चालित सडक र वीपी राजमार्ग तथा खुर्कोट मन्थली सडकमा हुने अवरोध कम हुने वातावरणीय प्रभाव अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
आयोजनाका अनुसार यहाँ कुल ४.२७६ किलोमिटर पहुँचमार्ग बन्ने भएको छ । यो आयोजनामा प्रस्तावित २८.६२ मेगावाटको आयोजनालाई वृद्धि गरि ३१.०७ मेगावाट पु¥याइएको छ ।
थप संरचना बनाउन १४.०९ हेक्टर वन क्षेत्र प्रयोग
यो आयोजनाको वृद्धि भएको जलविद्युत् आयोजनाको क्षमता, डुबानमा पर्ने वीपी राजमार्ग, पहुँचमार्गसहितका अन्य संरचना बनाउन यो आयोजनालाई थप १४.०९ हेक्टर वन क्षेत्र चाहिने भएको छ ।
प्रतिवेदनअनुसार यस क्षेत्रमा ०.३८ हेक्टर सामुदायिक वन र १३.७१ हेक्टर राष्ट्रिय वन पर्छ । यस क्षेत्रमा ४६ रुख र विभिन्न प्रजातीका २०४ वटा बिरुवाको क्षति हुने भएको छ । यसका लागि १ः१० को अनुपातमा वृक्षरोपण गर्नुपर्ने भएको छ ।
यस्तो छ आयोजनाको विवरण
प्रस्तावित यो आयोजना सन् २०२७ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसअन्तर्गत अहिले हेडरेस टनेल निर्माणको ठेक्का सम्झौता भई काम अगाडि बढेको छ । अहिले कमलामाई नगरपालिका-३ कुसुमटारबाट टनेल निर्माणको काम सुरु भएको छ । असार मसान्तसम्म ७ हजार ५ सय मिटर सुरुङ खन्ने काम सकिएको छ । हेडवर्क्सको निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ ।
आयोजनाको लागत ४६ अर्ब १९ करोड ३९ लाख ६५ हजार ३२१ रुपैयाँ रहेको छ । यसबाट ३१.७ मेगावाट जलविद्युत् उत्पादनको लक्ष्य रहेको छ । यो आयोजनाले १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिंचाइ उपलब्ध गराउने छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4