+

एचआईभीको उपचार गरे एड्सको अवस्थासम्म पुग्दैन

२०८० मंसिर  १३ गते १३:१८ २०८० मंसिर १३ गते १३:१८
एचआईभीको उपचार गरे एड्सको अवस्थासम्म पुग्दैन

कुनैबेला एचआईभी यस्तो रोग थियो, जसबाट संक्रमण हुनेलाई समाजले तिरस्कार गर्ने भय हुन्थ्यो । अर्को यो रोग लागेपछि मरिन्छ भन्ने भय । जसले गर्दा रोगले भन्दा पनि शोकले ज्यान जाने गर्थ्यो ।

तर अहिलेको अवस्था फरक छ । पछिल्लो समय एचआईभीको उपचार सम्भव छ । बेलैमा उपचार भए स्वस्थ भई जीवनयापन गर्न सकिन्छ । त्यति मात्र होइन, नियमित औषधि खाएमा संक्रमितले सन्तान पनि जन्माउन सक्छन् । जसकारण एचआईभी संक्रमितलाई पनि सामान्य रूपमा लिइन्छ ।

एचआईभी कस्तो रोग हो ? यसबाट कसरी बच्ने ? के छ उपचार ? यसबारे चर्चा गरौं ।

ह्युमन इमुनो डिफिसेन्सी भाइरस अर्थात् एचआईभी एक यस्तो भाइरस हो, जसले शरीरमा प्रवेश गरेपछि बिस्तारै प्रतिरक्षा प्रणालीमा आक्रमण गर्छ । र, प्रतिरोधात्मक क्षमता घटाउँदै लैजान्छ ।

यदि एचआईभीको सही समयमा उपचार गरिएन भने यो एड्स (एक्वायर इम्युनोडेफिसियन्सी सिन्ड्रोम)मा परिणत हुन्छ । हाल एचआईभी निर्मूल नै पार्ने कुनै प्रभावकारी उपचार छैन । एकपटक एचआईभी संक्रमित भएपछि उसले जीवनभर योसँगै बाँच्नुपर्छ । तर उचित चिकित्सकीय हेरचाह र उपचारको सहयोगमा एचआईभी संक्रमणलाई नियन्त्रणमा भने राख्न सकिन्छ ।

एचआईभी संक्रमणको कारण

धेरै जनासँग असुरक्षित यौनसम्पर्क राख्दा, एचआईभी संक्रमितसँग यौनसम्पर्क राख्दा, संक्रमितसँग सुईको आदानप्रदान गर्दा एचआईभी सर्छ । संक्रमित आमाबाट बच्चामा पनि सर्ने जोखिम हुन्छ ।

लक्षण

एचआईभीको आफैंमा कुनै लक्षण हुँदैन । तर यसले प्रतिरोध क्षमता घटाइदिने भएकोले अन्य रोगलाई जन्माउँछ । ती रोगको संकेत समय बढेसँगै देखाउँछ ।

भाइरस शरीरमा प्रवेश गरेको १५ देखि २० दिनमा हल्का ज्वरो आउने, रुघाखोकी लगातार लाग्ने जस्ता सुरुवाती लक्षण देखिन्छन । यो आफैं निको हुन्छ । त्यसपछि केही वर्षसम्म पनि लक्षणको रुपमा कुनै संकेत देखाउँदैन । मानिस स्वस्थ नै देखिने भएकाले समयमै पहिचान हुन पाउँदैन । भाइरको संक्रमण भएको ८-१० वर्षपछि रोगसँग लड्ने कोष अत्यधिक मात्रमा घट्दै जान्छ । र, लक्षण पनि बढ्दै जान्छ ।

लगातार ज्वरो र रुघाखोकी लाग्नु, जनैखटिरा निको हुँदै पुनः बल्झिनु, तौल घट्नु र मेनिन्जाइटिस हुन एचआईभीका अन्य लक्षण हुन् ।

पहिचान

एचआईभी र्‍यापिड डाइगोनेस्टिक किटमार्फत रगतको परीक्षणबाट पत्ता लाग्छ । पहिचानपछि अन्य रोगको रिपोर्ट जसरी सजिलै दिइँदैन । किनभने एचआईभी पुष्टि भएको थाहा पाएपछि विक्षिप्त हुन सक्ने भएकाले पहिले परामर्श गरेर मात्र रिपोर्ट दिइन्छ ।

एचआभीको उपचार सम्भव छ ?

एचआईभीको औषधि उपचार सम्भव छ । यद्यपि यो पूर्ण रुपमा निको हुँदैन तर नियन्त्रण भने हुन्छ । यसका लागि आजीवन औषधि खानुपर्ने हुन्छ । नियमित आजीवन औषधि खाने हो मधुमेह र उच्च रक्तचापभन्दा राम्रोसँग यो नियन्त्रण हुने रोग हो । यसमा खानेकुरा बार्नु नपर्ने भएकाले सामान्य व्यक्ति जस्तै जीवन जिउन सकिन्छ । एचआईभीको सुरुको अवस्थामै पहिचान भए एड्स लाग्ने सम्भावना पनि न्यून हुन्छ ।

पहिचान तथा उपचारमा ढिलाइ हुँदा एड्स

एचआईभीको लक्षण ढिला देखाउने र अन्य रोगले पनि समात्ने हुँदा पहिचान छिटो हुन पाउँदैन । पहिचानमा ढिलाइ हुँदा शरीर कमजोर हुँदै जाँदा अन्य अवसरवादी रोगले पिरोल्न थाल्छ, जसलाई एड्स भनिन्छ ।

प्रायजसो विदेश जाने क्रममा र गर्भवती हुँदा यसको परीक्षण गराइन्छ । त्यसबाहेकको अवस्थामा एचआईभीको परीक्षण गराउन आउने संख्या निकै कम हुन्छ । जसले गर्दा संक्रमण एक व्यत्तिबाट अर्कोमा त सर्छ नै, संक्रमितको पनि पहिचान र उपचारमा ढिलाइ हुँदा एड्स भई ज्यान जाने जोखिम बढ्छ ।

एड्सका लक्षण

दुब्लाउँदै जाने, पखाला लाग्ने, लामो समयसम्म ज्वरो आउने, क्षयरोगका लक्षण देखिने, मेनिन्जाइटिस देखिने, मुखमा सेतो दाग आउनेजस्ता लक्षण हुन्छन् ।

एड्स लागेपछि उपचार

एड्स लागेपछिको उपचार भनेको एचआईभी भाइरसले गर्दा अन्य निम्तिएको रोगको उपचार गर्नुपर्छ । यदि अन्य देखा परेका रोग जटिल छैन भने त्यस रोगसँगै एचआईभीको औषधि चलाएपछि बाँच्ने सम्भावना धेरै हुन्छ ।

केही भ्रम र सत्यता

एचआईभीको भाइरस शरीरभन्दा बाहिर दुई मिनेटभन्दा बढी बस्न सक्दैन । जसकारण दाह्री काट्ने ब्लेड जस्ता औजारबाट एक व्यक्तिबाट अर्कोमा सर्ने सम्भावना न्यून हुन्छ ।

धेरैमा के भ्रम छ भने संक्रमितसँग उठबस गर्दा संक्रमण सर्छ । जुन गलत हो । संक्रमितको जुठो खाँदा, सँगै बस्दा, सुत्दा र कपडा प्रयोग गर्दा यो रोग सर्दैन ।

बच्ने उपाय

एचआईभीबाट बच्ने मुख्य उपाय भनेको असुरक्षित यौनसम्पर्क नगर्नु हो । यौनसम्पर्क गर्दा कण्डमको प्रयोग गर्ने, सुईको दुरुपयोग नगर्ने, यौन पेसामा संलग्न जोकोहीले बेलाबखतमा एचआईभी परीक्षण गराउने जस्ता पक्षमा ध्यान दिए एचआईभी-एड्सबाट बच्न सकिन्छ ।

एचआईभी डा. लीना देवकोटा यौनरोग
डा. लीना देवकोटा
लेखक
डा. लीना देवकोटा
चिकित्सक

डा. देवकोटा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा संक्रामक रोग अस्पतालमा कार्यरत छिन् । संक्रामक रोगमा एमबीबीएस गरेकी उनीसँग एचआईभी संक्रमितको उपचार गरेको सात वर्षको अनुभव छ । देवकोटाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९३७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय