+
+

भूकम्प प्रभावित क्षेत्रमा जाडोले थप बिमारी हुने अवस्था आउन सक्छ : संसदीय समिति

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १५:२३

१४ मंसिर, काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रमा जाडोले थप बिमारी हुने अवस्था आउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई लगायतलाई बोलाएर यसबारे ख्याल गर्न समितिले सुझाएको हो । ‘हालसम्म चिसोले १६ जनाको मृत्यु चिसोका कारणले भएको भन्ने आएको छ । यसमा भूकम्पका कारण भएको क्षतिको सम्बन्ध छ’ समिति सभापति दिलकुमारी रावल थापा (पार्वती)ले भनिन् ।

समयमै अस्थायी आवास समेत बन्न नसक्दा बृद्धबृद्धा, बालबालिका, गर्भवती र सुत्केरी महिलाहरु कठिन अवस्थामा रहेको भन्दै उनले चिसोका कारण थप समस्या आउन सक्ने भनी सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

थापाको नेतृत्वमा संसदीय प्रतिनिधिमण्डलले भूकम्प प्रभवित जाजरकोट र रुकुमपश्चिम क्षेत्रको स्थलगत अवलोकन अध्ययन गरेको थियो । अध्ययनपछि समितिले तयार पारेको मस्यौदा प्रतिवेदनमा पनि चिसोका कारण थप समस्या आउन सक्ने औंल्याइएको छ ।

‘जाडोले थप बिमारी हुने अवस्था आउन सक्ने’ मस्यौदा प्रतिवेदनमा भनिएको छ । समस्या समाधानका लागि अस्थायी आवास निर्माणलाई तीव्रता दिनुपर्ने र त्यसका लागि नेपाली सेना सहितको सुरक्षाकर्मी खटाउनुपर्ने सुझाव दिइएको छ ।

बैठकमा सहभागी उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले सेना र सुरक्षा निकायका अन्य जनशक्ति भूकम्प प्रभावित क्षेत्रमा खटाउने निर्णय भइसकेको बताए । उनका अनुसार सुरक्षाकर्मी खटाउने विषय कार्यान्वयनमा अगाडि बढिसकेको छ ।

संसदीय अध्ययन प्रतिनिधिमण्डलले भूकम्प प्रभवित क्षेत्रमा बिमार हुनसक्ने अवस्थालाई ख्याल गर्दै स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीहरु थप गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?