+
+

पार्टीमा क्रियाशील रहेको भन्दै वीर अस्पतालका निर्देशकविरुद्ध उजुरी, कारबाही गर्न पत्राचार

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते २०:५६

१४ मंसिर, काठमाडौं । वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेल नेकपा एमालेमा क्रियाशील रहेको भन्दै कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगले उक्त उजुरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउँदै आवश्यक कारबाही गर्न भनेको छ ।

आयोगले ७ मंसिरमा स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा पौडेल एमालेमा क्रियाशील रहेको र उक्त पार्टीको जनसंगठनको महासचिव रहेको भनी उजुरी आएको उल्लेख गरिएको छ । पत्रमा अगाडि भनिएको छ, ‘निज सन्तोष पौडेल स्वास्थ्य सेवामा कार्यरत कर्मचारी रही हाल वीर अस्पतालको निर्देशकको पदमा कार्यरत रहेको भन्ने जानकारी प्राप्त हुन आएकोमा संलग्न उजुरी यसैसाथ संलग्न गरी आवश्यक कार्यार्थ पठाइएको व्यहोरा अनुरोध छ ।’

पौडेल एमालेको पार्टी सदस्य र सो दल सम्बद्ध जनसंगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका महासचिव रहेको भन्दै निर्वाचन आयोगमा गत असारमा उजुरी परेको थियो ।

राष्ट्रिय सतर्कता केन्द्रले पनि गत कात्तिक १ गते डा. सन्तोष पौडेललाई आवश्यक कारबाहीको लागि स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको छ । पौडेलको ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) को व्यवस्था विपरीत भएको केन्द्रको भनाइ छ । स्वास्थ्य सेवा ऐनको उक्त दफामा कार्यालय प्रमुख भएको र आठौं तह भन्दा माथिको व्यक्ति ट्रेड युनियनमा आवद्ध हुन नपाउने व्यवस्था छ । निर्देशक पौडेल स्वास्थ्य सेवाका दशौं तहका कर्मचारी हुन् ।

‘…निज डा. सन्तोष पौडेलको ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) मा भएको व्यवस्था आकर्षित हुने देखिएकोले प्रचलित कानुनमा भएको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्नु अनुरोध छ’, पत्रमा भनिएको छ ।

पौडेलले भने पार्टीगत संगठनमा क्रियाशील नरहेको दाबी गरे । ‘राजनीतिक इस्यू बनाएर निर्देशकबाट हटाउन सकिन्छ कि भनेर चलखेल गरेका छन्’, डा.पौडेलले अनलाइनखबरसँग भने, ‘मेरो घरपरिवार पार्टीमा क्रियाशील छन् । तर, म पार्टीगत संगठनमा क्रियाशील छैन ।’

डा. पौडेल निर्देशकको पदमा बसेर राजनीति गरेको भए कारबाही भोग्न तयार भएको जिकिर गर्छन् । ‘वीरकै अन्य पदाधिकारीमा भागबण्डामा कांग्रेस भएर आउन हुने । हामी आउँदा चाहिँ राजनीतिकरण गर्नुपर्ने पनि हुन्छ र ?’, पौडेलले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?