+
+

सभापतिले अब प्रधानमन्त्री बन्दिनँ भन्नुपर्छ : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १६ गते १७:४१

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्न नहुने बताएका छन् । सभापति देउवाले आफैंले आफ्ना समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह गर्नुपर्ने बताएका हुन् ।

शनिबार पार्टीको लुम्बिनी प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा शर्माले सभापति देउवा ५/५ पटक प्रधानमन्त्री बनिसकेकाले अब बन्न नहुने बताएका हुन् ।

‘आदरणीय सभापति ५/५ पटक त बनिसक्नुभयो, बाँकी यो सम्मेलनले दिएको राप, ताप र शुभकामना उहाँको शिरमा परोस्, प्रधानमन्त्री बन्ने कुरामा ल अघि बढ मेरा समकालीन साथीहरु या आउ कोही युवा भनेर भन्न सक्ने मनोविज्ञान सभापतिजीले भन्न सक्नुपर्छ’, उनले भने ।

कांग्रेस सभापतिको शालीनता र सहृदयी भावनाका कारण त्यो दिन पनि आउने अपेक्षा गरेको महामन्त्री शर्माले बताए ।

लुम्बिनी प्रदेश सम्मेलनमा महामन्त्री शर्मा, गगन थापा र नेता शेखर कोइरालाले बोल्न बाँकी हुँदैमा सभापति देउवाले आफ्नो भनाइ राखेर बाहिरिएका थिए । शर्माले आफ्नो बोल्ने बेलामा सभापति देउवाका लागि भगवान गौतम बुद्धको आशीर्वाद माग्न चाहेको बताए ।

‘सभापति गइसक्नुभयो । नभए मैले सबैभन्दा बढी भगवान गौतम बुद्धको आशीर्वाद सभापतिको शिरमा माग्नेवाला थिएँ’, उनले भने, ‘…भगवान गौतम बुद्धका थुप्रै कुरा छन्, तर एउटै कुरा थप पुगिदिन्छ भन्ने कामना गर्न खोज्दैथिएँ । त्यो भनेको के हो भने भगवान गौतम बुद्धले वुद्धत्व प्राप्त गर्नुभयो, सत्ताको कुर्सीमा एक पटक पनि नबसिकन !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?