
१७ मंसिर, पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरले अबदेखि भौतिक पूर्वाधार सबै अपांगमैत्री बनाउने बताएका छन् ।
आइतबार ३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा उनले अपांगता भएकाहरुको हकहितका लागि आफूहरु गम्भीर रहेको उल्लेख गरे ।
कार्यक्रममा मेयर आचार्यले अपांगताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्न पनि महानगरले ध्यान केन्द्रित गरेको बताए । उनले भने, ‘महानगरबाट विनियोजन हुने रकमलाई कार्यविधि बनाएर प्राथमिकताका आधारमा विनियोजन गरिनेछ ।’
महानगर उपप्रमुख मञ्जुुदेवी गुरुङले अपांगता भएकाहरुलाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुुपर्ने बताइन् । समाजले अपांगता भएका व्यक्तिलाई गर्ने व्यवहारले धेरै प्रभाव पार्ने उनको भनाइ थियो ।
‘महानगरले अपांगता भएका व्यक्तिहरुका लागि ऐन, कानुन निर्माण गरेको छ’, उपप्रमुख गुरुङले भनिन्, ‘तर, केही कमीकमजोरी भए यस क्षेत्रमा काम गर्ने संघसंस्था र व्यक्तिहरुको सुुझावका आधारमा परिमार्जन गरेर अगाडि जान सकिन्छ ।’ उनले अपांगता भएका व्यक्ति वा परिवार पाल्नुुपर्ने महिलाहरुलाई उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत सस्तो ब्याजमा ऋण उपलब्ध गराउँदै आएको जानकारी दिइन् ।
३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवस ‘दीगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यवद्धता’ नारासहित मनाइएको हो ।
प्रतिक्रिया 4