+
+

साविक विजेता काठमाडौंलाई गोल गर्नै सकस

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते २१:४७

१८ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा साविक विजेता काठमाडौं रेजर्स एफसीले तीन खेल सकिँदा जम्मा ५ अंक जोडेको छ । उद्घाटन खेलमै नयाँ टोली स्पोर्टिङ इलाम एफसीलाई १-० ले पराजित गर्दै सुखद सुरुवात गरेको काठमाडौंले त्यसपछिका दुई खेलमा अंक बाँड्नुपर्‍यो ।

दोस्रो खेलमा चितवन एफसीसँग १-१ को बराबरी खेलेको काठमाडौंले सोमबार त झापा एफसीसँग गोलरहित बराबरीमै चित्त बुझायो ।

दोस्रो खेल बराबरी भएपछि सोमबार झापाविरुद्ध जित निकाल्दै अंकतालिकाको शीर्ष स्थनमा पुग्ने लक्ष्यसहित काठमाडौं मैदान उत्रिएको थियो । टिमको कप्तानसमेत परिवर्तन गरेको थियो । अघिल्ला दुई खेलामा कप्तानी गरेका मार्की प्लेयर हिसुब थपलियाको स्थानमा कुलदीप कार्कीलाई कप्तानी आर्मब्यान्ड दिइएको थियो ।

आपसी छलफलमै कप्तान परिवर्तन गरिएको भन्दै उनले भने, ‘हिसुबलाई दुई खेलमा कप्तानको दबाब भएको जस्तो महसुस भएकाले आपसी छलफलमै परिवर्तन गरेको हो ।’ तर नतिजा भने आएन ।

साविक विजेता भएपनि काठमाडौंले मैदानमा गोल गर्नै संघर्ष गरिरहेको छ । ‘आजको खेलमा जित निकाल्ने लक्ष्यसहित आएका थियौँ । जितसहित टेबल टपमा पुग्ने अवसर थियो’ खेलपछि काठमाडौंका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘पछिल्ला दुई म्याच जस्तै अट्याकिङ थर्डमा तालमेल मिलेन । खेलाडीले बल खुट्टामा राख्ने भन्दा पनि हतारमा खेलेको जस्तो देखियो । ‘

साविक विजेता काठमाडौंले अन्य टिम भन्दा अगाडि  प्रशिक्षण थालेको थियो । प्रिसिजनमा पनि राम्रो गरेको थियो । दुई मैत्रीपूर्ण खेलमा एकजित र एक बराबरी खेलेको थियो । राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेलमा बराबरी खेलेको काठमाडौं उत्साहित थियो । त्यही लय कायम राख्दै लिगमा पनि राम्रो प्रदर्शन गर्ने लक्ष्य थियो । तर मुख्य प्रतिस्पर्धामा भने काठमाडौं खरो उत्रन सकेको छैन ।

‘हामी नै आश्चर्यमा छौं’ प्रशिक्षक महर्जन भन्छन्, ‘प्रि सिजनमा प्रशिक्षणमा राम्रो थियो । त्यसबाट म सन्तुष्ट थिएँ । अहिले पनि खेलाडी राम्रो नभएको होइन, तर टिम गेम चाहिँ देखिएन ।’

उनका अनुसार लिग सुरु हुनुअघि विदेशी खेलाडीहरु राम्रो लयमा थिए, टिम पनि सन्तुलित देखिएको थियो । तर अहिले मैदानमा विदेशी खेलाडीहरूबाट अपेक्षा गरे अनुसारको प्रदर्शन हुन सकेको छैन, जुन उनका लागि चिन्ताको विषय बनेको छ । महर्जन भन्छन्, ‘विदेशी खेलाडीहरुले राम्रो गर्न सकेका छैन । उनीहरुले अवसर मिस गर्दा पनि अरु खेलाडीहरुलाई पनि दबाब हुन्छ ।’

अहिले टिममा मुख्य समस्या भनेकै बल पोसेसन नहुनु र खेलाडीहरु इन्डिभिज्युल भएर खेल्ने रहेको उनले बताए । ‘५-६ पास पनि नहुने, छिटो भन्दा छिटो पास दिने र काउन्टर अट्याक हुने भइरहेको छ’ बालगोपालले भने ।

प्रशिक्षक महर्जनका अनुसार अहिले लिग खेल्ने विदेशी फरवार्डभन्दा विदेशी गोलकिपर र डिफेण्डरहरु राम्रा देखिएका छन् । ‘अट्याकर क्वालिटी अलि घटेर डिफेन्सिभ भएको हो कि ? किनकी ५ टिममा विदेशी गोलकिपर छन्’, उनले अघि भने, ‘ डिफेन्डसमा खेल्ने विदेशीहरु पनि राम्रो छन् ।’

तर अब मैदानमा प्रदर्शन सुधार गर्नुको विकल्प नभएको बताए । ‘यसमा सुधार गर्नु बाहेक अरु विकल्प छैन। अब विदेशी खेलाडी ल्याएर थप्ने समय पनि छैन’, उनले भने । अहिले एनएसएल खेल्ने सबै टिम उस्तै देखिएकोले पाएको अवसरमा त्यसलाई सदुपयोग गर्नुपर्ने महर्जनले बताए ।

किनकी एनएसएलमा गोलको खडेरी पनि छैन, वर्षा पनि छैन । अहिलेसम्म धेरै गोल भएको खेल भनेको जम्मा तीन गोल हो । अधिकांश खेलमा एक वा दुई गोल मात्र भएको छ । अहिलेसम्म भएको १३ खेलमा जम्मा १९ गोल भएको छ । त्यो भनेको औसत १:४६ हो ।

काठमाडौंको हालसम्मको नतिजा

विरुद्ध स्पोर्टिङ इलाम : १-०

विरुद्ध  एफसी चितवन : १-१

विरुद्ध झापा एफसी : ०-०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?