
१९ मंसिर, काठमाडौं । काठमाडौं विश्वविद्यालयको काभ्रेमा सञ्चालित नमोबुद्ध बुद्धिष्ट मेडिटेशन शिक्षा केन्द्र र हङकङमा अवस्थित थ्राङ्गु वज्रयाना बुद्धिष्ट मेडिटेशन केन्द्रबीच सम्झौता भएको छ ।
आगामी फेब्रुअरी २०२४ देखि बुद्धिष्ट अध्ययनका प्राज्ञिक कार्यक्रम चलाउनेगरी आज दुई सभझदारी पत्रमा हस्ताक्षर भएको काठमाडौं विश्वविद्यालयले जानकारी दिएको छ ।
यी दुई संस्थाबीच भएको समझदारी पत्र (मेमोरेन्डम अफ अण्डरस्ट्याण्डिङ्ग) मा विश्वविद्यालयका ग्लोबल इन्गेजमेन्ट डिभिजनका कायमुकायम निर्देशक डा. उद्वव प्याकुरेल र नमोबुद्धस्थित गुम्बाका प्रतिनिधि खेन्पो चोंङ्गीले हस्ताक्षर गरेका छन् ।
यस्तै प्राज्ञिक कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा भएको अर्को सम्झौता (डेफिनिटिस एग्रिमेन्ट) मा स्कुल अफ आर्टस का कायमुकायम डिन एक्कुमाया पुन र हङ्गकङ्ग स्थित थ्राङ्गु बुद्धिष्ट मेडिटेशन केन्द्रका निर्देशक सेम्पो लामा दावा हिटीले हस्ताक्षर गरेका छन् ।
उपकुलपति प्रा. डा. भोला थापाले उक्त सम्झौता गरे पनि कार्यान्वयन गर्न भने चुनौती रहेको बताए । उनले भने, ‘युवापुस्ताले पुराना पुस्तालाई विश्वास गर्छ कि गर्दैन, अनि हामीले गरेका कर्मले उनीहरुको भविष्यलाई जोड्ला कि नजोड्ला भन्नेमा चिन्तन गर्ने अवस्था आएको छ ।’
गुम्बाले जनजीवनसँग जोडिएर जुन कार्य गरिहेको छ, त्यो बिश्वविद्यायलयले आज गर्न नसकेको परिस्थितिमा गुम्बामार्फत औपचारिक शिक्षाको ढोका खोल्ने संयुक्त प्रयासका लागि यस प्रकारका सहकार्य भइरहेको उनले बताए ।
मंगलबार भएको सम्झौतासँगै काठमाडौं विश्वविद्यालयले आफ्ना कार्यक्रम हङ्गकङ्गमा सुरु गर्ने वातावरण तयार भएको विश्वविद्यालयकी प्रवक्ता तथा डिन पुनले बताइन् ।विश्वविद्यालय शिक्षाको अन्तराष्ट्रियकरण गर्ने उद्देश्य अनुरुप देश बाहिरका शहरमा पनि लैजाने वातावरण तयार भइरहेको उपकुलपति थापाले बताए ।
गत अगस्ट महिनादेखि काठमाडौं विश्वविद्यालयको स्नातक तहको योगिक साइन्स एण्ड वेल विइङ्गको कार्यक्रम भारतको तिरुपतिमा शुरु भएको र आगामी फेब्रुअरीबाट अस्ट्रेलियाको सिड्नीमा पनि शैक्षिक कार्यक्रम सुरु गर्नेगरी अगाडि बढिसकेको विश्वविद्यालयले जनाएको छ ।
प्रतिक्रिया 4