+
+

बैंकर र व्यवसायी छुट्याउने हो, स्वार्थ बाझिने गरी सेयर किन्न दिइन्न : गभर्नर अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १७:१०
फाइल तस्वीर

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक बैंकर र व्यवसायी छुट्याउने नीतिअनुसार नै अघि बढ्ने बताएका छन् । बुधबार संसदको अर्थ समितिमा हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर हिमालयन रि-इन्स्योरेन्सले किन्न खोजेको विषयमा सांसद् डा. स्वर्णिम वाग्लेले राखेको प्रश्नमा उनले यस्तो बताएका हुन् ।

हिमालयन रि-इन्स्योरेन्सले बैंकको सेयर किन्ने सम्झौता भएर पूर्वस्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाइएको बैंकले जनाएको छ । तर यस विषयमा आधिकारिक जानकारी नआएको गभर्नर अधिकारीले बताए । ‘तर हामीले बैंकर र व्यवसायी छुट्याउने दिशामा नै जानुपर्ने हुनाले स्वार्थ बाझिने देखियो भने किन्न दिइने छैन,’ उनले भने ।

यसअघि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधनका क्रममा नै बैंकर र व्यवसायी छुट्याउने प्रयास भएको तर नसकिएको उनले बताए ।

पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर हिमालयन रि-इन्स्योरेन्सलाई बिक्री गर्ने सम्झौता भएको छ ।

हिमालयन रि-इन्स्योरेन्सले बैंकको संस्थापक सेयर प्रतिकित्ता १३० रुपैयाँमा खरिद गर्न लागेको हो । राष्ट्र बैंकले स्वीकृति दिएमा हिमालयन रि-इन्स्योरेन्स कम्पनीले बैंकमा रहेको हबिब बैंकको सेयर खरिद गर्ने प्रक्रिया अगाडि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?