+
+

५ कम्पनीको संस्थापक सेयरको ‘लक इन पिरियड’ खुल्दै, मूल्य घट्ने जोखिम

कमल नेपाल कमल नेपाल
२०८० मंसिर २१ गते १८:३५

२१ मंसिर, काठमाडौं । विगत एक महिनामा माउन्टेन इनर्जीको सेयर मूल्य ३८ प्रतिशत घट्यो । कात्तिक २२ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९० रुपैयाँ रहेकोमा मंसिर २१ गते आउँदा ४८३ रुपैयाँमा झरेको छ । एक महिनाको अवधिमा यो कम्पनी धेरै मूल्य घट्नेमा अगाडि रह्यो ।

त्यस्तै एक महिनाको अवधिमा एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य २० प्रतिशतले घटेको छ । कात्तिक २२ गते प्रतिकित्ता ३९१ रुपैयाँ ७० पैसा मूल्य रहेको एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको मूल्य अहिले ३१३ मा झरेको छ ।

समग्र सेयर बजार एक महिनामा जम्मा ०.५ प्रतिशतले घट्दा यी कम्पनीको मूल्य भने धेरैले घट्यो । यी दुवै कम्पनीको मूल्य ठूलो दरमा घट्नुको मुख्य कारण हो, संस्थापक समूहको सेयरमा लक इन पिरियड खुलेर साधारणमा रुपान्तरण भई कारोबार सुरु हुनु । एनआरएनको गत साता र माउन्टेनको संस्थापक सेयरको यसै साता मात्रै लक इन पिरियड खुलेको हो । लक इन पिरियड खुल्नुभन्दा अघि नै ठूला लगानीकर्ताले यसबारे सूचना पाएर सेयर बेच्न थाले, जसले मूल्यमा एक महिनादेखि नै असर पर्‍यो । तर लक इन पिरियड खुलेर मूल्य घटेको विषयमा साधारण लगानीकर्ताले अहिलेसम्म पनि पत्तो पाएकै छैनन् ।

संस्थापकको मात्रै होइन, आयोजना प्रभावित क्षेत्रका स्थानीयको समेत त्यही बेला लक इन पिरियड खुल्ने गरेको छ । ‘संस्थापक र आयोजनाबाट प्रभावित स्थानीयको लक इन पिरियड खुल्ने समय एउटै हुन्छ, लक इन खुलेपछि बिक्रीका लागि एकैपटक सेयर आउँदा आपूर्ति बढ्न गई मूल्यमा असर पार्ने गरेको छ,’ सीडीएस एण्ड क्लियरिङका सीईओ पूर्णप्रसाद आचार्यले भने । यद्यपि लक इन पिरियड खुलेपछि पनि सञ्चालक पदमा रहेकाहरुले भने आफ्नो सेयर बेच्न पाउँदैनन् । उनीहरुले पदबाट बाहिरिएको एक वर्षपछि मात्रै सेयर बेच्न पाउने व्यवस्था छ, तर समग्रमा त्यो सेयर संख्या थोरै हुन्छ ।

आयोजना प्रभावितका हकमा लक इन पिरियड नराख्दा उपयुक्त हुने सीईओ आचार्यको धारणा छ । ‘प्रभावित स्थानीयले पाउने सेयर पनि धेरै हुँदैन, प्रतिव्यक्ति ३०-४० कित्ता सेयर हुने हो, त्यसलाई लक इन पिरियड राख्नु उपयुक्त हुँदैन जस्तो लाग्छ,’ उनले भने । त्यस्तै संस्थापकको सेयर लक इन पिरियड खुल्नुभन्दा केही महिनाअघि यसबारे लगानीकर्तालाई जानकारी दिनुपर्नेगरी धितोपत्र बोर्डले नीतिगत व्यवस्था गरेमा समयमै सूचना प्रवाह हुने उनले बताए ।

‘आरटीएस कम्पनीहरुले हामीलाई पत्र पठाएपछि मात्रै लक इन पिरियड खोल्ने गरेका छौं, आरटीएस कम्पनीले नै कम्तीमा ३-४ महिनाअघि यो सूचना दिनेगरी बाध्यकारी व्यवस्था गर्ने हो भने त्यो सूचना बोर्ड वा हामीले पनि सार्वजनिक गर्न सकिन्छ, यो लगानीकर्तालाई चाहिने अनिवार्य सूचना पनि हो ।’ हाल संस्थापक सेयरको लक इन खुल्नेबारे केहीले मात्रै सूचना लिन सक्ने क्षमता राख्छन्, अधिकांश सर्वसाधारणलाई यसबारे पत्तो नै हुँदैन, तर मूल्य एकाएक घटेपछि उनीहरु पनि प्रभावित हुने गरेका छन् ।

नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले संस्थापक सेयरको लक इन पिरियड खुल्नुअघि नै सार्वजनिक रुपमा सूचना दिने विषयलाई बोर्डमा यसअघि नै छलफल भइसकेको बताए । ‘लक इन पिरियड खुल्नेबारे पहिले नै लगानीकर्तालाई सूचना दिनुपर्नेगरी बोर्डले निर्देशन दिने तयारी भएको छ,’ उनले भने ।

जलविद्युत् कम्पनी मात्रै नभई उत्पादनमूलक कम्पनीहरु, होटल तथा पर्यटन समूहका कम्पनी, व्यापारिक समूहका कम्पनीमा पनि यो व्यवस्था लागू हुने गरेको छ ।

साधारणतयाः साधारण प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको तीन वर्षपछि संस्थापक सेयरको लक इन खुल्छ । अर्थात् तीन वर्षपछि संस्थापक समूहको सेयर र साधारण सेयरको अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर ‘आईएसआईएन’ एउटै गराइन्छ । त्यसपछि संस्थापक र साधारण सेयर एउटै भई साधारणकै मूल्यमा कारोबार सुरु हुन्छ ।

पब्लिक कम्पनीहरुले जारी पुँजीमध्ये सुरुमा बढीमा ४९ प्रतिशतसम्म सेयर सर्वसाधारणलाई जारी गर्छन् बाँकी कम्तीमा ५१ प्रतिशत सेयर संस्थापक सेयर हुन्छ । तीन वर्षपछि केही क्षेत्रका संस्थापकको सेयर साधारणमा रुपान्तरण भई सेयर आपूर्ति दोब्बर हुन सक्छ । जुन आपूर्तिलाई मागले थेग्न सक्दैन ।

लक इन पिरियड खुल्ने समय थाहा नहुँदा पनि सर्वसाधारण लगानीकर्ता मूल्य गुमाउन बाध्य हुने गरेका छन् । संस्थापकको लक इन पिरियड खुल्नेबारे धितोपत्र बोर्ड वा नेप्सेले वेबसाइट तथा अन्य माध्यमबाट तीन महिनाअघि नै सूचना सार्वजनिक गर्नुपर्ने सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेल बताउँछन् । ‘संस्थापक सेयर खुल्नेबारे लगानीकर्ता पनि सचेत हुनुपर्छ, आफूसँग भएका बैंक तथा वित्तीय संस्थाबाहेक अन्य समूहका कम्पनीको संस्थापक सेयरमा लक इन पिरियड खुल्नेबारे जानकार हुनुपर्छ,’ उनी भन्छन् ।

संस्थापकको लक इन पिरियड नखुल्दै बजारमा सेयर आपूर्ति बढ्ने गरेको उनी बताउँछन् । ‘संस्थागत र ठूला लगानीकर्तालाई त योबारे पहिले नै थाहा हुन्छ, सो अनुरुप उनीहरुले लक इन पिरियड खुल्नुभन्दा पहिलेबाटै बेच्न थाल्छन्,’ उनले भने, ‘पहिलेबाटै ठूलो मात्रामा आपूर्ति हुन थालेपछि मूल्य पनि सामान्यतः लक इन खुल्नुअघिबाटै घट्ने गरेको छ ।’

 

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?