+
+

राष्ट्रसंघसँगै किन भिडिरहेछ इजरायल ?

एजेन्सी एजेन्सी
२०८० मंसिर २१ गते २०:३१

एजेन्सी । हमासविरुद्धको युद्धका क्रममा इजरायल बारम्बार राष्ट्रसंघसँग भिडिरहेको छ । बुधबारमात्रै इजरायलले संयुक्त राष्ट्रसंघका मानवीय संयोजक लिन हस्टिङ्लाई आवासीय प्रवेशाज्ञाका लागि अस्वीकार गरेको छ ।

राष्ट्रसंघका मानवीय संयोजकलाई आवासीय प्रवेशाज्ञा अस्वीकार गरिएको प्रष्टिकरण विदेशमन्त्री एली कोहनले एक्समा दिएका छन् । उनले इजरायली मारिएको विषयमा केही नबोलेको तर इजरायलको मात्रै विरोध जनाएकाले प्रवेशाज्ञा नदिएको इजरायली विदेश मन्त्री कोहनको भनाइ छ ।

‘हमासले १२ सय इजरायालीको बर्बरतापूर्वक हत्या गर्दा उनले कुनै विरोध जनाएनन् । तर एउटा लोकतान्त्रिक राज्यले आफ्ना नागरिकका ज्यान बचाउनका निम्ति गरेको जवाफी कारबाहीलाई लिएर उनले इजरायलको निरन्तर विरोध जनाएका छन् । उनी राष्ट्रसंघमा काम गर्नका निम्ति योग्य छैनन् र इजरायल प्रवेशका लागि त झनै अयोग्य छन्’, हस्टिङले उल्लेख गरेका छन् ।

राष्ट्रसंघीय मानवीय संयोजक हस्टिङको पछिल्लो  अभिव्यक्तिका कारण इजरायल राष्ट्रसंघसँग झनै चिढिएको छ । उनले भनेकी थिइन्, ‘गाजामा मानवीय सहायता निशर्त पुर्‍याउनैपर्छ । मानवीय सहायताका लागि कुनै शर्त छैन ।’

उनले मानवीय सहायतामा अवरोध पुर्‍याउने काम कहीँ कतैबाट हुन नहुने पनि बताइन् । गाजाको अवस्था निकै दयनीय भएको उनको भनाइ छ । इजरायलले फेरि गाजामा हमला गर्न लागेको सन्दर्भलाई उल्लेख गर्दै उनले भनेकी छिन्, ‘यो भन्दा पनि अझै नारकीय स्थितिको अवस्था आउनसक्छ । त्यसबखत मानवीय अभियान जवाफ दिनसक्ने अवस्थामा हुनेछैन ।’

राष्ट्रसंघ एक पक्षीय रहेको भन्दै इजरायल त्यस संस्थासँग भिडिरहेको अन्य घटनाक्रमले पनि प्रस्ट पार्छ । राष्ट्रसंघलाई उसले गरेको व्यवहार असमान्य छन् । हस्टिङलाई इजरायलले कब्जामा लिएको प्यालेस्टाइन क्षेत्रमा प्रवेश गर्न नदिनु राष्ट्रसंघसँग उसको तिक्तताको सम्बन्धलाई थप बल पुर्‍याउँछ ।

अक्टोबर २५ मा राष्ट्रसंघका लागि इजरायली प्रतिनिधि गिल्ड एर्डनले इजरायलले राष्ट्रसंघका प्रतिनिधिलाई प्रवेशाज्ञा नदिने बताएका थिए । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले इजरायलको हमलाअघि दक्षिण गाजामा रहेका व्यक्तिहरुलाई त्यहाँबाट हटाउनुपर्ने बताएसँगै एर्डनले राष्ट्रसंघ इजरायलप्रति पक्षपाती रहेको टिप्पणी गरेका थिए ।

राष्ट्रसंघका महासचिव गुटेरसले इजरायलमा हमासको आक्रमण ५६ वर्षदेखिको उकुसमुकुसको परिणाम रहेको बताएपछि इजरायल झनै आक्रोशित बनेको हो । १८ अक्टोबरमा इजरायलले गाजाको अहली अरब अस्पतालमा हमला गरेपछि तत्कालै युद्धविरामको माग गर्दै इजरायल सामूहिक दण्डमा उत्रिएको भन्दै विरोध जनाएका थिए । नोभेम्बर १४ मा इजरायलका विदेशमन्त्री कोहेनले गुटेरस राष्ट्रसंघको नेतृत्वका लागि योग्य नरहेको टिप्पणी गरेका थिए ।

राष्ट्रसंघीय निकायले इजरायलीलाई बन्दी बनाएको आरोप

इजरायलले शरणार्थीहरुका लागि राष्ट्रसंघीय राहत संस्थामा आवद्ध शिक्षकहरुले इजरायलीलाई बन्धक बनाएको आरोप लगाएको थियो । यो आरोप इजरायली पत्रकार अल्मग बोकरले लगाएका थिए । २९ नोभेम्बरमा बन्दीहरु रिहा हुँदा ती मध्येको एक यही संस्थाले सञ्चालन गरेको विद्यालयमा पढाउने शिक्षकबाट रिहा भएको जिकिर गरेका थिए । तर राष्ट्रसंघीय निकायले उक्त आरोपमा कुनै सत्यता नरहेको बताएको थियो ।

यो आरोप पुष्टिका लागि चुनौती दिँदा समेत इजरायल र ती पत्रकारले ठोस प्रमाण दिन सकेका छैनन् । यति मात्रै होइन राष्ट्रसंघीय निकायले प्यालेस्टाइन शरणार्थीका निम्ति सञ्चालन गरेका विद्यालयमा पनि इजरायलले बमबारी गर्‍यो ।

१८ नोभेम्बरमा अल फाखुरा विद्यालयमा आक्रमण हुँदा ५० जना मारिएका थिए भने २३ नोभेम्बरमा अबु हुसेन विद्यालयमा भएको आक्रमणमा २७ जना मारिए ।

राष्ट्रसंघीय राहत संस्थाको ४७ भवन इजरायली हमलाका कारण ध्वस्त भएका छन् । युद्धका कारण शरणार्थी बनेका १२ लाख मानिसलाई यस संस्थाले सहायता दिइरहेको छ । इजरायलले हमास केन्द्रित हमला गर्दा राष्ट्रसंघीय सहायता संस्थाका १ सय ३० कर्मचारी मारिएका छन् । युद्धमा राष्ट्रसंघका कर्मचारी मारिएको संख्या यो नै सबैभन्दा ठूलो हो।

इजरायलको अबको निशाना विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनलाई पनि इजरायलले निशाना बनाइरहेको छ । त्यसका प्रमुख टेड्रोस अदानम गेब्रेसियसको अभिव्यक्तिलाई  लिए इजरायल आक्रोशित भएको हो।  गत सोमबार एक्समा विश्व स्वास्थ्य संगठनले पठाएका स्वास्थ्य सामग्री सहायता इजरायली फौजले फिर्ता लान निर्देशन दिएकोबारे एक्समा लेखेका थिए ।

‘इजरायली फौजको यनो निर्देशन तत्कालै फिर्ता लिँदै निहत्था नागरिकको जीवन, सार्वजनिक सम्पत्ति, अस्पताल र मानवीय सहायता संस्थालाइ कुनै पनि अवरोध नपुर्‍याउन र उनीहरुको सुरक्षामा ध्यान दिन हामी अपिल गर्दछौँ’, उनले लेखेका थिए ।

इजरायलले उक्त आरोप अस्वीकार गर्दै सत्य कुरा मात्रै बोल्दै विश्व स्वास्थ्य संगठनका प्रमुखलाई चेतावनी दियो । इजरायलले राष्ट्रसंघका लागि प्यालेस्टाइन प्रतिनिधि तथा इजरायली नीतिका आलोचक फ्रान्सेस्का अल्बानिजलाई पनि आफ्नो निशाना बनाइरहेछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?