+
+

बेलायत रोजगारीमा जान ४५ नर्स छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १८:१३

२२ मंसिर, काठमाडौं । बेलायतमा रोजगारीका लागि ४५ जना नेपाली नर्स छनोट भएका छन् । ६० जना नर्स अन्तर्वार्तामा सहभागी भए पनि ४५ जना मात्र छनोट हुन सफल भएका हुन् ।

हाललाई प्रयोगका रुपमा नेपालबाट १०० जना नर्सलाई पठाउने गरी बेलायत सरकारसँग सन् २०२२ को अगस्टमा समझदारी भएको थियो । सोही समझदारी अनुसार बेलायत जान चाहने नर्सहरूका लागि सरकारले गत जुलाई २० मा सूचना जारी गरी आवेदन माग गरेको थियो । जसमा ७७१ जनाले फारम भरे पनि अधिकांशले आवश्यक सबै कागजपत्र पेश नगरेको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

आवश्यक कागजात पेश गरेका ७८ जनाको आवेदन स्वीकृत भएकामा योग्यता, क्षमता र अनुभवको मूल्यांकन गरेर अन्तर्वार्ताका लागि ७१ जनाको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो । जसमध्ये ६० जना अन्तर्वार्तामा सहभागी भएका थिए । उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो ।

आवेदन दिँदा कम्तीमा दुई वर्षको अनुभव, अंग्रेजी भाषा परीक्षा पास गरेको प्रमाणपत्र पेस गर्नुपर्छ । तर, अधिकांश नर्सलाई भाषाको मापदण्ड पूरा गर्न समस्या परेको देखिएको विभागका अधिकारीहरु बताउँछन् ।

‘आवेदन दिएकामध्ये बेलायतले खोजेको मापदण्ड अनुसारका गुणस्तरका नर्स भेटिएनन् । पुराना नर्समा भाषाको समस्या र नयाँ नर्समा कार्यानुभवको समस्याले मागेको जति आवेदन संख्या पनि पुगेन’, विभागका निर्देशक गोपालराज तिमल्सिनाले अनलाइनखबरसँग भने ।

नेपाल र बेलायतबीच भएको समझदारी अनुसार आवेदन दिन कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्छ । दुई वर्षको कार्य अनुभव (वर्किङ एक्सपिरियन्स) पनि अनिवार्य रूपमा पेश गर्नुपर्छ ।

नर्सहरूले इन्टरनेशनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) मा कम्तीमा ७ अंक ल्याउनुपर्छ । लेख्ने, बोल्ने, सुन्ने र पढ्ने चारवटा मापदण्डमा अंक दिइने आईईएलटीएसमा लेख्नेबाहेक सबैमा ७ अंक ल्याउनुपर्छ ।

बेलायतस्थित ह्याम्पसायर हस्पिटल एनएचएस फाउण्डेशन ट्रष्टका नर्सहरूले नेपाली नर्सको अन्तर्वार्ता लिएका थिए ।
सफल नर्सहरूलाई छिट्टै उनीहरूको छनोटको बारेमा सूचित गरिने विभागले जनाएको छ । सन् २०२४ को पहिलो त्रैमासदेखि छनोट भएका नर्स बेलायत जान थाल्नेछन् ।

छनोट भएर गएका नेपाली नर्सले तीन महिनाको एउटा तालिम लिनुपर्नेछ । उक्त तालिमबाट योग्य बनेपछि मात्र नेपाली नर्सहरूले त्यहाँका स्वास्थ्य संस्थामा काम गर्न पाउने नियम छ । त्यस अवधिमा पनि उनीहरूले पारिश्रमिक भने पाउनेछन् ।

नेपाली नर्सहरूले पनि बेलायतमा दर्ता भएपछि त्यहाँका दर्ता भएका नर्सले बराबर तलब पाउनेछन् ।

सम्झौता अनुसार उनीहरुको तलब वार्षिक २७ हजार पाउन्ड (करिब साढे ४३ लाख रुपैयाँ) देखि ३२ हजार पाउन्ड (करिब साढे ५१ लाख रुपैयाँ) सम्म पाउन सक्छन् । त्यसबाहेक उनीहरूले २७ दिनको वार्षिक र सार्वजनिक बिदा पाउनेछन् ।

हेर्नुहोस् विभागको प्रेस विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?