+
+

अराजकताविरुद्ध सबै दल एक ठाउँमा छौं : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १८:४५

२२ मंसिर, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान विरोधी क्रियाकलापकाविरुद्ध सबै राजनीतिक दल एक ठाउँमा उभिएको बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै उनले अराजकताविरुद्ध सबै दल एक भएको बताएका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्ध हुने अराजक र अतिवादी क्रियाकलापविरुद्ध हामी एक छौं भन्ने कुरा हामीले प्रतिबद्धता गरेका छौँ’, प्रचण्डले भने, ‘अराजकता र वितण्डावादी क्रियाकलाप परास्त गर्नेगरी आवश्यक तयारी पनि भएको छ ।’

उनले केही महिनाभित्र देशको अर्थतन्त्रले समेत लय समात्ने दाबी गरेका छन् । नेपाल राष्ट्रबैंकले शुक्रबार ल्याएको मौद्रिक नीति समीक्षाले समेत अर्थतन्त्र सुधार गर्न भूमिका खेल्ने प्रधानमन्त्रीको विश्वास छ ।

प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर अस्वभाविक ढंगले बिक्री भएको देखाएर नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्न खोजिएको बताए । ‘एनसेलको खरिद बिक्री केही अस्वभाविक देखिएको छ । राजश्व छल्न खोजिएको, केही वर्षपछि एनसेल नेपालकै स्वामित्वमा आउने सहमतीलाई तोड्न खोजिएको जस्तो यो विषयमा छानबिन हुन्छ नै’, प्रचण्डले भने ।

सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरेका प्रधानमन्त्री दाहालले गेटामा चाडै ६ सय शय्याको शिक्षण अस्पतालसहित देशकै पहिलो शहीद दशरथचन्द चिकित्सा विज्ञान विश्वविद्यालय पाउन लागेको समेत बताएका छन् ।

‘गेटामा चिकित्सा विज्ञान विश्वविद्यालय बन्ला कि नबन्ला भन्ने आशंका अब कसैले नगर्नु होला । विश्वविद्यालयभित्र ६ सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुनेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘सुदूरपश्चिम प्रदेशले चिकित्सा विज्ञान विश्वविद्यालय पाउने शौभाग्य प्राप्त गर्दैछ ।’

शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक अहिले राष्ट्रिय सभामा छलफलका क्रममा रहेको बताउदै चाडै पारित गरेर मेडिकल कलेज सञ्चालन गर्ने अवस्थामा पुग्ने दाबी गरे ।

कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणबारे भारतसँग ठोस सहमति भइसकेको, पञ्चेश्वर जलविद्युत परियोजना अघि बढाउने सहमति  भइसकेकाले चाडै काम अघि बढ्ने प्रधानमन्त्रीको भनाइ छ । ‘बैतडीको झुलाघाट र परशुराममा मोटरेबल पुल बनाउने निर्णय पनि भएको छ’ उनले भने ।

कैलाली उद्योग वाणिज्य संघले प्रधानमन्त्री प्रचण्डलाई १० किलोको माला लगाइदिँदै सम्बोधन हुन बाँकी १० वटा माग बुझाएको छ ।

संघका अध्यक्ष पुष्पराज कुँवरले बुझाएको मागपत्रमा गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय भन्सार नाका बनाउनुपर्ने, सुदूरपश्चिम महोत्सव स्थलको निर्माण गरिनुपर्ने, प्रदेशमा उद्योग धन्दालाई प्रोत्साहन गर्न १० वर्षसम्म नयाँ उद्योगबाट कर नलिने घोषणा गर्नुपर्ने, प्रदेशमा विशेष औद्योगिक क्षेत्रको स्थापना, चीनसँग नाका खुलाउनुपर्ने, पश्चिम सेती जलविद्युत परियोजना निर्माण लगायतका बुँदा राखिएको छ ।

१७ वर्षदेखि आयोजना गर्दै आएको महोत्सवमा उद्योग वाणिज्य संघले पहिलो वर्ष २१ बुँदे मागसहित प्रमुख अतिथिलाई २१ किलोको माला लगाउने गरेको थियो । तर पाँचवटा माग पूर्ण र ६ माग आशिंक रुपमा सम्बोधन भएकाले १० बुँदे माग मात्रै प्रधानमन्त्रीलाई बुझाइएको अध्यक्ष कुँवरले बताए ।

प्रधानमन्त्रीले उद्घाटन गरेको महोत्सव अगामी पुष २ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?