+
+

सुदूरपश्चिममा ४ महिनामा जम्मा ८ प्रतिशत बजेट खर्च

जनक विष्ट जनक विष्ट
२०८० मंसिर २५ गते १५:१६

२५ मंसिर, धनगढी । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा सुदूरपश्चिम प्रदेश सरकारले जम्मा ५ प्रतिशत मात्र बजेट खर्च गरेको पाइएको छ ।

प्रदेश सरकारले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएकामा आर्थिक वर्षको चार महिना सकिँदा जम्मा दु्ई अर्ब ४० करोड ४९ लाख ५२ हजार रुपैयाँ खर्च गरेको छ । जुन कुल बजेटको जम्मा ८.२५ प्रतिशत हो ।

पुँजीगतर्फ १७ अर्ब दुई करोड २३ लाख ६० हजार रुपैयाँ बजेट छुट्याएकामा साउनदेखि कात्तिक मशान्तसम्मको अवधिमा ८९ करोड ४५ लाख मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । जुन कुल पुँजीगत खर्चको जम्मा ५.२५ प्रतिशत हो ।

चालुतर्फ ११ अर्ब ९४ करोड ३५ लाख ७२ हजार विनियोजन गरेकामा एक अर्ब ५१ करोड तीन लाख ९१ हजार रुपैयाँ खर्च गरेको छ । जुन खर्च चालुतर्फ कुल विनियोजित बजेटको १२ दशमलब ६४ प्रतिशत हो ।

गत आर्थिक वर्ष २०७९/८० को यो अवधिमा पनि प्रदेश सरकारको पुँजीगत खर्चको दर यस्तै थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गत वर्ष पहिलो चौमासिकमा पुँजीगत तर्फ २४ अर्ब १४ करोड ८० लाख ७१ हजार विनियोजन गरिएकामा एक अर्ब २३ करोड २० लाख तीन हजार ९६९ रुपैयाँ खर्च  भएको थियो ।

चालुतर्फ कुल १२ अर्ब २९ करोड ८३ लाख ९४ हजार विनियोजन गरेकोमा एक अर्ब ९६ करोड ५२ लाख ४५ हजार खर्च गरेको थियो ।

 कुन मन्त्रालयको खर्च कति ?

चालु आर्थिक वर्षमा प्रदेशमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट खर्च गरेको छ । मन्त्रालयले १२ अर्ब ६८ करोड ९८ लाख १६ हजार रुपैयाँ कुल बजेटमध्ये चार महिनामा ८२ करोड ३६ लाख ९४ हजार रुपैयाँ  खर्च गरेको छ ।

मन्त्रालयले चालुतर्फ ११ करोड ३४ लाख ६८ हजार ७५१ रुपैयाँ र पुँजीगततर्फ ७१ करोड दुई लाख २६ हजार १०५ रुपैयाँ खर्च गरेको छ । प्रदेशमा सबैभन्दा कम बजेट खर्च प्रदेश सभा सचिवालयको रहेको छ ।

१९ करोड आठ लाख १४ हजार रकम विनियोजन भएकामा सचिवालयले तीन करोड ६० लाख ५८ हजार छ सय ६६ रुपैयाँ खर्च गरेको छ । सचिवालयले चालुतर्फ तीन करोड ५९ लाख ९३ हजार छ सय ६६ र पुँजीगततर्फ ६५ हजार खर्च गरेको छ ।

सामाजिक विकास मन्त्रालयमा चालु आर्थिक वर्षमा पाँच अर्ब ३० करोड ५९ लाख ५२ हजार रकम विनियोजन गरेकामा कात्तिक मशान्तसम्म ६४ करोड ६० लाख ७१ हजार मात्र खर्च गरेको छ । सो मन्त्रालयले चालुतर्फ ५२ करोड ८५ लाख १८ हजार र पुँजीगततर्फ ११ करोड ७५ लाख १३ हजार गरेको छ ।

भूमि व्यवस्था तथा कृषि मन्त्रालयले एक अर्ब ५९ करोड चार लाख छ हजार बजेटमध्ये २० करोड २८ लाख ५६ हजार खर्च गरेको छ । लेखा नियन्त्रक कार्यालयका अनुसार सो मन्त्रालयले चालुतर्फ १५ करोड ९० लाख ४६ हजार खर्च गर्दा पुँजीगततर्फ भने चार करोड ३८ लाख १० हजार रुपैयाँ खर्च गरेको छ ।

विगतका वर्षमा जस्तै सुदूरपश्चिम प्रदेशमा बजेट खर्चको अवस्था सन्तोषजनक देखिएको छैन । प्रदेश सरकार आर्थिक वर्ष सुरुदेखि नै विकास, निर्माणका काम अघि नबढाउदा पुँजीगत बजेट खर्चमा सुधार हुन नसकेको जानकारहरु बताउँछन् ।

प्रदेशको आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सिद्धराज जोशीले मन्त्रालयले रातो किताबमा भएका योजनाको समयमा कार्यान्वयन सुरु नगरेको बताए ।

‘खरिद प्रक्रिया, योजनाको ठेक्का तथा सम्झौता अघि नबढाउनु, मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारी अभाव हुनु लगायतका कारणले समस्या भएको हो’, जोशीले भने, ‘अर्को चौमासिकमा खर्चको अवस्था सुधार हुन्छ होला ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?