+
+

चिकित्सा शिक्षा आयोगको निर्देशकमा दलीय भागबन्डा नगर : डा. गोविन्द केसी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १२:२८

२६ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका निर्देशकहरु छनोटमा योग्यलाई पाखा लगाएर निजी संस्थामा काम गरिरहेका व्यक्तिलाई सर्टलिस्ट गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘एउटै निजी संस्थामा अहिले नै काम गरिरहेका धेरै जनालाई जानाजान सर्टलिस्ट गरेको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ’, केसीले सोमबार विज्ञप्ति मार्फत भनेका छन् । त्यसो नहोस् भनेर बारम्बार चेतावनी दिंदा पनि खुलेआम त्यसरी सर्टलिस्ट गरिनु गलत हो भन्दै केसीले आयोगका निर्देशकहरु नियुक्ति दलीय भागबन्डाको विषय बनाउन नहुने पनि बताएका छन् ।

‘सरकार र राजनीतिक दलका नेताहरुले आयोगका निर्देशकहरुको नियुक्तिलाई पनि दलीय भागबन्डाको विषय बनाउन र आफ्ना कार्यकर्ता भर्ती गर्न नाजायज हस्तक्षेप र चलखेल गरिरहेको देखिन्छ’, केसीले भनेका छन्, ‘त्यस्तै चलखेल अन्तर्गत नियुक्तिको प्रक्रियालाई अहिले न्यायालयमा पुर्‍याएर अलपत्र पारिएको छ ।’

उच्च अदालतले समेत विषयवस्तुको संवेदनशीलता बुझ्न नसकेको भन्दै केसीले आयोगमा हुने कुनै पनि नियुक्तिमा यस्तो चलखेल स्वीकार्य नहुने बताएका छन् । छनोट समितिका सदस्यको स्वार्थ होस् वा दल र नेताहरुको, कुनै पनि स्वार्थ पदाधिकारी नियुक्तिमा हुन नहुने केसीले बताएका छन् ।

‘त्यसो नगरिएमा दोषी व्यक्तिहरुलाई जवाफदेही बनाउन जुनसुकै कदम चाल्न हामी बाध्य हुने जानकारी गराउँछौं’, केसीले चेतावनी दिएका छन् ।

नियुक्तिको प्रक्रिया अघि बढाउँदा कुनै पनि हालतमा दलीय भागबन्डा वा स्वार्थको द्वन्द्व नहुने सुनिश्चित गर्न तथा योग्यतम उम्मेदवारलाई मात्रै नियुक्त गर्न केसीले माग गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले आफ्नो मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज र एक बोर्ड निर्देशक गरी चार जना निर्देशक माग गरेको थियो । जसमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल संयोजक र प्रा.डा रमेशकान्त अधिकारी र प्रा.डा. बुद्धिबहादुर थापा सदस्य रहेको सिफारिस समितिले १२ जनाको नाम सिफारिस गरेको थियो ।

जसमा डा. कृष्णसागर शर्मा, प्रा.डा गुरुप्रसाद खनाल, प्रा.डा दिनेशकुमार लम्साल, डा. भीमसिंह त्रिकरी, प्रा. डा वन्दना गुरुङ शर्मा, डा. विजयचन्द्र आचार्य, .प्रा. डा सरला श्रेष्ठ छन् । त्यसैगरी, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य, प्रा.डा. सुरज बज्राचार्य, प्रा.डा. स्वयंप्रकाश पण्डित, हरिप्रसाद बस्याल पनि प्रारम्भिक छनोटमा परेका छन् । तर उनीहरुको प्रस्तुतीकरण र अन्तर्वार्ता भने रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?