
२६ मंसिर । प्रतिष्ठित अमेरिकी विश्वविद्यालय हावर्डकी अध्यक्ष क्लाउडिन गेमाथि राजीनामाको दबाब बढेको छ । विश्वविद्यालयमा यहुदी विरोधी भावना बढ्दै गएको भन्दै संसदीय समितिले सोधपुछमा बोलाएसँगै उनीमाथि राजीनामाको दबाब बढेको हो ।
यहुदीमाथि नरसंहारको माग गर्ने विद्यार्थीलाई अनुशासनमा राख्न नसकेको विषयमा उनीमाथि सोधपुछ गरिएको थियो । त्यस्तो अभिव्यक्ति दिने विद्यार्थीलाई अनुशासनमा राख्न नसकेको भन्दै उनलाई माफी मगाइएको थियो ।
संसदीय समितिमा सोधपुछका क्रममा उनलाई रिपब्लिकन सांसद एलिस स्ट्फेनिकले सोधेकी थिइन्-‘यहुदीहरु माथि नरसंहार हुनुपर्ने आवाज हावर्डको बदमासी र उत्पीडनविरुद्धको आचारसंहिता विपरीत हो वा होइन ?’
यसको जवाफमा अध्यक्ष गेले भनेकी थिइन्, ‘यो कुरा सन्दर्भमा भरपर्छ ।’
यही कारणले गर्दा सिनेटका ७० जना सांसदले उनको राजीनामा माग गरेका छन् । राजीनामा माग गर्दै लेखिएको पत्रमा भनिएको छ, ‘यहुदीको नरसंहारको आवाजलाई सिधै गलत भन्न नसक्ने र त्यसको परिणाम कडा हुन्छ भनेर घोषणा गर्न नसक्ने अध्यक्षको नेतृत्वमा यहुदी र इजरायली विद्यार्थी तथा कर्मचारीले सुरक्षित महशुस गर्लान् भन्ने कल्पनासम्म गर्न सकिँदैन ।’
तर अध्यक्षको समर्थनमा पनि र्याली निकालिएको छ । विश्विद्यालय प्रशासन तथा बहुसंख्यक विद्यार्थी अध्यक्षको पक्षमा रहेका छन् ।
यता गेले भने शब्दका कारण सिर्जित संकटले पछुतो मात्रै हुने भन्दै माफी मागेकी छिन् । ‘म माफी माग्न चाहन्छु । शब्दका कारण सिर्जित दु:ख वा संकटले पछुतो मात्रै निम्त्याउने रहेछ’, उनले भनेकी छिन् ।
उनी विश्वविद्यालयको अध्यक्षमा कायमै रहने वा नहरने भन्ने निर्णय भने १३ सदस्यीय हावर्ड संस्थानले गर्नेछ । सिनेटमा उनको राजीनामा माग भएसँगै विश्वविद्यालयका विभिन्न संकायका सदस्यले उनको समर्थनमा हस्ताक्षर गरेका छन् । राजनीतिक कारणले गर्दा उनको बहिर्गमन हुन नहुने र हावर्डमा शैक्षिक स्वतन्त्रता काय हुनुपर्ने माग उनीहरुको छ ।
गेको पक्षमा हस्ताक्षरकर्ता एलिसन फ्र्यान्क जोनसोनले भनेका छन्, ‘विगतमा उनीसँग असहमति राख्ने सहकर्मी तथा प्रशासन पनि अहिले उनको पक्षमा छन् । हावर्डका कुनैपनि कर्मचारीले उनलाई गुमाउन चाहेका छैनन् ।’
हावर्डको ३६८ औँ वर्षको इतिहासमा पहिलो अश्वेत अध्यक्ष चुनिँदै गत जुलाइमा उनले इतिहास रचेकी थिइन् ।
अध्यक्ष गेको अभिव्यक्तिका कारण विश्वविद्यालयले दाताहरुबाट करिब १०० करोड अमेरिकी डलर सहयोग गुमाएको छ ।
अमेरिकाको क्याम्पसमा प्यालेस्टाइन र इजरायल समर्थकहरुको प्रदर्शन बढिहरँदा त्यसले इस्लामोफोबिया र यहुदी विरोधी गतिविधि बढाउन सक्ने भन्दै चिन्ता व्यक्त भइरहेको छ ।
प्रतिक्रिया 4