+
+
विचार :

विदेश जानेले नेपाली समाजमा पारेको प्रभाव

पछिल्लो ३५ वर्षमा दुई मुख्य प्रवृत्ति देखिए— कमाउन विदेश जाने, द्वन्द्वका कारण गाउँबाट शहर छिर्ने । यसरी जनसंख्या चलायमान अनि सूचनाप्रविधिका कारण चेतनाको विस्तार तीव्र गतिमा भयो । समाज र राजनीतिमा अहिले देखिएको परिवर्तनको कारण यही हो ।

रामचन्द्र उप्रेती रामचन्द्र उप्रेती
२०८० मंसिर २६ गते १५:३८

नेपाली समाजको ३०/३५ वर्ष (२०४७–२०८०) को अवधिलाई मनन गर्दा यो समाज तीव्र गतिमा उथलपुथल अर्थात् अस्थिर अवस्थाबाट गुज्रिएको पाउँछौं ।

राजनीतिक रूपमा ठूलो उथलपुथल भयो । यसमा हामी धेरै सहभागी भयौं, साक्षी बन्यौं । यो आलेखमा राजनीतिक रूपमा भएको परिवर्तनका बारेमा चर्चा नगरी विदेश जाने नेपालीको कारण आर्थिक एवम् सामाजिक रूपमा भएको परिवर्तन र त्यसका प्रभावहरूलाई नियाल्ने प्रयास गरिएको छ ।

यो अवधिमा नेपाली समाजलाई हल्लाइदिने राजनीतिक घटना बाहेकका अरू घटनालाई हेरौं ।

१. २०४७ सालको राजनीतिक परिवर्तनपछि नै हो नेपालीले सहजै विदेश जान पाएको । पञ्चायती समयमा नेपालीलाई पासपोर्ट बनाउन सहज थिएन । पासपोर्ट नभएपछि भारतबाहेकका अन्य देश जाने कल्पना नै गर्न सकिंदैनथ्यो ।

२. आन्तरिक द्वन्द्व र वैदेशिक कमाइको कारण नेपालमा तीव्र बसाइँसराइ भयो । गाउँ पातलिंदै गए र शहरतिर बसाइँसराइ तीव्र गतिमा हुन पुग्यो । शहरको विस्तार व्यापक बन्यो ।

माथि उल्लेख भएका दुईवटा कारण बाहेक पनि अरू थुप्रै परिदृश्य सतहमा देखिन्छन् । तर यो लेखमा यी दुई घटनाले के कस्तो प्रभाव पार्‍यो भन्ने बारेमा केही चर्चा गरौं ।

२०४७ साल पूर्व सीमित नेपाली भारतबाहेक तेस्रो देशमा जाने गर्थे; विशेषगरी बेलायतमा गोर्खाली सैनिकका रूपमा । भारतमा सेनामा र अन्य काममा जाने गर्थे । भारतमा जानेहरू उतै बस्ने र नेपाल फर्कने दुवै थिए तर बेलायती सेनामा गएकाहरू अवकाशपछि नेपाल फर्कन्थे ।

२०४७ पछि श्रमिकको रूपमा विश्वका विभिन्न देशमा नेपाली जाने क्रम बढ्यो । मलेसिया, खाडी मुलुक, कोरिया लगायत मुलुकमा गएका नेपाली श्रमिक फर्किएर नेपाल नै आए; आउँदै, जाँदैछन् । पछिल्लो पटक युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानाडा, जापान, मध्यपूर्व जानेहरू निकै बढेका छन् ।

रोजगारीका लागि श्रम गर्न जाने, पढ्न जाने, घुम्न जाने, व्यापारको सिलसिलामा जाने, डीभी भरेर र परेर अमेरिका जाने, विकसित मुलुकमा अस्थायी र स्थायी बसोबासका लागि जाने, अवसरका लागि जाने संख्या बढ्दो छ ।

यस्तै सिक्न जाने, कमाउन जाने, नयाँ–नयाँ अवसरको लागि जाने, धेरै थरीको कामले वा बहानाले जाने नेपालीको सङ्ख्या पनि बढ्दो छ । नेपाल बाहिर नै स्थायी रूपमा बसोबास गर्नेहरूले एनआरएनको नाममा नेपालीको सञ्जाल बनाए । त्यसको प्रभाव पनि नेपालमा रहन गयो ।

यसरी नेपाली देश बाहिर जाँदा नेपाली समाजमा त्यसको कस्तो असर पर्‍यो ? विभिन्न कोणबाट यसको समीक्षा हुनुपर्छ । यो लेखमा त्यो सबै पूर्ण हुन सक्दैन तर केही विषयको चर्चा गरौं ।

नेपाली युवा श्रमिक भएर विदेश जानुको पहिलो कारण रोजगारीको खोजी र आर्थिक अवस्थाको सुधार हो । श्रमिकको रूपमा विदेश गएकाहरूको धेरै ठूलो सपना छैन । जहाँ भएपनि पसिना बगाएर काम गर्ने र त्यसको सट्टामा बस्न योग्य घर होस् भन्ने इच्छा छ ।

त्यस्तै परिवार पाल्न सक्ने अवस्था (खान–लाउन पुगोस्), ऋणबाट छुटकारा, छोराछोरीको उचित शिक्षा र उपचारमा सहज होस् भन्ने चाहना छ । यसका अतिरिक्त सुरक्षा सहितको सम्मानित नागरिक जीवनको आशा पनि छ । यी सबै जीवनका आधारभूत आवश्यकता हुन् । नागरिकका यति आवश्यकता पूरा गर्न सक्ने वातावरण राज्यले बनाउनुपर्छ । यी आवश्यकता सहजै पूरा नहुँदा नै युवा विदेशिएका हुन् ।

क. रेमिटको प्रभाव : श्रमिकले विदेशबाट पठाएको रेमिटले सम्बन्धित परिवारलाई सहज भयो नै त्यसका अतिरिक्त राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको आम्दानी हुँदा देशको अर्थतन्त्रमा सघाउ पुग्यो । विदेशी मुद्रा आर्जनका लागि एउटा बलियो आधार विदेशमा काम गरेका श्रमिकले पठाउने रेमिट बन्न पुग्यो । आम्दानी बढेसँगै देशमा उपभोग्य संस्कारको विकास भयो । उत्पादन बढेन तर आयात बढ्यो । सरकार भन्सार राजस्व बढेकोमा मख्ख पर्‍यो ।

ख. म्यानपावरको ठगी : श्रमिक विदेश पठाउने गरी सम्झौता भएका देशमा व्यवस्थित रूपमा युवालाई विदेश पठाउन भनेर देशमा थुप्रै म्यानपावर कम्पनीहरू खोलिए ।

यस्ता कम्पनीले गाउँगाउँमा एजेन्ट खटाए । सरकारले राम्ररी अनुगमन गर्न सकेन वा चाहेन । भ्रष्ट कर्मचारीतन्त्र र भ्रष्ट राजनीतिक नेतृत्वका कारण म्यानपावर कम्पनीको ठगी मौलायो र यस्ता ठगहरूले उत्मुक्ति पाए । यो सामाजिक विकृतिको रूपमा नै देखा परेको छ ।

ग. शहरको बसाइँ : गाउँमा माओवादी द्वन्द्व सुरु भएपछि धेरै युवा गाउँ छाडेर विदेश पलायन भए । धेरै परिवार सुरक्षाका लागि शहर पसे । विदेशको कमाइले शहरको बसाइलाई सहज बनायो ।

त्यति बेला शहर र शहर नजिकमा घडेरी जोड्न र साधारण घर बनाउन अलि सहज नै थियो, जग्गाको मूल्य अहिलेको जस्तो अचाक्ली बढेको थिएन । विशेषगरी सुरक्षाको चासो, स्कुलको सुविधा र उपचारमा सहज पहँुच प्रयोग गर्न गाउँबाट शहर एवम् शहर नजिक बसाइ सर्ने क्रम तीव्र बन्यो ।

घ. जग्गाको मूल्यमा वृद्धि र नयाँ वर्गको उदय : विभिन्न कारणले शहर आसपासमा बसाइँसराइ तीव्र भएपछि शहर नजिकका खेतीयोग्य जमिन मासेर प्लटिङ गर्ने काम तीव्र बन्यो । सडकको विस्तार भएका गाउँगाउँसम्म पनि प्लटिङ व्यवसाय फस्टायो । यसले अव्यवस्थित शहर, जमिनको तीव्र खण्डीकरण, कृषियोग्य जमिनको विनाश भयो ।

अव्यवस्थित प्लटिङ व्यवसायले जग्गा दलाली गर्ने भुइँफुट्टा व्यवसायी वर्गको उदय गरायो । बैंक तथा वित्तीय संस्थाको ठूलो लगानी यस्ता व्यवसायमा भयो । अवैध आर्जन भएको सम्पत्ति पनि घरजग्गामा लगानी गरेर वैध बनाउने काम भयो ।

यस्ता व्यवसायमा लागेर सजिलो कमाइमा बानी परेकाहरूको उत्ताउलो आम्दानी, राजनीतिक तथा सामाजिक लगानी र खर्चले सामाजिक एवम् राजनीतिक हैसियत अस्वाभाविक बढाउने गरेकाले मिहिनेत गरेर उद्यम व्यवसाय गर्नेहरू समाजमा ओझेल पर्न थाले । सामाजिक रूपमा उनीहरूले हीनताबोध गर्नुपर्ने अवस्था सिर्जना भयो ।

ङ. कृषि उत्पादनमा ह्रास : गाउँको श्रमशक्ति विदेश र शहरमा पलायन भएपछि गाउँमा खेतीयोग्य जमिन बाँझै हुन थाले । कृषि श्रमिकको अभाव र ज्यालामा भारी वृद्धि भयो । यस्तो जनशक्ति प्रयोग गरेर कृषि उत्पादन गर्न लगभग असम्भव हुँदै गयो । गाउँगाउँसम्म पुगेका बाटो र सवारी साधनले शहरबाट खाद्यान्न र उपभोग्य समान गाउँगाउँमा पुर्‍याउने काम भयो ।

गाउँमा उमेर ढल्केका मानिसको मात्रै बसाइ भयो । युवा कामको खोजीमा, किशोरकिशोरी अध्ययनका लागि शहरमा र तिनको रेखदेख गर्न भनेर परिवारका कतिपय सदस्य पनि शहर वा शहरको नजिकमा बसाइ सरे । यी र यस्तै कारणले गाउँमा श्रमशक्ति र प्रविधि नभएपछि कृषि उत्पादनमा ठूलो गिरावट भयो । गाउँमा चाहिने आवश्यक सामग्री बजारले उपलब्ध गराउन थाल्यो । गाउँको आत्मनिर्भर अर्थतन्त्र भताभुङ्ग भयो ।

च. उपभोगमा वृद्धि : शहरको बसाइ र विदेशको कमाइले उपभोगमा विस्तार भएको छ । खाद्यान्न, लत्ताकपडा, आवास, सवारी साधन, इन्धन, सञ्चार, मनोरञ्जन, शिक्षा, उपचार आदिमा उपभोगको संस्कारमा परिवर्तन आएको छ ।

स्वास्थ्यसेवा लिने बढेका छन् । स्कुल नजाने बालबालिका लगभग छैनन्, हातहातमा मोबाइल छ, घरघरमा टेलिभिजन छ । विद्युत्को पहुँच बढेसँगै विद्युतीय सामग्रीको खपत बढेको छ । खाना पकाउने ग्याँसको पहुँच गाउँगाउँसम्म पुगेको छ । यातायातका साधनको पहुँच बढेको छ । आफ्नै साधन नहुनेले पनि अटो, सिटी रिक्सा, ट्याक्सी, बस आदिको सुविधा लिने गरेका छन् । पहिला जस्तो हिंडेर पुग्ने र भारी बोकेर लैजाने चलन घटेको छ ।

छ. प्रविधिमा पहुँच : कुनै समय घरमा १४ इन्चको श्यामश्वेत टेलिभिजन र ल्यान्डलाइन टेलिफोन हुनुलाई पनि शान र गौरवको विषय मानिन्थ्यो । त्यो सम्पन्नताको पहिचान बन्ने गर्थ्यो । मोबाइल त कता हो कताको विलासिताको वस्तु मानिन्थ्यो । तर, आज प्रायः सबैको हातहातमा स्मार्ट फोन र इन्टरनेटको सुविधा छ ।

यो सुविधाबाट पाउने सूचना र मनोरञ्जनको उपयोग सबैले गरिरहेको अवस्था छ । परिवारका सदस्य विदेशमा वा शहरमा हुनेका लागि त झन् नभई नहुने साधन र सुविधा इन्टरनेट बन्न पुगेको छ । त्यसैले सबैको आवश्यक र सबैको पहुँचमा पुगेको छ यो सेवा ।

इन्टरनेटको सुविधा हातहातमा हुँदा मनोरञ्जन र भ्रमपूर्ण समाचारको बाढी नै आएको छ । यस्तो बाढीमा कुनै सत्य समाचार पनि छ कि भनेर खोज्नुपर्ने अवस्था छ । तर धेरै सर्वसाधारण मानिस यस्तै कुरालाई पत्याएर धारणा बनाउने गरेकाले समाज झुटा र भ्रमपूर्ण समाचारको शिकार बन्ने चुनौती बढेको छ । यस्तै इन्टरनेटको प्रयोग गरेर ठग्ने, झुक्याउने, भ्रममा पार्ने, लुट्ने जस्ता अपराधका घटना बढेका छन् । नेपालीको न्यून चेतनाका कारण ठगिनेहरू दिनानुदिन बढिरहेका छन् ।

ज. बजारको विस्तार : ग्रामीण जनसङ्ख्या धेरै र शहरको जनसङ्ख्या थोरै हुँदा बजारको विस्तार धेरै भएको थिएन । ग्रामीण अर्थतन्त्र धेरै हदसम्म आत्मनिर्भर अर्थतन्त्र हुन्छ । तर, अहिले गाउँको आवश्यकता पनि शहरले पूरा गर्नुपर्ने भएको छ । यसको अर्थ ग्रामीण अर्थतन्त्र पनि आत्मनिर्भरबाट विमुख हुँदै बजारमुखी भएको छ । गाउँको भान्सालाईं चाहिने सामान पनि बजारबाटै आउने हुनु भनेको बजारको विस्तार हो । गाउँगाउँसम्म बाटो र यातायातका साधनको पहुँचले गाउँलाई पनि बजारले आफ्ना उपभोक्ता बनायो । बजार त्यसको कब्जामा हुन्छ जसको बजारमा नेटवर्क छ ।

झ. विदेशी वस्तुका उपभोक्ता : नेपालमा आएको यो उपभोगको संस्कार र विस्तार भएको बजारमा नेपाली उत्पादनले स्थान पाउन मुश्किल परेको छ । यो सम्भावनालाई ध्यानमा राखेर स्वदेशी उत्पादन बढाउन सकेको भए देश आत्मनिर्भर अर्थतन्त्रमा अगाडि बढ्नेथियो ।

खाद्यान्न, तरकारी, फलफूल, दाल, तेल, मासु, माछा, डेरीजन्य वस्तु, कपडा, जुत्ता लगायत उपभोगका हजारौं हजार सामान देशमा नै पर्याप्त उत्पादन गर्न सकिन्छ । उत्पादन मात्रै गरेर हँुदैन यी वस्तुलाई बजारसँग जोड्नुपर्छ । जुन काम निकै सुस्त गतिमा भएकाले, अनेकन् अवरोधको सामना गर्नु परेकाले बजारमा विदेशी वस्तुको बाहुल्य छ ।

ञ. भाग्यलाई दोष दिनुको सट्टा नेतालाई गाली : नेपालीको पहुँच विदेशमा भएसँगै सोचमा व्यापक परिवर्तन भएको छ । पहिला मानिस आफ्नो दुरवस्थाको दोष आफ्नै भाग्यलाई दिने गर्थे । भाग्यवादमा विश्वास थियो । शासकले भाग्यवाद पढाउँथे । बाहिरको अवस्थाको पर्याप्त ज्ञान थिएन । तर अहिले विदेशको देखाइ, भोगाइ र प्रविधिको प्रयोगले आफ्नो दुरवस्थाको दोषमा केही हदसम्म नेताको दोष छ भन्ने जानकारी पाएका छन् । त्यसैले नेतालाई गाली गर्ने सामर्थ्य राख्न सक्ने भएका छन् । यो एक प्रकारको चेतनाको विकास हो । अब असल नेता छान्ने वा आफैं नेता बन्ने चेतना र पहलकदमीको आवश्यकता छ ।

ट. विदेश पढ्न जानेको ओइरो : प्लस टु पास गर्ने भनेकै विदेश पढ्न जानका लागि हो भन्ने भएको छ । पहुँच भएका र पहुँच राख्न सक्ने सबै विदेश जाने मनस्थितिमा छन् । यसले एकातिर नेपालको शिक्षा प्रणालीको विकृतिलाई उदाङ्गो पारेको छ भने अर्कोतिर देश र विदेशको तुलना गर्न सिकाएको छ ।

ठ. छोराछोरी भेट्न, नानी स्याहार्न र घुम्न जानेको सङ्ख्यामा वृद्धि : विदेश जाने युवाशक्ति बढेसँगै तिनको विदेश बसाइको आधार थपिंदै गयो र उनीहरूले परिवारका सदस्यलाई विभिन्न कारणले बोलाउने गरेकाले विदेशमा पुग्ने, बस्ने र घुमेर आउनेहरू बढेका छन् । यसले विदेशमा नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भयो । विदेश बुझ्ने, देख्नेहरू बढे । यसले पनि नेपाल र अरू मुलुकको तुलना गर्न सहज भयो ।

ड. युवा जनशक्तिको कमी : जन्ती, मलामीको कमी, आन्तरिक बजारमा उपभोग्य वस्तु र सेवाको खपतमा कमी, कामदार र दक्ष जनशक्तिको कमी जस्ता समस्या पनि हुने गरेका छन् ।

ढ. पारिवारिक विघटन : युवा उमेरका श्रीमान्–श्रीमती लामो समय अलग बस्नु पर्दा यसले ल्याउने सामाजिक समस्या र परिवारको विघटनको दरमा पनि उच्चदरको वृद्धि भएको छ ।

ण. शिक्षा र स्वास्थ्यमा बढ्दो निजी लगानी : शिक्षा र स्वास्थ्यमा सरकारी सेवा गुणस्तरीय नहुँदा विदेशको कमाइबाट आर्जन भएको ठूलै धनराशि निजीस्तरका स्वास्थ्य र शिक्षण संस्थामा खर्च भएको छ । निजी क्षेत्रमा यसको विस्तार निकै भयो ।

त. बैंक तथा वित्तीय संस्थाको व्यापकता : यो अवधिमा नेपालको वित्तीय बजार र जनताको पहुँच व्यापक बन्यो । गाउँगाउँमा बैंक तथा लघुवित्तका शाखा र सहकारीको स्थापनाले विदेशमा कमाएको पैसाको परिचालनले यस्ता संरचनालाई भरथेग गर्‍यो । यी र यस्ता अनेकन् परिघटना पछिल्लो ३०–३२ वर्षमा देखिएका छन् । यसको प्रभाव पनि राजनीति र समाजमा आउने परिवर्तनका कारण हुन् ।

लेखकको बारेमा
रामचन्द्र उप्रेती

उप्रेती सहकारी अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?