+
+
भ्वाइस अफ नेपाल सिजन ५ :

भ्वाइसलाई ‘पुनर्जन्म’ ठान्ने प्रशान्त

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १८:२१

काठमाडौं । प्रशान्त शिवाकोटीको ‘भ्वाइस अफ नेपाल’को सिजन ५ को यात्रा फिल्मको कथाभन्दा कम छैन । उनी यसलाई ‘पुनर्जन्म’ भन्न रुचाउँछन् । ‘ब्याटल राउण्ड’बाटै झण्डै बाहिरिसकेका उनलाई कोच प्रमोद खरेलले ‘स्टिल’मार्फत पुनर्जीवन दिएका थिए । जारी भ्वाइसको सिजनमा यो दृश्यलाई निकै मर्मस्पर्शी मानिन्छ ।

स्टेजमा आँसु खसालेका प्रशान्तले यसलाई आफ्नो ‘पुनर्जन्म’ भएको बताए । सुरुमा त उनले पत्याएनन् । अनि पत्याउन करै लाग्यो । उनै प्रशान्त हालैको एक चिसो दिउँसो धुम्बाराहीस्थित भ्वाइसको सेटमा ‘लाइभ राउण्ड’को तयारी गर्दै थिए । गफ गरिरँदा उनको अनुहारमा दबाबको आभा स्पष्ट देखिन्थ्यो । जसलाई उनले लुकाएनन् ।

‘म आफैलाई तिखार्दैछु । आफैलाई तिखार्नु भनेको जितको तयारी गर्नु हो’ उनी सुनिए, ‘अबको अधिकार दर्शकको हो । दर्शकलाई रुझाउन सक्नु ठूलो कुरा हो । दर्शकको माया पाउन आफूले पनि मनपर्ने प्रस्तुति दिन सक्नुपर्‍यो ।’

उनी आफैले भनेको ‘पुनर्जन्म’ शब्दतिर फर्किए । हारको अनुभव भैसकेको बताउँदै उनले अब पनि आउट हुँदा कुनै नौलो महसुस नहुने दावी गरे । ‘ब्याटलमा भनेजस्तै पुनर्जन्मकै सोच आइराख्या छ दिमागमा । नकआउटमा सरले सोध्दा पनि मैले भनेको थिएँ- अब डर छैन । पहिले एकपटक आउटको अनुभव भैसक्यो । फेरि आउट हुनुपर्दा कुनै नौलो कुरा हुँदैन किनभने त्यो महसुस भैसक्यो ।’

अब भने हारलाई वास्तवमै स्वीकार्न सक्ने क्षमताको विकास भएको उनले सुनाए । ‘त्यतिबेला म आउट हुन्छु भनेर तयारी थिइँन तर, एकपटक आउट भएर पुनःप्रवेश पाइसकेपछि फेरि आउट हुन डर लाग्दो रहनेछ । अब चाहिँ स्वीकार गर्न सक्छु । यहाँसम्म आइपुग्नु नै जित बराबर हो मेरो लागि । तरपनि आशा त जितकै हुन्छ ।’

२४ वर्षिय प्रशान्तलाई बुझ्न झापाको भद्रपुर पुग्नुपर्छ जहाँ उनी जन्मिए, हुर्किए । गायनमै करिअर बनाउने सोचसहित ६ वर्षअघि काठमाडौं खाल्डोमा आइपुगे । ‘यतिबेला एकदुई खुड्किलो अघि बढ्ने अवसर भ्वाइसले जुराइदिएको छ’ उनी भन्छन् । प्रशान्त ललितकला क्याम्पसमा संगीत पढ्दैछन् ।

अब ‘लाइभ राउण्ड’को तयारी के छ ? यो प्रश्न यतिबेला प्रशान्तका लागि निकै ‘दबाबपूर्ण’ सुनिन्छ । ‘साँच्चिकै भन्ने हो भने मेरो स्ट्राटेजी जिरो । मेरो स्ट्राटेजी भनेकै राम्रो पर्फमेन्स दिने हो । राम्रो प्रस्तुति दिएमा दर्शकले जिताउनुहुन्छ भन्ने आशामा बसेको छु’ उनले भने, ‘आफू एक्लैले जित्न सकिने कुरा होइन यो, सबै नेपालीको साथ भएपछि जित्न सकिने हो । विगतमा कतिले मन नपराएपनि, धेरै नोटिसेबल हुन नसकेको भएपनि अब राम्रो हुन सकूँ । त्यो अनुसार आफूले मिहेनत गर्दैछु ।’

प्रशान्तको लागि ‘भ्वाइस अफ नेपाल’को यो प्रयास दोस्रो हो । यसअघि तेस्रो सिजन चारमा अडिसनमा उनी छनोट भएनन् । सिजन चारलाई ग्यापमा राखेर उनले पुनः प्रयास गरे । अन्ततः उतारचढाव व्योहर्दै ‘लाइभ राउण्ड’सम्म आइपुगे । ‘सुरुदेखि नै भ्वाइसमा आउने रहर हो । सिजन चारलाई ग्यापमा राखेर आफूलाई एकवर्ष तिखार्छु भन्ने लाग्यो । यसपाली यहाँसम्म आएँ । यो मेरा लागि जितभन्दा ठूलो कुरा हो’ उनी सुनिए ।

उनी मेलोडी गाउँछन् । फिल्मी गीत उनको मनपर्ने जनरा हो । क्लासिकल गीत सुन्न मन पराउछन् । नारायणगोपाल र गोपाल योञ्जनदेखि पछिल्ला छिमलका गायकको गीत सुन्छन् । भारतीय गायक सोनू निगमका फ्यान हुन् ।

भ्वाइसजस्ता प्लाटफर्मले आफूजस्ता नयाँ संगीतकर्मीलाई मद्दत मिलेको बुझाइ उनको छ । ‘व्यक्तिगत हिसाबमा गीत गाएर वा एल्बम निकालेर गर्छु भन्दा वर्षौं लाग्छ । त्यहीपनि सीमित मान्छे भन्दा धेरैलाई सुनाउन सकिँदैन । रियालिटी शो भनेको यस्तो प्लाटफर्म हो, जहाँ एउटा पर्फमेन्स रुचाइयो करोडौं माझ पुगिन्छ । गीत पाउँ, प्रोग्राम पाऊँ र सबैको मनमा बस्न सकौं भन्ने नै हुन्छ । रियालिटी शोले यो कुरामा धेरै हेल्प गरेको छ’ उनले भने ।

उनलाई लाग्छ, हार वा जित प्रतिस्पर्धाको स्वभाविक हिस्सा हो । ‘जस्तो परिणाम भएपनि, आशिर्वाद स्वरुप लिएर करिअरलाई अझै अघि बढाउने सोचिराख्या छु’ भन्छन्, ‘भ्वाइसबाट निस्किएपछि मेरो संगीत यात्रा बल्ल सुरु हुन्छ ।’

‘भ्वाइस अफ नेपाल’को सिजन ५ को लाइभ राउण्ड आगामी सातादेखि सुरु हुँदैछ । उक्त राउण्डमा छनोट भएका प्रतिस्पर्धीसँगको कुराकानीलाई प्रस्तुत जाँदै जानेछौं ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?