+
+

रक पछ्याउँदै दार्जिलिङदेखि ‘भ्वाइस’मा आइपुगेकी ट्रिजा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १७:४६

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को जारी सिजनमा यतिबेला दुई ट्रेन्ड स्पष्ट देखिएका छन् । पहिलो– गायनमा महिला सहभागिता उत्साहजनक देखिन्छ र दोस्रो– रक जनराको प्रभावशाली उपस्थिति ।

यिनै विशेषतालाई समेट्दै दार्जिलिङकी ट्रिजा प्रधान भ्वाइसमा गुञ्जिरहेकी छन् । कोच मिलन नेवारको समूहबाट उनले ब्लाइण्ड अडिसन, ब्याटल र नकआउट राउण्डमा दमदार प्रस्तुति दिइन् । अब उनलाई लाइभ राउण्डको खुड्किलो पार गर्नुछ ।

‘तयारी राम्रोसँग गरेकी छु । भोटिङको पनि प्रेसर र गीतको पनि प्रेसर । जतिसक्दो बेस्ट दिन्छु भनेर सोचेकी छु । हेरौं पब्लिकले कति सपोर्ट गर्नुहुन्छ,’ लाइभ राउण्डको तयारीबारे अनलाइनखबरसँग उनले भनिन्, ‘यसअघि पनि प्रतिस्पर्धी कडा थिए । सकेसम्म आफूले राम्रो प्रस्तुति दिनु राम्रो तयारी हो भन्ने लाग्छ ।’

ट्रिजाका लागि भ्वाइसको जारी सिजन दोस्रो प्रयास हो । यसअघि सिजन २ मा उनको प्रयास सफल रहेन । खासमा उनी निकट एक दिदी भ्वाइसमा प्रतिस्पर्धी थिइन् । तिनै दिदीको पदचाप पछ्याउँदै ट्रिजाले पनि भ्वाइसको यात्रा तय गरिन् ।

‘भाग्यमानी भनौं, म सिजन ५ मा जोडिएँ,’ उनी भन्छिन् ।

भ्वाइसको सहभागिताले आफ्नो सांगीतिक विकासमा मद्दत पुगेको अनुभव उनको छ । ‘जजहरुले मेरो शब्द क्लियर आउँदैन भन्नुहुन्थ्यो सुरुमा । तर अहिले क्लियर आउन थालेको छ । भ्वाइसमा धेरै कुरा सिकें । पहिला यत्तिको सिकेकी थिइनँ,’ उनले लाइभ राउण्डसम्म आफूमा आएको विकासबारे कुरा गरिन् ।

रक नै किन ? रकप्रतिको उनको अभिरुचि रातारात विकास भएको होइन । यसका लागि उनको बाल्यकालमा पुग्नुपर्छ । कक्षा ८ देखि नै उनले गीत गाउँथिन् । दार्जिलिङमा उनको ब्यान्ड थियो ‘डोरेमी’ । अहिले पनि ब्यान्डकी सदस्य हुन् । केही साताअघि दार्जिलिङमै उनले एकल प्रस्तुति दिइन् ।

‘दार्जिलिङ नागरीको मोडल इङ्लिस स्कुलमा ८ कक्षा पढ्दा टिचरले प्रेरणा दिनुभयो । त्यसपछि गाउँदै गएँ । धेरै ठाउँमा शो पनि गर्थें । पछि ब्याण्डसँग जोडिएँ,’ ट्रिजा भन्छिन्, ‘त्यतिबेलादेखि नै रक गायनप्रति रुचि थियो ।’

उनी रक गीतमार्फत आफ्ना भावना अभिव्यक्त गर्न सजिलो हुने बताउँछिन् । ‘मलाई अन्य जनराभन्दा रकमा कम्फर्ट महसुस हुन्छ,’ उनले भनिन्, ‘किनभने रक पनि मेरो टोनसँग मिल्छ भन्नुहुन्छ धेरैजना । रक गाउँदा फिलिङ्स पनि आउँछ ।’

नेपालीमा सविन राईलाई पछ्याउँछिन् उनी । हिन्दीमा सुनिधि चौहान फेवरेट हुन् । भ्वाइसपछिको सांगीतिक यात्रालाई काठमाडौंबाट निरन्तरता दिने उनको योजना छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?