+
+

‘बोक्सीको घर’को दोस्रो भाग बन्ने, केकी भन्छिन्- सपनाजस्तै लागिरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते १३:५६

काठमाडौं । फिल्म ‘बोक्सीको घर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माताले चाँडै दर्शकले नयाँ सिक्वेल हेर्न पाउने बताए ।

दुई दिनअघि नै हलमा चलिरहेको फिल्ममा ‘टु बि कन्टिन्युड’ (निरन्तर रहनेछ) वाक्यांश राखिएको निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले बताइन् । ‘चाँडै नयाँ फिल्म ल्याउने स्रोत र साहस मिलेको छ,’ फिल्मबारे जानकारी दिन आयोजित प्रेसमिटमा उनले भनिन् ।

निर्देशक सुलक्षण भारतीले दोस्रो श्रृंखलाको स्क्रिप्ट लेखन सकिएको बताए । ‘स्क्रिप्ट लेखन सकिइसकेको छ,’ भारतीले भने, ‘बीचमा एउटा फिल्म गरेर मात्र बोक्सीको घर बनाउँछु ।’ उनले अर्को फिल्मको स्क्रिप्टको काम सकेर मात्र सिक्वेलको काम अघि बढाउने बताए ।

रिलिज हुँदा ‘कथा निरन्तर हुनेछ’ लेखिएको थिएन । तर निर्माताले केही दिनअघि मात्र थपेर हलमा पठाएका हुन् । यसको अर्थ, सिक्वेल बन्नेछ भनेर दर्शकलाई जानकारी दिइएको हो । प्रेसमिटमा निर्देशक भारतीले दोस्रो श्रृंखलाबारे अहिलेलाई केही नखुलाउने बताए ।

सपनाजस्तो लागिरहेको छ’

अभिनेत्री तथा निर्मात्री अधिकारीले ‘बोक्सीको घर’ सुपरहिट हुँदा आफूलाई सपनाजस्तो लागिरहेको बताएकी छन् । उनले भनिन्, ‘साँच्चै भन्नुहुन्छ भने मलाई सररियल महसुस भइरहेको छ । मलाई हो कि होइन जस्तो लागिरहेको छ ।’

उनले कथावस्तु बलियो हुनुपर्छ भन्ने पाठ यो फिल्मबाट सिकेको बताइन् । ‘हुन त म सहायक निर्मात्री रहेको कोहलपुर एक्सप्रेसबाट यो पाठ सिकेको हुँ । अहिले आएर यो पुष्टि भएको छ कि कथा बलियो हुनुपर्छ,’ केकीले प्रेसमिटमा भनिन् ।

उनले यो फिल्म हिट हुँदा ऊर्जावान महसुस गरेको बताइन् । यस्तो फिल्म चल्दा नयाँ र प्रयोगात्मक फिल्म बनाउने मेकरलाई ऊर्जा मिलेको समेत उनले बताइन् ।

‘बोक्सीको घर’ केकीको करिअरकै उत्कृष्ट कमाइ गर्ने फिल्म हो । यो फिल्म उनको एकल लगानीको पहिलो फिल्म समेत हो । केकी अधिकारी फिल्म्सको ब्यानरमा यसको निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?